• १० वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
सरकारको नितिका कारण संरक्षण प्रति जनतामा नकारात्मक धारणा बन्दै

विष्णु अधिकारी, १४ जेठ, गुलरिया (बर्दिया) । बर्दियामा बाघको संख्या बढेसंगै चुनौति र अवसर बढ्दै गएको छ । सरकारको अलमले नितिका कारण नागरिकहरुमा संरक्षण प्रति नकारात्मक धारणाको विकास हुदै गइरहेको छ । 

जंगली जनावरका कारण मानवीय तथा भौतिक क्षति बढ्दै गइरहेको अवस्थामा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । मानव र वन्यजन्तुको सहअस्तित्व कायमका लागि समुदायलाई संगै जोडेर लान नसकेमा यसले ठुलो चुनौति र समस्या लिएर आउन् सक्ने तर्फ सजग रहन कार्यक्रममा सहभागिहरुले सुझाव दिएका थिए । बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा कति बाघ बस्न सक्ने यकिन तथ्य निकालेर बाघ व्यवस्थापन गर्न सकेमा यसले मानवीय क्षति कम गर्न सक्ने सहभागिहरुको धारणा  थियो । बर्दियामा बाघ ओहोर दोहोर गर्ने मुख्य नाका खाता जैविक मार्गलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा सरोकारवालाहरुसँग निश्चित नक्शा नभएकाले त्यो क्षेत्र जोखिममा रहेको धारणा सहभागीको छ । 

वन्यजन्तु पिडितहरुलाई राज्यको घुमाउरो नितिका कारण समयमा राहत नपाउँदा पिडा माथि पिडा थपिदै गएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाङफेले वन वरिपरि बस्ने समुदायका मानिसहरुले वन जंगलमा आश्रित नहुनका लागि सरकारले इलेक्ट्रिक चुल्हो प्रयोग गर्नका लागि सहयोग गर्नुपर्ने सुझाव दिएका थिए । वन्यजन्तुको आक्रमणमा परेर ज्यान गुमाउनेहरुको लागि क्षतिपुर्तिले त्यो परिवारको पिडालाई कुनै हदमा पनि पुरा गर्न नसक्ने डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले बताएका छन् । बर्दियाली जनताको पिडा संघिय राजधानीमा बस्नेले सुन्न नसकेका कारण वन र वन्यजन्तु प्रति नागरिकहरुको नकारात्मक धारणा बन्दै गइरहेको प्रमुख विडारीले तर्क गरेका छन् । 

मानवीय क्षति व्यहोरी रहेको समयमा राज्यले दिने राहत कार्यविधि बनाएर दिन नसक्नु लाजमर्दो विषय बनेकोमा दुख व्यक्त गरे । विडारीले राहत निर्देशिका २०६९ जारी गरेपछि संशोधन हुदैहुदै जाँदा जनताले सजिलो बाटोबाट राहत पाउने ढोका राज्यबाट नै बन्द गर्न लागेकोमा रोष प्रकट गरेका छन् । वन्यजन्तु पिडितले पाउने राहत स्थानीय वडा सरकारबाट नै सहज रुपमा पाउन सक्ने वातावरण बनाउन आवश्यक भएको कार्यक्रममा बताएका थिए । मधुवन नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष नारायण मल्लले जंगलको छेउछाउमा बसोबास गर्ने नागरिकहरुको आर्थिक अवस्था कमजोर गाइबस्तु पालन गरेर आय आर्जन गर्ने भएकाले जंगल जानु पर्ने बाध्यता रहेका कारण पिडा सहेर बसोबास गरेको बताए । 

वडाअध्यक्ष मल्लले जंगलको छेउछाउमा बसोबास गर्ने नागरिकको बालिनालि, जिवन विमा तथा पशुचौपाया विमालाई अगाडी बढाउन सुझाव दिए । डिभिजन वन कार्यालय, खाता सामुदायिक वन समन्वय समिति र तराई भु परिधि कार्यक्रमको संयुक्त आयोजनामा खाता जैविकमार्गसँग जोडिएका पालिका र सरोकारवाला निकाय विच मानव र वन्यजन्तु सहअस्तित्व तथा व्यवस्थापनका लागि अन्तरक्रिया कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्य बहादुर विष्टको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रमको अध्यक्षता खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले गरेका थिए ।

सम्बन्धित समाचार

Facebook Comments