गुलरिया मालपोत कार्यालयमा बिचौलिया प्रवेशमा रोक
सन्दिप कुमार बैश्य, ५ भदौ, बर्दिया । भुमिसुधार तथा मालपोत कार्यालय गुलरिया बर्दियाले बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाएको छ । मालपोत कार्यालयमा विचौलिया तथा दलालहरुको प्रवेशले कामकारवाही प्रभावित तथा अनियमितता बृद्धि भएपछि प्रवेशमा रोक लगाईएको हो ।
लेखापढी व्यवसायीको प्रमाणपत्र लिएकाबाहेक बिचौलिया तथा दलाललाई कार्यालय प्रवेशमा रोक लगाएको भुमिसुधार तथा मालपोत कार्यालय गुलरिया बर्दियाका प्रमुख मालपोत अधिकृत कृष्ण बहादुर खड्काले जानकारी दिए । अब लेखापढी व्यवसायीको प्रमाणपत्र लिएकालाई मात्र सेवाग्राहीको काम गराउन कार्यालय प्रवेश गर्न दिइनेछ, प्रमुख मालपोत अधिकृत खड्काले भने, “लेखापढी व्यवसायी नरहेका व्यक्ति सेवाग्राहीको काम गराउन भित्र आए कारबाही हुन्छ ।”
यद्यपि यसअघि देखिनै बिचौलिया प्रवेश निषेध गरिएको थियो तर यो पूर्ण रुपमा कार्यान्वयमा नआएपछि अहिले नयाँ रणनीतिमार्फत बिचौलिया तथा दलाल प्रवेश निषेध गरिएको उनले जानकारी दिए । उनले सुशासन कायम गर्न सरकारले नीति लिएकोले त्यसका लागि कसैसँग पनि सम्झौता नगर्ने बताए । उनले भने, ‘सुशासन कायम गर्नका लागि कसैसँग पनि सम्झौला गरिँदैन, गुनासो सुनुवाई वा सेवाग्राहीलाई दिइने सेवा सरल, छिटो र छरितो बनाउँछु ।’
लेखापढी गर्न सक्ने नागरिकले भने स्वयम् आफैँले फारम भरेर काम गर्न सक्ने बताए । केही वर्षअघि सर्वोच्च अदालतले नै भूमि सुधार तथा मालपोत कार्यालयमा काम गर्न जाँदा लेखापढी गर्न सक्ने नागरिकले आफैँले फारम गर्न सक्ने आदेश पनि गरेको थियो । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन जिल्ला कार्यसमिति गुलरिया, बर्दियाका अध्यक्ष रामकृष्ण बस्नेतले मालपोत कार्यालय गुलरियाका प्रमुख मालपोत अधिकृत खड्काको यस्तो निर्णय सराहनीय रहेको बताए ।
उनले मालपोत कार्यालय गुलरियाको यस्तो कदमले बिचौलिया कार्यालयमा प्रवेश गर्न नपाउने बताए । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन जिल्ला कार्यसमितिमा आबद्ध लेखापढी कानुन व्यवसायी सदस्यहरू अब परिचय भिरेर मात्र मालपोत कार्यालयमा प्रवेश गर्ने बताए ।
२८ °C काठमाडौं
Facebook Comments