• १० वैशाख २०८३, बिहिवार
  • २८ °C काठमाडौं
सामुदायिक विद्यालयका शिक्षकहरुलाई बृहत यौनिकता शिक्षा सम्बन्धी तालिम

चुरेकुञ्ज, ११ साउन, बर्दिया । राधाकृष्ण थारु जनसेवा केन्द्र (आरकेजेएस) बर्दियाले बर्दियाका ५ वटा पालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक लगायत फोकल शिक्षकहरुलाई किशोरकिशोरीको बृहत यौनिकता शिक्षा सम्बन्धी ५ दिने तालिम दिएको छ । प्लान नेपाल र कोईकाको प्राविधिक सहयोगमा आरकेजेएसको किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना अन्र्तगत तालिम दिईएको हो ।

बर्दियाको गुलरिया, मधुवन, बारबर्दिया ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिका गरी ७ वटा विभिन्न विद्यालयका २० जना सहभागी शिक्षकहरुलाई रामकृष्ण पराजुली र यमराज न्यौपानेले सहजीकरण गर्नु भएको राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाकी अनुगमन तथा मूल्यांकन अधिकारी सुमित्रा पौडेलले जानकारी दिनुभएको छ । आईतवारदेखि शुरु भएको बृहत यौनिकता शिक्षा सम्वन्धी तालिम गुलरिया स्थित विजया गेष्ठ हाउसमा विहिवार समापन भएको छ ।

मे २०२४ देखि शुरु भएको परियोजनाले २०२६ सम्म किशोर किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य सुधार र अधिकार प्रर्बद्धन गर्ने लक्ष्य लिईएको छ । समापन कार्यक्रमकी प्रमुख अतिथी गुलरिया नगरपालिकाकी नगरउपप्रमुख सावित्रा गौतमले लाजलाग्ने उमेर समूहका किशोर किशोरीहरुलाई विद्यालयमा शिक्षकहरुले यौनिकता सम्बन्धी पाठहरु खुलेरै अध्ययन गराउनु पर्ने बताउनु भएको छ । स्वास्थ्य ज्ञान अभावमा समाजमा नकारात्मक प्रभाव पर्ने भएकाले विद्यालय स्तरमा यौनिकता सम्बन्धी ज्ञान बाड्न हिचकिचाउन नहुने उहाँको भनाई छ ।

गुलरिया नगरपालिकाका वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्यालले समाज अझै यौनिक मामिलामा संकुचित रहेकोले विद्यालयमा किशोर किशोरीहरुलाई यथेष्ठ यौनिकताको ज्ञान दिनुपर्ने बताउनु भयो । यौनिकता बारे आवस्यक ज्ञान नभएका कारण किशोर किशोरीहरु गलत बाटोमा फसेको उहाँको भनाई छ । गलत सामाजिक अभ्यासलाई घटाउँदै बालवालिकाहरुलाई यौनिकता सम्बन्धी ज्ञान जरुरी रहेकोले विद्यालयबाट नै सम्भव हुने अधिकृत अर्यालले प्रष्ट्याउनु भयो । 

नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले अभिभावक र वालवालिका विच यौनिकता सम्बन्धी खुलेर कुराकानी नहुने भएकाले पनि शिक्षकले विद्यालयमा गम्भीर भएर त्यसतर्फ सचेत पार्नुपर्ने बताउनु भयो । संस्थाका कोषाध्यक्ष यज्ञराज मजगैयाको अध्यक्षतामा भएको समापन कार्यक्रम संस्थाकी अनुगमन तथा मूल्यांकन अधिकारी पौडेलले संचालन गर्नुभएको थियो । 

सम्बन्धित समाचार

Facebook Comments