• १० वैशाख २०८३, बिहिवार
  • २९ °C काठमाडौं
बाल विवाह न्युनिकरण गर्न बारबर्दियामा बाल भेला 

चुरेकुञ्ज, १९ साउन, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा बाल विवाह न्युनिकरणमा सहयोग पुर्याउन बाल भेला गरिएको छ । बाल बालिकाहरुको प्रयासबाट नै बाल विवाह रोकथाम गर्नमा सहयोग पुर्याउने उद्देश्यले विविध विषयमा बाल भेलामा छलफल गराईएको छ । 

बाल बालिकाहरुले म बाल विवाह गर्दैन र अरुलाई पनि बाल विवाह गर्न दिदैन भनेर प्रतिबद्धता समेत जनाउनु भएको छ । भेलामा बालबालिकाहरुले नै सामुहिक रुपमा बाल विवाहका कारणहरु पत्तालगाई, बाल विवाह सम्बन्धी समुदायमा रहेका मान्यता विचार र धारणको बिषयमा छलफल गरी बाल विवाह न्युनिकरणका उपाय र बाल विवाहका सरोकारवाला पक्ष प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने ब्यक्ति वा समुहको पहिचान गर्नु भएको छ । परम्परागत सोच, लहलहै, बालमैत्री वातावरण नहुनु, अभिभावकहरु आफ्नो बालबालिकाहरुको चासो नराख्नु, सामाजिक संजालको दुरुपयोग आदी लगाएतका कारणले बाल विवाह भईरहेको बालबालिकाहरुको निष्कर्ष छ । 

बाल विवाह न्युनिकरणका लागि बालमैत्री वातावरण सिर्जना गर्ने, बाल विवाहको असर बारे जनचेना फैलाउने, पढाई, विद्यालय, समुदायमा सचेताना फैलाउने कार्यक्रम गर्नुपर्ने बालबालिकाहरुको भनाई छ । साथै बाल बालिकाहरुले बाल विवाह न्युनिकरण सम्बन्धी सचेतना फैलाउने किसिमका चित्रकला प्रस्तुत गर्नु भएको थियो । बालभेलालाई सहजिकरण स्थानीय शासन विज्ञ तथा सामाजिक अभियन्ता प्रकाश उपाध्यायले गर्नु भएकोछ । सहजिकरणगर्दै उहाँले बाल अधिकारको सिद्धान्तमा गैर विभेदको सिद्धान्त, दिर्घ जिवन, सर्वोतम हित रहेको बताउनु भयो । 

बाल विवाह न्युनिकरणका लागि बालबालिकाहरुले स्वयम नै जागरुक हुनु पर्नेमा उहाँको जोड छ । बालभेलाको उद्घाटनगर्दै बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डले बारबर्दिया नगर पालिकालाई २०८३ मा बाल विवाह न्युनिकरण गर्ने रणनीतिक योजना रहेको बताउनु भएको छ । वडाहरुलाई नै बाल विवाहमुक्त घोषणा गर्दै लैजाने तयारी छ । बाल विवाह न्युनिकरणमा सहयोग पुर्याउनका लागि २० बर्ष भन्दा मुनिका बालबालिकालाई जन्ती जाननपाईने खालका कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रमहरु बनाएको उहाँले जनाउनुभयो । साथै साझेदार संस्थाहरुको आवश्यकता रहेको बताउनु भएको छ । 

बारबर्दिया नगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष लालबहादुर चौधरी, महिला, बालबालिका तथा जेष्ठनागरिक शाखाकी प्रमुख उषा पुनले बाल विवाह न्युनिकरणका लागि समुदाय स्तरबाट नै शूरुवात गर्नु पर्ने बताउनु भयो । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप ) को साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत बाल भेला गरिएको हो । बाल भेलाको बारेमा जानकारी गराउदै परियोजनाका प्राविधिक संयोजक यमलाल बिश्वकर्माले बर्दियाका ४ वटा पालिकाको ३५ वटा वडा बाल अधिकार समितिसंग काम गरिरहेको बताउनु भयो । बाल भेलामा बारबर्दियाका करिब ५० जना बालबालिकाहरुको सहभागिता रहेको थियो । तालिममा बिग्रुपका सुपरभाईजर सुनिता चौधरी, भरत चौधरी र बिनिता परियारले भेलाको ब्यबस्थापन गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments