• १० वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
बाँसगढी न्यायिक समितिमा लेनदेन र मजदुरीकै उजुरी

विन्दु चौधरी, २५ भदौ, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिकाको न्यायिक समितिले गत आर्थिक वर्ष २०८०/८१ मा २८ मुद्दा फछ्र्यौट गरेको छ । बाँसगढी नगरपालिकाका उपप्रमुख इन्द्रिरा चौधरीको संयोजकत्वमा गठित समितिले गत वर्ष नयाँ दर्ता भएका ३७ वटा मुद्दा र अघिल्लो आर्थिक वर्षको सरेर आएको ५ वटा गरी कुल ४२ वटा मुद्दा मध्ये २८ वटा मुद्दा टुङ्गो लगाएको हो । 

दर्ता भएका मध्ये ६ वटा मुद्दा सम्र्पकमा नै नआएको र ८ वटा प्रकृयामा रहेको बाँसगढी नगरपालिका सामुदायिक मेलमिलाप संयोजक गोपाल वलीले जानकारी दिनुभयो । न्यायिक समितीमा सबैभन्दा बढि उजुरी लेनदेन र ज्याला मजदुरी सम्बन्धी हुने गरेका छन् । बाँसगढी नगरपालिकाको न्यायिक समितीमा १३ वटा उजुरी लेनेदन र ज्याला मजदुरी सम्बन्धी १२ वटा, जग्गा साँध सिमाना ५ वटा, पतिपत्नी झगडा, ६ वटा सार्वजनिक कुलो मिचेको र घर भत्काई जग्गा खाली गराई पाँउ भनि ३ वटा उजुरी परेको न्यायिक समितीका संयोजक तथा बाँसगढी नगरपालिकाका उपप्रमुख इन्द्रिरा चौधरीले जानकारी दिनुभएको छ । 

उहाँले समितिमा परेका उजुरीमध्ये धेरैजसो लेनदेन र ज्याला मजदुरी सम्बन्धी जग्गा तथा साँध–सिमाना र पति–पत्नीबीचको झगडा रहेको बताउनुभयो । अधिकार क्षेत्रभन्दा बाहिरका विवादहरु अदालतमा पठाउने गरेको संयोजक चौधरीले बताउनु भयो । स्थानीय तहका मुद्दा स्थानीय निकायमा मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ । उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिलाई माना चामल, सम्बन्ध बिच्छेद, जग्गा विवाद, घरभाडा, गाईभैंसीले बालीनाली नोक्सानी लगायतका विवाद समाधान गर्ने अधिकार छ ।

सम्बन्धित समाचार

Facebook Comments