सात वुँदे घोषणापत्र जारीगर्दै नेपाल पत्रकार महासंघ बर्दियाको साधारण सभा सकियो
चुरेकुञ्ज, ३१ वैशाख, बर्दिया । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको २२ औं साधारण सभा तथा १२ अधिवेशन ७ वुँदे घोषणा पत्र जारीगर्दै आईतबार सम्पन्न भएको छ । केन्द्रिय प्रतिनिधि नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेसका उपाध्यक्ष शुक्रऋषी चौलागाईको प्रमुख आतिथ्यतामा सभा सकिएको छ । अधिवेशन अन्र्तगतको निर्वाचन भने केन्द्रिय समितिले मिति तोकेपछि हुनेछ ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथी केन्द्रिय प्रतिनिधि चौलागाईले पत्रकारहरु कसैको पनि हुलाकी बन्न नहुने बताउनु भएको छ । केन्द्रमा सदस्यता विवाद देखिएपनि जिल्ला तथा प्रदेशबाट सिफारिश भएका नामहरुमानै सहमती बन्ने जानकारी दिनुभयो । विशेष अतिथी बर्दियाका प्रमुख जिलला अधिकारी वेदप्रसाद खरेलले आर्थिक कठिनाईका वावजुद पनि जिल्लामा पत्रकारहरु टिकेर नागरिकको सूचना प्रवाहमा कटिबद्ध रहेको प्रशंसागर्दै सञ्चारक्षेत्र एवम् सञ्चारकर्मीहरुको उत्थानका लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।
उद्घाटन शत्रमा अतिथीहरु नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, नेपाल पत्रकार महासंघ बर्दियाका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद धिताल, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष दिपकलाल श्रेष्ठ, प्रेस चौतारी नेपाल बर्दियाका अध्यक्ष यज्ञप्रसाद सापकोटा, प्रेस सेन्टर बर्दियाका अध्यक्ष भिमउँचै ठकुरी, समाजवादी प्रेस संगठन बर्दियाका अध्यक्ष प्रताप कुमार गौतम, बर्दिया जिल्ला अदालत बार एसोशिएसनका अध्यक्ष कमलप्रसाद पाण्डे, गुलरिया नगरपालिकाका नगरप्रवक्ता एवम् वडा नम्बर ६ का वडाध्यक्ष शुधांसु प्रकाश शर्मा, निर्माण ब्यवसायी संघ बर्दियाका अध्यक्ष हेमन्त प्रकाश गिरी. जग्गादाता सुभाष कुमार पोखरेलले साधारण सभाको शुभकामना मन्तब्य दिनु भएको थियो ।
उद्घाटन शत्र समापनगर्दै पत्रकार महासंघका अध्यक्ष आचार्यले महासंघको कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने पत्रकार, पत्रकार संगठनहरु, सरकारी कार्यालय, संघ, संस्था, राजनितिक दल एवम सम्पूर्ण नागरिक समाजप्रति आभार ब्यक्तगर्दै महासंघलाई नागरिक संस्था बनाउन सबैले सहकार्य गर्नुपर्ने आवस्यकता औल्याउनु भएको छ । तिन बर्षको अनुभव सुनाउँदै उहाँले भन्नुभयो जबसम्म नागरिकबाट सूचनाको श्रोत बाहिरिदैन तब सम्म अपेक्षाकृत विकास हुन सक्दैन । निर्वाचन नहुँदा सम्म अझै अध्यक्षको दायित्वमा रहेकाले आगामी दिनमा महासंघमा रहेपनि नरहेपछि पत्रकारीता मार्फत आफ्नो धर्म निभाउन सधैं कटिबद्ध रहेको उहाँको प्रतिवद्धता छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक प्रविण धिताल, सशस्त्र प्रहरी वल नेपाल ३१ नम्बर गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरिक्षक चित्रांगत दाहाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष कमल कुमार पन्थी, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मेघराज सिग्देल, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य डिलप्रकास गौतम, उद्योग वाणिज्य संघ बर्दियाका सचिव मोहित पौडेल लगायतको उपस्थिती रहेको उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघ बर्दियाकी उपाध्यक्ष मेनका चौधरीले अतिथीहरुलाई स्वागत मन्तब्य दिनु भएको थियो । उद्घाटन शत्रको कार्यक्रम सचिव सन्तोष पौडेलले संचालन गर्नु भएको थियो ।
