सफल न्याय सम्पादनगर्दै बारबर्दिया न्यायिक समिति
चुरेकुञ्ज, ५ भदौ, बर्दिया । बारबर्दिया नगरपालिकाको न्यायिक समितिले गरेका न्याय सम्पादन सफल भएका छन् । आर्थिक बर्ष २०८०/०८१ मा बारबर्दिया नगरपालिकाको न्यायिक समितिमा ९२ वटा विवाद दर्ता भएका थिए ।
जसमा ६३ वटा विवादहरु मेलमिलापद्वारा समाधान भएका छन् भने २९ वटा विवादहरु मिलानको प्रक्रियामा रहेका छन् । स्थानीय सरकार संचालन ऐन २०७४ अन्तर्गत दफा ४७ का विवादहरुमा ३९ वटा दर्ता भएकोमा २८ वटा विवाद मेलमिलापद्वारा समाधान भएको र १० वटा प्रक्रियामा रहेको छ । विभिन्न मुद्दाहरु जस्तै आलीधुर बाँध, पैनी, कुलो वा पानी घाटको बाँडफाँड, अर्काको बाली नोक्सानी, ज्याला मजदुरी, जेष्ठ नागरिकको पालनपोषण र अन्य सार्वजनिक प्रयोगका मामलाहरुमा समेत न्यायिक समितिले सफलतापूर्वक मेलमिलाप गराएको छ ।
त्यसैगरी ऐनको दफा ४७ को उपदफा २ बमोजिम मेलमिलापद्धारा निरुपण गर्ने अधिकार भएका विवादहरु १५ वटा दर्ता भएका छन् । जसमा ११ वटा मेलमिलापद्वारा समाधान भएका छन् । पतिपत्नी बिचको सम्बन्ध बिच्छेद लगायतका अन्य विवादहरुमा पनि न्यायिक समितिले सफलतापूर्वक निष्पक्ष न्याय सम्पादन गरेको समितिले जनाएको छ ।
न्यायिक समितिको प्रमुख उपलब्धिहरुमा छिटो, छरितो र कम खर्चमा निष्पक्ष न्याय सम्पादन, मेलमिलाप तालिमको सञ्चालन, हिंसापीडित महिलाहरुको सिप विकास तथा बालविवाह सम्बन्धी कानुनी जानकारीको विस्तार उल्लेखनीय रहेका छन् । बारबर्दिया नगरपालिकाको न्यायिक समितिले विवाद समाधानमा दुवै पक्षको जीत सुनिश्चित गर्दै सामाजिक न्यायको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
२८ °C काठमाडौं
Facebook Comments