सूचना लिनेदिने कार्यलाई सँस्कृति बनाउनु पर्छ : आयुक्त सूचना आयोग
विन्दु चौधरी, २ बैशाक, बाँसगढी (बर्दिया) । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले सूचनाको हकसम्बन्धी व्यवस्थाले नागरिकलाई राज्यले सम्पादन गरेका काममा प्रश्न गर्ने अधिकार दिएको बताउनु भएको छ । सोमबार बर्दियाको बाँसगढी नगरपालिकामा भएको सूचनाको हक : कानुनी ब्यवस्था सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा आयुक्त मैनालीले सूचना लिने र दिने विषयलाई संस्कृति बनाउन सके सुशासनमा बल पुग्ने प्रष्ट्याउँदै कुनैपनि नेपाली नागरिकले सूचना माग गरेको १५ दिनमा सम्बन्धित निकायका सूचना अधिकारीले सूचना उपलब्ध गराउनुपर्ने प्रावधान रहेको बताउनु भयो ।
सम्वन्धित निकायबाट तोकिएको समयमा सूचना नदिएको खण्डमा आयोगमा उजुरी दिने व्यवस्था रहेको उहाँको भनाई छ । अभिमुखीकरण कार्यक्रममा सहजीकरणगर्दै सूचना आयुक्त मैनालीले राष्ट्रिय सूचना आयोगमा एक वर्षको अवधिमा कुल एक हजार ६८ वटा पुनरावेदनको उजुरी परेको जानकारी गराउनु भयो । उहाले गत आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित ७२ दशमलव ०५ प्रतिशत उजुरी परेको उहाँले जनाउनु भयो । बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित १२ दशमलव १७ प्रतिशत, गैरसरकारी सस्थासंग सम्बन्धित ४ दशमलव ५ प्रतिशत, शिक्षा स्वास्थ्य खेलकुदसँग सम्बन्धित २ दशमलव २३ प्रतिशत, संस्थान तथा प्राधिकरणसँग सम्बन्धित २ दशमलव ७ प्रतिशत, खानेपानी विद्युत निर्माण तथा यातायातसँग सम्बन्धित १ दशमलव ५ प्रतिशत, कानून न्याय तथा प्रशासनसँग सम्बन्धित १ दशमलव ३१ प्रतिशत उजुरी परेको बताउनु भयो ।
त्यस्तै सूचना तथा सञ्चारसँग सम्बन्धित ० दशमलव ६ प्रतिशत, जग्गा जमीन र मालपोत वन तथा कृषि सम्बन्धित १ दशमलव ७७ प्रतिशत, प्रशासनसँग सम्बन्धित १ दशमलव ०२ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नुभएका बाँसगढी नगरप्रमुख खड्क बहादुर खड्काले बाँसगढी नगरपालिकाका सबै निकायले हरेक विषयलाई इमान्दारिता र पारदर्शितालाई कायम गरिरहेको विश्वास ब्यक्त गर्नुभयो । उहाँले सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई मार्फत सबै नागरिकलाई सुंसुचित गराउदै आईरहेको दावी गर्नुभयो । सूचनाको हकसम्बन्धी कानुनी व्यवस्थालाई कमजोर नभएर बलियो बनाउन सबैको भूमिका आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओलीले नागरिकले सूचना नमागे पनि सार्वजनिक सुचना स्वतः प्रकाशित गरिदै आएको बताउनु भयो । कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख डिल्लीराम आचार्य, नेपाल पत्रकार महाँसंघ बर्दिया जिल्ला शाखाका अध्यक्ष यादवप्रसाद आचार्य लगायतले सूचना सम्बन्धी हकका बारेमा बोल्नु भएको थियो । सूचनाको हक सम्बन्धी अभिमुुखिकरण कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओलीले स्वागत मन्तब्य दिनु भएको थियो । सुचना अधिकारी क्षितिज पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा पालिका भित्रका विभिन्न कार्यालय, संघ, संस्था, सहकारी, विद्यालय लगायतबाट प्रमुख तथा सूचना अधिकारीहरु सहभागी थिए ।
२६ °C काठमाडौं
Facebook Comments