सभाको बन्द शत्रले महासंघका सचिव सन्तोष पौडेलले पेश गर्नु भएको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष शीतल थापाले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन उपर ब्यापक छलफलगर्दै अनुमोदन गरेको छ । साधारण सभामा राजेन्द्र प्रसाद धितालको संयोजकत्वमा पूर्व अध्यक्ष कमलकुमार पन्थी, प्रेस युनियनका अध्यक्ष दिपकलाल श्रेष्ठ, प्रेस सेन्टरका अध्यक्ष भिम उँचै ठकुरी, प्रेस चौतारीका अध्यक्ष यज्ञप्रसाद सापकोटा सम्मिलित कार्यदल मार्फत पत्रकारका गुनासो श्रवण गरिएको थियो । प्रेस चौतारीका केन्द्रिय सदस्य डिलप्रकास गौतमको संयोजकत्वमा, प्रेस सेन्टरका केन्द्रिय सदस्य मेघराज सिग्देल र प्रेस युनियन बर्दियाका उपाध्यक्ष संजय आचार्य सम्मिलित ३ सदस्यीय समितिले घोषणा पत्र सार्वजनिक गरेको छ ।
नेपाल पत्रकार महासंघ बर्दियाले जारी गरेको ७ वुँदे घोषणा पत्र :
नेपाल पत्रकार महासंघ वर्दिया पत्रकारको हकहित, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सुचनाको हक सुनिश्चित गर्न जोडदार माग गर्दछ ।
साना लगानीमा संचालित स्थानिय संचारमाध्यमको वृद्धि विकास, संरक्षण र सम्र्बद्धन गर्न साधारण सभा जोडदार माग गर्दछ ।
स्थानिय संचारकर्मीहरुको क्षमता विकास पेशागत वृद्धि विकासका लागी हातेमालो गर्न सर्वपक्षिय माग गर्दछ ।
पत्रकार आचारसंहिताको पूर्ण पालनाका लागि जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै संचारकर्मीहरु लाई साधारण सभा आव्हान गर्दछ ।
बर्दिया जिल्लाको समृद्धिको आधार एवम सम्भावनाको क्षेत्र पर्यटन भएकोले पर्यापर्यटन प्रर्बद्धन प्रचार प्रसार कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्न सभा तिनै तहका सरकार समक्ष जोडदार माग गर्दछ ।
गुलरिया नगरपालिका वडा नं ७ बदलपुर क्षेत्रमा रहेको नेपाल पत्रकार महासंघको कार्यालय आसपास रहेका विपन्न बस्तीको चौतर्फी विकासमा ध्यानदिन गुलरिया नपा कार्यालय समक्ष साधारण सभा अनुरोध गर्दछ ।
२२ औं साधारण सभा तथा १२ औं अधिवेशन मा आमन्त्रीत प्रमुख अतिथी, विशेष अतिथी तथा अतिथीहरुलाई हार्दिक आभार सहित यो सभा धन्यवाद ज्ञापन गर्दछ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बर्दियाको साँगठनिक प्रतिवेदन :
सन्तोष पौडेल
सचिव
नेपाली श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ, बर्दिया जिल्ला शाखाको २२ औं साधारण सभा तथा १२ औं अधिवेशनमा उपस्थित सम्पूर्ण सञ्चारकर्मी साथीहरुमा हार्दिक स्वागत तथा अभिवादन प्रकट गर्दछु । ऐतिहासिक महत्वको यस समारोहमा सर्वप्रथम पत्रकारिता गर्ने शिलशिलामा आफ्नो जीवन अर्पण गर्ने ज्ञात अज्ञात पत्रकार सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाल पत्रकार महासंघ बर्दियाको सांगठनिक प्रक्रियामा योगदान पुरÞ्याउनु हुने, शाखाको स्थापना गरी नेतृत्वदायी भूमिका निर्वाह गर्दै बर्दियाको पत्रकारितामा उल्लेखनीय भूमिका निर्वाह गर्नु हुने अग्रज पत्रकारहरुप्रति हार्दिक सम्मान प्रकट गर्दछु ।
आदरर्णीय सदस्य ज्यूहरु,
जिल्लामा सर्वप्रथम पत्रकार संघको नामबाट स्थापना भएको यस संस्थाका संस्थापक अध्यक्ष श्री नवीनचन्द्र शर्मा र सचिव दिनेश प्रसाद श्रेष्ठ हुनुहुन्छ । त्यसपछि संघमा श्री विष्णु प्रसाद तिमिल्सिना र श्री ईश्वरी प्रसाद बस्याल अध्यक्ष रहनु भयो । नेपाल पत्रकार महासंघ बर्दियाको स्थापना विक्रम सम्बत् २०४७ सालमा भएको हो । जसमा क्रमशः श्री कमल कुमार पन्थी, श्री कृष्णप्रसाद बस्याल (राकेश), श्री युवराज श्रेष्ठ, श्री श्रीराम सिग्देल, श्री राजेन्द्र प्रसाद धिताल, श्री मिनराज शर्माले यस अघि नेपाल पत्रकार महासंघ बर्दियाको अध्यक्ष भई नेतृत्व गर्नु भएको छ । वि. सं. २०७७ सालमा सम्पन्न ११ औ अधिवेशनबाट श्री यादव प्रसाद आचार्यको अध्यक्षतामा निर्वाचित कार्य समितिले जिल्ला शाखाको नेतृत्व गर्दै बर्दियाका श्रमजीवी पत्रकारहरुको हकहीतमा दृढताका साथ क्रियाशील रहेको व्यहोरा यहाँहरु सबै माझ अवगत नै छ ।
सदस्य ज्यूहरु !
