बाँसगढीमा नसर्ने रोगको उपचार अभियान गरिने
चुरेकुञ्ज, १ पुष, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिकामा मधुमेह, उच्च रक्तचाप तथा मृगौला सम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै समयमै पहिचान र उपचार अभियान सञ्चालन गरिने भएको छ । लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य कार्यालय बर्दियाले बाँसगढीमा आयोजना गरेको चालीस वर्षभन्दा माथिको लागि नसर्ने रोग (मधुमेह, उच्च रक्तचाप र मृगौला) सम्बन्धी स्क्रिनिङ कार्यक्रमको अभिमुखिकरण मार्फत उक्त अभियान सञ्चालन गर्ने भएको हो ।
बर्दिया जिल्लाको तथ्यांक अनुसार जिल्लामा नसर्नेरोग मध्ये ५६ प्रतिशत रोगी उच्च रक्तचापका विरामी रहेको देखाएको छ । त्यस्तै मधुमेहका १८ दशमलव ६७ प्रतिशत र मृगौराका रोगीहरु ७ दशमलव २९ प्रतिशत विरामी रहेको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत सन्देश पौडेलले जानकारी गराउनुभयो । उहाँले नसर्ने रोगहरु तीव्र रुपमा बढ्दै गएको भन्दै नसर्ने रोगमध्ये सबैभन्दा बढि बाँसगढी नगरपालिकामा उच्च रक्तचापको विरामी ६१ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँका अनुसार बाँसगढी नगरपालिकामा मधुमेहका विरामी १९ दशमलव ५० प्रतिशत र मृगौराका रोगीहरु १२ दशमलव ९२ प्रतिशत विरामी छन् ।
अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख सुनिता पौडेलले नसर्ने रोगहरुको बढ्दो फैलावट रोक्न मधुमेह, उच्च रक्तचाप वा मृगौला सम्बन्धी स्क्रिनिङ गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले चालीस वर्षभन्दा माथिका ब्यक्तिहरुको लागि नसर्ने रोगको उपचार र निदानसँगै लाग्नै नदिन रोकथामका उपायहरु जनस्तरमा पुर्याउन स्क्रिनिङ् कार्यक्रमको आयोजना गरेको बताउनुभयो । सोही अनुरुप जिल्लाको बाँसगढी नगरपालिकामा नसर्ने रोगहरु (मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग, शरिरको उचाइ र तौलको अनुपात पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गर्ने स्वीकृत गरेको छ ।
कार्यक्रमा बाँसगढी नगरउपप्रमुख इन्द्रिरा चौधरीले अहिले मृगौलासम्बन्धी रोगबाट पीडित भएर डायलासिस हुने बिरामीको संख्या बढिरहेको बताउँदै नगरभित्रका ६ जना मृगौलाका विरामीले निःशुल्क डायलासिसको सिफारिस लगेको बताउनुभयो । कार्यक्रममा बाँसगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामेश्वर खनालले खानपान तथा जीवनशैलीका कारण उच्च रक्तचाप तथा मधुमेहका बिरामी समेत बढिरहँदा स्वास्थ्य उपचार प्रणाली र बिरामी दुवैले मार खेप्नु परिरहेको बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडाले पछिल्लो समय नसर्ने प्रकृतिका मृगौला फेल हुने, उच्च रक्तचाप, मधुमेह लगायतका रोग प्रमुख स्वास्थ्य समस्याका रुपमा देखाएको छ । मधुमेह, उच्च रक्तचाप तथा मृगौला सम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यले यसको पहिचान र उपचार अभियान सञ्चालन गर्ने स्वास्थ्य शाखाका महेश थारुले बताउनुभयो । नगर उपप्रमुख इन्द्रिरा चौधरीको अध्यक्षताम भएको अभिमुुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दिया प्रमुख सुनिता पौडेल, वडाअध्यक्ष, उद्योग बाणिज्य संघ, स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयसेविका लगाएतको उपस्थिती रहेको थियो ।
२२ °C काठमाडौं
Facebook Comments