मालपोत कार्यालय बर्दियामा अनुगमन : बदमासी गर्ने कर्मचारीलाई फाँट बदल्न सिडिओको कडा निर्देशन
सन्दिप कुमार बैश्य, १२ वैशाख, बर्दिया । बर्दियाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलको टोलीले भुमिसुधार तथा मालपोत कार्यालय गुलरिया बर्दियामा अनुगमन गरेका छन् । बुधबार बिहान सवा १० बजे मालपोत कार्यालय पुगेका प्रजिअ खरेलसहितको टोलीले कार्यालयमा भइरहेका दैनिक गतिविधिको अनुगमन गरेका हुन् ।
कार्यालय प्रवेश गरेको अनुगमन टोलीले सेवाग्राहीले सेवा लिने प्रत्येक कक्षमा सेवाग्राही सरह बसेर गतिविधिको अनुगमन गरेको थियो । अनुगमन पश्चात सञ्चारकर्मीहरूलाई जानकारी दिदै प्रजिअ खरेलले अधिकांश कर्मचारीहले कार्यालय पोशाक नलगाएको, परिचय पत्र नभिरेको र कार्यालय परिसरमा यत्रतत्र थुकेर कार्यालय नै दुर्गन्धित भएको पाईएको बताए । उनले कार्यालयको विभिन्न फाँटको अनुगमनगर्दै कर्मचारी र सेवाग्राहीहरुबाट सेवाप्रवाहबारे जानकारी समेत लिएका थिए । अनुगमनका क्रममा सेवाग्राहीको कार्य छिटो छारितो गर्न कर्मचारीहरूलाई प्रजिअ खरेलले निर्देशन दिएका छन् ।
कागजात नपुगेको भए स्पष्ट रुपमा भन्न तथा बिना कारण कसैको काममा अत्यधिक समय नलगाउन समेत कर्मचारीहरुलाई कडा निर्देशन दिईएको छ । अनुगमनका क्रममा एक÷दुई जना कर्मचारीहरूले बदमासी गरिरहेको खुल्न आएको बताउँदै । उनले थपे,’ बदमासी गरिरहेको जानकारी प्राप्त भएपछि मैले ती कर्मचारीहरूको फाँट नै परिवर्तन गर्न निर्देशन दिएको छु ।’ कार्यालयमा देखिएका कमी कमजोरी तत्काल सुधार्न पनि निर्देशन दिएको हुँ । ‘मालपोत कार्यालयमा अनियमितता हुने गरेको व्यापक जनगुनासो आउन थालेपछि अनुगमन गरेका हौँ,’ प्रजिअ खरेलले दोहोर्याए । ‘कार्यालयमा नियम तथा अनुशासन पालन नगर्ने कर्मचारीहरूलाई सचेत पनि गराइएको छ ।’
कर्मचारीले अनलाइन सिस्टमले काम गर्न सहज भए पनि बेलाबेला सर्भर डाउन हुँदा काम गर्न समस्या उत्पन्न भएको बताएका छन् । कर्मचारीहरूले विशेषतः अनलाइन सिस्टममा काम गर्नका निम्ति एकचोटी लिएको तालिम प्रर्याप्त नभएको र थप तालिमको आवश्यकता रहेको प्रजिअ समक्ष बताएका छन् । पछिल्लो समय सरकारी कार्यालयको साथसाथै सबै क्षेत्रमा प्रशासनले अनुगमनको कार्य तिव्र पारेको छ । बजार, स्वास्थ्य संस्था र स्वास्थ्य क्लिनिक लगायत सबै क्षेत्रको अनुगमनलाई निरन्तरता दिने योजना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
२१ °C काठमाडौं
Facebook Comments