पर्यटक भित्र्याउन 'घुम्न जाउँ बर्दिया' अभियान शुरु
चुरेकुञ्ज, ५ पुष, बर्दिया । लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तब्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाँउ बर्दिया अभियान शुभारम्भ गरेको छ । स्थानीय सरकार ठाकुरबाबा नगरपालिका संग सहकार्यगर्दै विहिवारदेखि प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान शुरु गरेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औपचारिक कार्यक्रमका विच अभियानको शुभारम्भ गर्नु भएको हो । प्रदेश सरकारको चालु आर्थिक बर्ष ०८१/०८२ को स्वीकृत बार्षिक नीति तथा कार्यक्रम अन्तरगत घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरिएको हो । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई समृद्धिको आधारको रुपमा लिएको छ । जस अन्तरगत आन्तरिक र बाह्य पर्यटकलाई आकर्षीत गर्न बर्दिया जिल्लालाई लक्षित गरेर अभियान चलाइएको बताईएको छ । अभियानको शुभारम्भ गर्दै मुख्यन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासको लागि ध्यान दिएको र त्यसको सुरुवात बर्दियाबाट गरिएको बताउनु भयो । ‘बर्दिया जिल्लाको ऐतिहाँसिक स्थल र यहाँ रहेको राष्ट्रिय निकुञ्ज भ्रमणको गन्तब्य स्थल हो’ उहाँले भन्नुभयो, ‘लुम्बिनी प्रदेश बासीलाई एक पटक बर्दिया पुग्नेगरी, भ्रमण गर्नेगरी हार्दिक आमन्त्रण गर्दै भ्रमण गर्न आह्वान गर्दछु ।’
प्रदेश सरकारले कर्मचारीहरुलाई आन्तरिक पर्यटकीय क्षेत्रको भ्रमणको लागि दश दिनको समय उपलब्ध गराउने गरेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले कर्मचारीलाई पनि बर्दिया जिल्लाको भ्रमणकालागि आह्वान गर्नु भयो । ‘संघ, संस्था, विद्यालय, सहकारी संस्था लगायत सबै निकायहरुमा रहनु भएकाहरुले एक पटक बर्दिया भ्रमणकालागि समय निकाल्न अनुरोध र आह्वान गर्दछु’ उहाँले भन्नुभयो, ‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको अभियान पर्यटनबाट सम्भव छ । त्यही भएर सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ ।’ बर्दिया जिल्लाको समस्या बर्दियाको मात्रै नभएर सिंगो प्रदेशको समस्या भएकाले प्रदेश सरकारले समाधानकालागि ध्यान दिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गर्नुभयो । समस्याको बर्गिकरण गरेर तीन तहका सरकारले साझा रुपमा सम्वोधन गर्नेगरी पहल शुरु भएको उहाँको भनाई छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज सँग जिल्ला कै पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाउँ बर्दिया कार्यक्रम आयोजना गरिएको छ । देशका विभिन्न राष्ट्रिय निकुञ्ज भन्दा फरक जैविक विविधता बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको, एकै दिनमा बाघ, गैँडा र जंगली हात्तीको बथानका साथै चित्तल जरायो बाह्रसिङ्गा विभिन्न प्रकारका चराचुरुङ्गी देख्न पाइन्छ । उद्घाटन कार्यक्रममा लुम्बिनी सहित ७ वटै मन्त्रालयका पर्यटन मन्त्रीहरु, पालिका प्रमुख, राजनीतिक दल, संरक्षणकर्मी, पर्यटन व्यवसायी, सामाजिक तथा शैक्षिक संघ संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता थियो । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा अभियानको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
३० °C काठमाडौं
Facebook Comments