बर्दियामा हामी नेतृत्वमा आई सकेपछि संगठनको नियमित काम तथा अग्रपंक्तीको नागरिक संस्थाका हैसियतले जिल्लाका विभिन्न सवालहरु लगायत कार्यक्रमहरुमा हामीले सक्रिय सहभागिता जनाएका छौं । नेपाल पत्रकार महासंघ केन्द्र र प्रदेशले निर्देशन तथा सर्कुलर गरेका सबै जसो कार्यक्रमहरु सम्पन्न गरिएका छन् । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष श्री राजेन्द्र प्रसाद धितालको कार्यकालमा प्रारम्भ गरिएको नेपाल पत्रकार महासंघ वर्दियाको कार्यालय भवन निर्माण कार्य हाम्रो कार्यकालमा सम्पन्न भएको छ र आज हामी हाम्रो आफ्नै कार्यालयमा अधिवेशन सम्पन्न गर्दैछौ, जुन हाम्रो लागि खुसी र गौरवको विषय बनेको छ ।
भवन निर्माणको लागि नेपाल पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष श्री मीनराज शर्माको कार्य समितिले भवन निर्माणको जग्गा प्राप्ती पश्चात निवर्तमान अध्यक्ष श्री राजेन्द्र प्रसाद धितालको कार्य समितिले शुभारम्भ गरेको भवन निर्माण कार्य बर्तमान अध्यक्ष यादव प्रसाद आचार्य रहेको कार्य समितिले गठन गरेको भवन निर्माण समितिका संयोजक कृष्ण प्रसाद बस्याल’ राकेश’ सदस्यहरु मेघराज सिग्देल, डिलप्रकाश गौतम, दुर्गा आचार्य, विष्णु प्रसाद अधिकारी र मेनका चौधरी, भवन निर्माण गर्न महत्वपूर्ण सहयोग गर्ने गुलरिया नगरका नगरप्रमुख श्री मुक्तिनाथ यादव लगायत सम्पूर्ण नगरपालिका परिवार, जग्गादाता गुलरिया नगरपालिका वडा नम्वर ७ निवासी स्वर्गीय शिव प्रसाद पोखरेलकी धर्मपत्नी स्वर्गीय लक्ष्मीदेवी तथा श्रीमती ईन्दीरादेवी पोखरेल तथा उहाँका सुपुत्र सुभाष कुमार पोखरेलप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु ।
बर्दियाको पत्रकारितालाई मर्यादित र गरिमामय बनाउन यस कार्य समितिले उल्लेखनीय प्रयास गरेको छ । जिल्ला स्थित अग्रज पत्रकार एवम् सञ्चारकर्मीहरुलाई सम्मान गर्दै यसअघि भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गादाता, भवन निर्माणमा सहयोग गर्ने गुलरिया नगरपालिका र महासंघ जिल्ला शाखाका पूर्व अध्यक्षहरुलाई सम्मानित गरिएको व्यहोरा अनुरोध गर्दछु । जिल्लाका पत्रकारिताको गरिमालाई अक्षुण राख्न निवर्तमान अध्यक्ष श्री राजेन्द्र प्रसाद धितालको संयोजकत्वमा श्री मेघराज सिग्देल र श्री मुकुन्द सुवेदी सहितको अनुसासन समिति मार्फत महासंघलाई मर्यादित बनाउन प्रयास गरिएको व्यहोरा जानकारी गराउँछु ।
