• ३ वैशाख २०८३, बिहिवार
  • २६ °C काठमाडौं
कृषिमा आत्मनिर्भर बनाउन सहकारीको उत्पादनमुखी योजना

विन्दु चौधरी, २० पुष, बाँसगढी (बर्दिया) । हाम्रो एकीकृत कृषि सहकारी संस्था लिमिटेडले कृषिमा आत्मनिर्भर बनाउन उत्पादनमुखी योजनालाई अगाडि बढाएको छ । सहकारीले खेतीयोग्य जमिनको अधिकतम उपयोगगर्दै च्याउ, धान, मकै, आलु लगायतका बालीनाली उत्पादनमा प्रगतिगर्दै स्थानीय किसानलाई आर्थिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको सहकारीका अध्यक्ष गोविन्द प्रसाद उपाध्यायले बताउनुभयो । 

बाँसगढी नगरपालिका वडन नम्बर ५ मा रहेको हाम्रो एकीकृत कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा कार्यक्रममा संस्थाका अध्यक्ष उपाध्यायले सहकारीले २ विगाहा जमिन लिजमा लिएर विभिन्न बाली उत्पादनगर्दै आएको प्रगति प्रतिवेदन मार्फत प्रस्तुत गर्नुभयो । यस वर्ष सहकारीले धान, वीउ आलु मकै तथा गाईवस्तुका लागि आवश्यक दाना उत्पादन गर्न सफल भएको छ । विशेषगरी, मकै उत्पादनलाई पशुपालनसँग जोडेर गाईवस्तुको चारा र साइलेस दाना उत्पादनको कार्य पनि सहकारीले अघि सारेको छ । 

त्यसैगरी च्याउ उत्पादनलाई व्यवसायीकरण गर्दै हाल सहकारीसँग करिब १ सय ५० च्याउ उत्पादक किसानहरू आबद्ध छन् । च्याउ खेतीलाई थप व्यवसायिक बनाउन “व्यावसायिक च्याउ उत्पादक समिति“ गठन गरी बाँसगढी नगरपालिकाका नौ वटै वडाका किसानहरूलाई समेट्ने प्रयास भइरहेको छ । २०७७ साल चैत २५ गते स्थापना भएको हाम्रो एकीकृत सहकारीमा ७ सय शेयर सदस्य छन् । सहकारीका कोषाध्यक्ष कृष्ण श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले सहकारीको शेयर पुँजी गत वर्ष २७ लाख रहेकोमा यस वर्ष बृद्धि भई २९ लाख पुगेको बताउनुभयो । 

त्यस्तै जगेडा कोषमा ३७ हजार ५ सय ८४ रुपैयाँ रहेकोमा यो वर्ष थप वृद्धि भएको छ । सहकारीले चुक्ता पुँजी १ करोड ४ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । सहकारीले यस वर्ष ६ लाख ८५ हजार ७८८ रुपैया खर्च गरेको छ, भने एक लाख ६४ हजार २४९ रुपैया कुुल नाफा गर्न सफल भएको संस्थाका ब्यवस्थापक कृतिका चौलागाईले जानकारी दिनुभयो । यसैगरी संहकारी संस्थाले उत्कृष्ट शेयर सदस्य, च्याउ खेती गर्ने किसानलाई सम्मान गरेको छ । 

संस्थाका अध्यक्ष गोविन्द उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिका वार्ड नं ५ का वडाअध्यक्ष दहवा थारु, बाँसगढी उद्योग बाणिज्य संंघका अध्यक्ष बद्रिनाथ बराल, जनभावना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शेरबहादुर सुनार लगायत शेयर सदस्यहरुको सहभागीता थियो । संस्थाका सचिव कृष्ण अधिकारीले संचालन गर्नुभएको कार्यक्रमको स्वागत सदस्य राजन थारुले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments