• १० वैशाख २०८३, बिहिवार
  • १७ °C काठमाडौं
स्थानिय रोजगार रणनिति निर्माणार्थ बाँसगढीमा युवा सम्मेलन 

विन्दु चौधरी, ७ कार्तिक, बाँसगढी (बर्दिया) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँसगढी नगरपालिका युवाहरुलाई उद्यमशिलतासंग जोड्न प्रदेशमै ऐतिहासिक नयाँ कामको थालनी गरेको बताउनु भएको छ । बाँसगढी नगरपालिकाले आयोजना गरेको प्रथम युवा सम्मेलनलाई सम्बोधन गर्नुहुदै मुख्यमन्त्री आचार्यले सो कुरा बताउनु भएको हो । 

मुख्यमन्त्री आचार्यले युवाहरूको सशक्तीकरण र उनीहरूको लागि रोजगार तथा सीप विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले युवा पलायनलाई रोक्नका लागि स्थानीय सरकारले ठोस कदम चाल्नुपर्ने र युवा लक्षित कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । त्यसको लािग प्रदेश सरकारले समेत लागिपरेको र योजनाहरूलाई आवश्यकताका आधारमा छनोट गरेर अघि बढाइने पनि बताउनुभयो । नगरपालिकाको आयोजनामा बाँसगढी बहुमुखि क्याम्पसमा भएको सम्मेलनको विभिन्न शत्रमा स्थानीय रोजगार रणनीति निर्माण गर्न विषयमा छलफल गरिएको हो । 

कार्यक्रममा बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्काले युवाको विकासका क्षेत्रमा लगानी गर्दै आगामी वर्ष युवा लक्षित विभिन्न कार्यक्रम गरी युवामैत्री पालिका बनाउनेतर्फ अघि बढ्ने बताउनुभयो । कार्यक्रममा बाँसगढी नगरपालिका प्रशासन शाखाका अधिकृतले कार्यपत्र प्रस्तुत भयो । उहाँले कार्यपत्र प्रस्तुतगर्दै बाँसगढी नगरपालिकामा जम्मा रहेको जनसख्यामध्ये ४६ दशमलव १ प्रतिशत युवा रहेको बताउनुभयो । तीमध्ये ७५ प्रतिशत युवा आर्थिक रुपमा संलग्न रहेको र २४ दशमलव ३ प्रतिशत नरहेको बताउनुभयो । म बनाउछु मेरो पालिका भन्ने नाराका साथ आयोजना भएको सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरू, उद्यमीहरू र नीति निर्माता सहभागी थिए । 

रोजगारका अवसरहरू पहिचान गर्न आवश्यक सीप प्रदान गर्न, र युवाहरूलाई व्यवसायिक सोच र उद्यमशीलता विकास गर्न उत्प्रेरितगर्दै फरक फरक १५ वटा शिर्षकमा ग्रुप छलफल गरिएको छ । शिक्षा र सीप विकास, युवाहरुको सामुहिकता, एकता र उपयोगिता, युवा स्वास्थ्य र मानसिक स्वास्थ्य सेवा, पर्यावरण संरक्षण र दीगो विकासमा युवाको भूमिका, सूचना प्रविधि र सामाजिक संजालमा युवा संलग्नता, युवा निति र युवामैत्री स्थानिय शासन, संस्कृति कला, पर्यटन र खेलकुद, नवप्रवर्तन र स्टार्ट अप, उद्योग बाणिज्य र ब्यापारमा युवाको भुमिका बारे ग्रुप छलफल गरि निष्कर्ष निकालिएको छ । 

त्यसैगरी कृषि पशु विकास क्षेत्र र उद्यमशिलता प्रवद्र्धन, सामाजिक जीवनमा युवाको भूमिका, फोहरमैला ब्यवस्थापन र सचेतना विकास, सुशासनः युवाको चाहना र सहभागिता, भौतिक पूर्वाधार विकास र युवाको भूमिका र महिला, बालबालिका तथा समाज कल्याणमा युवाको भूमिका भन्ने शिर्षकमा बृह्रत छलफल गरी योजना बनाएर नगर प्रमुख खड्कालाई हस्तान्तरण गरिएको छ । प्रथम युवा सम्मेलनका सभाअध्यक्ष नगर प्रमुख खड्क बहादुर खड्का, प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश सांसदद्धय भुवनेश्वर थारु र जन्मजय नितिल्सिना, बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि, लगाएत ५ सय बढि युवाहरुको सहभागिता रहेको छ । कार्यक्रमको स्वागत बाँसगढी नगर उपप्रमुख इन्द्रिरा चौधरीले गर्नुभएको थियो भने संचालन सुचना अधिकारी क्षितिज पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments