बर्दियामा लागुऔषध बिरुद्ध अभियान चालिने
विष्णु अधिकारी, १४ भदौ, बर्दिया । लागु पदार्थ सेवनले परिवार तथा समाजलाई विकृत तुल्याउन थालेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले ३ महिने अभियान संचालन गर्नका लागि कार्ययोजना लागु गर्ने विषयमा सरोकारवालाहरु विच छलफल भएको छ । बर्दिया जिल्लामा लागु पदार्थ सेवन कर्ता बढीरहेको अवस्थामा स्थानीय सरकारले आफ्नो निति तथा कार्यक्रममा यो विषयलाई महत्वका साथ उठान गर्न ढिलो गर्न नहुने जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भएको छ ।
लागु पदार्थ नियन्त्रण कार्ययोजना लागु गर्नका लागि विभिन्न सरोकारवालाहरुका विच छलफल गरेर परिणाम दिने गरि कार्ययोजना लागु गर्ने उहाँले जानकारी दिनुभयो । बर्दिया जिल्लाका सिमासँग नजिक रहेका ४ वटा पालिका लागु पदार्थको उच्च जोखिमको रुपमा पहिचान भएको र अन्य पालिकाहरु पनि लागुपदार्थको जोखिम रहेका कारण सबै सरोकारवालाहरुले यस विषयमा साझा धारणा बनाउन ढिलो गर्न नहुने कुरामा जोड दिनु भएको छ । गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले चाडबाड नजिकै आइरहेको समयमा नेपाल भारत दुबैतर्फबाट आवतजावत गर्ने शंकास्पद व्यक्तिलाई लागु पदार्थ सेवन गरे नगरेको थाहा पाउनका लागि चेकजाच गर्ने किट खरिद गर्न १ लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता जाहरे गर्नु भएको छ ।
प्रमुख यादवले शुरुवाती चरणका लागि रकम उपलब्ध गराउने र यसबाट प्रतिफल प्राप्त भएमा लागु पदार्थ दुव्र्यसनी नियन्त्रणका लागि आफुले सहयोगको दायरा बढाउदै लैजाने बताउनु भयो । बर्दियामा रहेका ८ वटै पालिकाले लागुपदार्थ नियन्त्रणका लागि १ लाख सुरुवाती सहयोग गरी अगाडी बढ्ेमा कार्यक्रम लागुगर्न सहज हुने यादवको भनाई छ । कार्ययोजना छलफल कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक प्रविण धितालले बर्दिया जिल्लामा लागु पदार्थको अवस्था विकराल हुदै गएको र ७ प्रदेश मध्ये लुम्बिनी प्रदेश तेस्रो स्थानमा रहेको बताउनुभयो । बर्दिया जिल्लाको गत ३ बर्षको तथ्यांकले लागु पदार्थ सेवनकर्ताहरु अप्रत्यासित रुपले बढ्दै गईरहेको प्रहरी उपरिक्षक धितालले सरोकारवालाहरुलाई जानकारी गराउनु भएको छ ।
बर्दिया जिल्लाका ८ वटै पालिकाहरु लागु पदार्थ दुव्र्यसनको जोखिम रहेतापनि खासगरि बढैयाताल, मधुवन, गुलरिया र बाँसगढी ४ वटा नगरपालिका उच्च जोखिममा रहेको प्रहरीको तथ्यांक छ । लागु पदार्थ नियन्त्रणका लागि विद्यालय, बेरोजगार युवाहरुका विचमा स्थानीय पालिकाहरुले कार्यक्रम लिएर जान ढिला गर्न नहुने प्रहरी उपरिक्षक धितालले सुझाव दिनुभयो । बर्दिया जिल्लामा संचालनमा रहेका पुर्नस्थापना गृहहरु भौतिक पुर्वाधारको दृष्टिकोणले कमजोर रहेकाले लागु पदार्थ दुव्र्यसनमा फसेका नागरिकहरुलाई कुलत छुटाउनका लागि पुर्नस्थापना गृह सुधारका लागि सबै सरोकारवालाहरुको हातेमालो आवश्यक रहेको उपरिक्षक धितालको सुझाव छ । कार्यक्रममा बर्दिया जिल्लाका ८ वटै पालिका तथा सरोकारवाला निकायहरु सहभागी थिए ।
२८ °C काठमाडौं
Facebook Comments