बर्दियामा क्रियाशील सञ्चारकर्मीहरुको हकहितको संरक्षण, क्षमता अभिवृद्धि र सीप विकासका लागि महासंघ जिल्ला शाखा सदैव प्रयत्नशील रहेको कुरा यहाँहरु सबैलाई अवगत नै छ । जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुका लागि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश संगको सहकार्यमा दुर्घटना विमा गरेका छौं । प्रदेशकै सहकार्यमा विभिन्न तालिमको आयोजना, विभिन्न संघसंस्थाहरुको सहकार्यमा सञ्चारकर्मीहरुलाई विभिन्न ठाउँमा आयोजित कार्यक्रम तथा तालिममा सहभागी गराईएको कुरा समेत यहाँ उल्लेख गर्न पाउँदा हर्षको अनुभुति गरेको छु ।
आदरर्णीय सभासद ज्यूहरु,
नेपाल पत्रकार महासंघ बर्दिया शाखाले पत्रकारहरु माथी आई लागेका विभिन्न किसिमका धम्की, पत्रकारको मानहानी गरिएका घटनाहरुलाई प्रतिवादगर्दै पत्रकारको मर्यादा रक्षार्थ उभिएको छ । र पत्रकारको हकमा विभिन्न किसिमका विज्ञप्ती तथा भौतिक उपस्थितीसहित पत्रकारको आत्मसम्मानको लागि प्रतिवद्ध भएर लागेको ब्यहोरा अवगत गराउन चाहान्छु । यसका साथै पत्रकारहरुको जीवनमा आईपर्ने विभिन्न दुःख र शोकका घडीमा समेत पत्रकार महासंघको नेतृत्व सदा पत्रकारहरुको साथमा अभिभावकिय भुमिकाका साथ उभिएको ब्यहोरा समेत हार्दिक रुपमा स्मरण गराउन चाहान्छु । नेपाल पत्रकार महासंघलाई विशुद्ध श्रमजीवी पत्रकारहरुको संगठन बनाउनका लागि केन्द्रद्वारा नै शुद्धीकरण अभियान सञ्चालन गरिएको व्यहोरा यहाँहरुलाई अवगत नै छ । यस क्रममा बर्दिया जिल्लामा शुद्धीकरण अभियानको मर्म र भावनालाई अक्षरशः पालना गरी सो अनुरूप नयाँ सदस्यता र सदस्यता नवीकरणको सिफारिस गरिएको व्यहोरा प्रस्तुत गर्दछु । वर्दियामा रहेका जम्मा ९५ सदस्य मध्ये ८ जनालाई मानार्थ सदस्यका लागि सिफारिस गर्ने र स्वेच्छाले अन्य पेशा रोज्ने र पत्रकारितावाट अन्य पेशामा जानुहुने ३८ सदस्यहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघको शुद्धीकरण अभियानमा स्वस्फूर्त रूपमा सहयोग गर्ने अग्रज पत्रकारहरुलाई हार्दिक धन्यवाद सहित आभार प्रकट गर्न चाहान्छु ।
अन्त्यमा,
नेपाल पत्रकार महासंघ पत्रकारहरुको हक हित प्रति दृढ संकल्पित छाता संगठन हो । आफ्ना सदस्यको हक तथा अधिकारको संरक्षण र प्रवर्द्धन गर्नु संगठनको धर्म हो । संस्थामा संलग्न सदस्यहरुको साझा भावना र सहकार्य तथा अनुशासनवाट मात्र संस्थाले आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ । त्यतातिर हामी सबै सचेत हुन आवश्यक छ । संगठनप्रति हामी सबैको अपेक्षा छ तर संगठनका लागि हामिले के गरेका छौ ? हाम्रो कर्तव्य के हो ? यतातिर पनि हामीले सोच्न आवश्यक देखिएको छ । सबैले आ आफ्नो जिम्मेवारी पुरा गरेर संगठनलाई संगठित र सवल बनाउन सकिन्छ । हामी सबैको छाता संगठन नेपाल पत्रकार महासंघलाई सुदृढ बनाउन सबैले सबै पक्षवाट योगदान गरौं । धन्यवाद ।
नेपाल पत्रकार महासंघ बर्दियाको २२ औं साधारणसभा तथा १२ औं अधिवेशनमा पेश गरिएको साढे १ बर्षको आय/ब्यय :
शितल थापा
कोषाध्यक्ष

२४ °C काठमाडौं
Facebook Comments