जोन विस्तारगर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
यादव आचार्य, २७ साउन, बर्दिया । बर्दियामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत चैते धानको सुपर जोन तथा माछा र केराको जोन विस्तार गरिएको छ । जिल्लाका ८ वटै पालिकामा कृषि उत्पादनको उत्पादकत्व बृद्धिको आधार छनोटगर्दै जोन तथा सुपरजोन विस्तार गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाई बर्दियाका अनुसार राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्र तथा ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ९ र बारबर्दिया नगरपालिकाको वडा नम्बर ३ र ४ चैते धानको सुपरजोन हुन् । बाँसगढी नगरपालिकाको वडा नम्बर १, २ र ३ गुलरिया नगरपालिकाको १ देखि ९ नम्बर वडा र मधुवन नगरपालिकाको ५ देखि ९ सम्मको वडा केरा जोन तोकिएको परियोजनाकी नायव सुब्बा विमला भण्डारीले बताउनु भएको छ ।
उहाँका अनुसार, परियोजना अन्र्तगत बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिकाको ४ देखि ९ नम्बर वडा, बारबर्दियाको वडा नम्बर ३, ४, ९ र १० गुलरियाको वडा नम्बर २, ४, ५ र ६, मधुवनको वडा नम्बर २, ३, ४ तथा ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, ७, ८ र ९ लाई माछा जोन निर्माण गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २, ३, ४, ७, ८, जानकी गाउँपालिका वडा नम्बर १ देखि ४ सम्म र खजुरा गाउँपालिका वडा नम्बर २ र ४ लाई बर्षे धान जोन बनाई परियोजना एकाई बर्दिया मार्फत हेरिँदै आएको छ ।
सुपरजोन तथा जोन मार्फत गत आर्थिक बर्षमा बर्दियामा ६५० हेक्टर क्षेत्रफलमा गरिएको चैते धान खेतीबाट क्रप कटिङको आधारमा ३ हजार ४०६ मेट्रिक टन उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाई बर्दियाका कृषि अधिकृत ध्रुवराज जोशीले बताउनु भयो । उहाँका अनुसार ३४५ हेक्टर क्षेत्रफलमा गरिएको केराखेतीबाट १४ हजार १०५ मेट्रिक टन केरा उत्पादन भएको छ ।
त्यस्तै २९२ हेक्टर क्षेत्रफलमा गरिएको माछा पालनबाट २ हजार १४५ मेट्रिक टन माछा उत्पादन भएको छ । बाँकेमा २ हजार ११० हेक्टर क्षेत्रफलमा गरिएको बर्षे धान खेतीबाट ८ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको छ । जोशीका अनुसार चैते धानका लागि प्रर्याप्त सिंचाई सुविधा नहुँदा समस्या पर्ने गरेको छ । सडक पूर्वाधार निर्माणले सिंचाई कुलोहरु मासिएका कारण पनि खेत सम्म सिंचाई पुर्याउन किसानहरुले सास्ती ब्यहोर्नु परेको उहाँको भनाई छ ।
२९ °C काठमाडौं
Facebook Comments