• १ माघ २०८१, मङ्गलवार
  • १३ °C काठमाडौं
बारबर्दियाको जयनगरमा राष्ट्रिय स्तरको सप्ताह ज्ञान महायज्ञ हुँदै  

विष्णु अधिकारी, १९ मंसिर, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका स्थित जयनगरमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर कोठारपुरको प्राङ्गणमा मंसिर २४ गतेदेखि राष्ट्रिय स्तरको धार्मिक सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ शुरु हुने भएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको आयोजनामा श्रीकृष्ण प्रणामी धर्म जागनी शताब्दी एवम् रजत जयन्ती ज्ञान महायज्ञ २०८१ को उपलक्ष्यमा आयोजित श्रीमत्तारतम सागर ब्रह्मवाणी १२५ पाठपारायण तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ हुने मूल समारोह समितिका संयोजक कृष्ण प्रसाद सापकोटाले जानकारी दिनु भएको छ । 

सोमबारबाट संचालन हुने यज्ञमा ५० हजार श्रद्धालु भक्तहरुको सहभागीता रहने जनाईएको छ । ५ हजार भक्तालुहरुलाई दैनिक भोजनको व्यवस्था तथा २ हजार पाहुनालाई बसोबासका लागि आवासको व्यवस्था समेत गरिएको समितिले पत्रकार भेटघाट मार्फत जानकारी दिएका छन् । राष्ट्रिय स्तरको धार्मिक महायज्ञको दर्शनका लागि मंसिर २५ गते पूर्व राजा ज्ञानेन्द्र शाहको स–परिवारको आगमन हुने मुल आयोजक समारोह समितिका निर्देशक श्याम के.सीले पत्रकार भेटघाट कार्यक्रममा बताउनु भएको छ । बर्दिया जिल्लामा हिन्दु सनातन श्रीकृष्ण प्रणामी धर्मको उदय भएको एक शताब्दी तथा कोठारपुरको श्रीकृष्ण मन्दिर स्थापना भएको २५ बर्ष पुरा भएको उपलक्ष्यमा हुन लागेको महायज्ञमा धर्मप्रेमी सबै जनसमुदायलाई ऐतिहासिक धार्मिक कार्यक्रममा उपस्थितीका लागि आयोजक समितिले सादर निमन्त्रणा गरेको छ । 
महायज्ञमा श्री ५ नवतनपुरीधाम, मंगलपुरीधाम, पदमावती धामका श्रीकृष्ण प्रणामी धर्माचार्य श्री विभूषित जगदगुरुहरुको शुभ आशीर्वचन रहने र विभिन्न धर्मपिठबाट आमन्त्रित श्री १०८ महाराजजी एवम् गादीपति ज्यूहरुद्वारा धार्मिक प्रवचनको कार्यक्रम रहेको आयोजक समितिले जानकारी दिएको छ । आध्यात्मिक केन्द्रीय प्रवक्ता पं. श्री कृष्णप्रसाद सापकोटाद्वारा श्रीमत्तारतम सागर ब्रह्मवाणी ज्ञान चर्चा एवम् भारत विन्द्रावनका स्वामी श्री मदनमोहन अलङ्गकारजीका मुखारविन्दबाट संङ्गीतमय श्रीमद्भागवत कथा हुनेछ । आयोजक समितिका वाईजुराज इकाइ अध्यक्ष भिमादेवि चौधरीले राष्ट्रिय स्तरको भागवत कार्यक्रमा आउने पाहुनाहरुका लागि आवास तथा भोजनको तयारी पुरा भैसकेको जानकारी दिनु भएको छ । 

श्रीकृष्ण प्रणामी सेवा समितिले बारबर्दियाका २ वटा विद्यालयका सम्पुर्ण विद्यार्थीहरुका लागि न्यानो कपडा र तराईका जिल्लाहरुमा शितलहर चल्ने भएकाले न्यून आय भएका ब्यक्तिहरुलाई ५ सय ब्ल्याङकेट प्रदान गर्ने कार्यक्रम रहेको ज्ञानमहायज्ञ मुल समारोह समिति बर्दियाले जानकारी दिएको छ । मानवीय सेवामा समर्पित श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले अस्पताल, विद्यालय तथा वृद्धाश्रम निर्माणगर्दै धार्मिक प्रचार प्रसारको माध्यमबाट कुलतबाट युवाहरुलाई बचाउन धार्मिक अभियानहरु पनि संचालन गरिरहेको छ । मानवीय सेवा नै धर्म हो भन्ने मुलमर्मका साथ जनजनलाई जोड्ने कार्यगर्दै सामाजिक उत्थानको मुल कर्म सहित अघि बढेको धार्मिक संस्थाले समाजमा अहिंसा, प्रेम, समता र सेवाभावबाट प्रत्येक व्यक्तिलाई आध्यात्मिक बनाउने लक्ष्य लिएको बताईएको छ । 

सम्बन्धित समाचार

Facebook Comments