• ९ वैशाख २०८३, बुधवार
  • २६ °C काठमाडौं
बजेट अभावले बबईमा तटबन्ध निर्माण रोकियो

यादव आचार्य, बर्दिया, चैत २५ । सरकारले निर्माण कम्पनीलाई समयमै बजेट भुक्तानी गर्न नसक्दा बबई भादा औरही नदी ब्यवस्थापन आयोजनाको काम प्रभावित भएको छ । आयोजनाले निर्माण कम्पनीले सम्पन्न गरेका कामको बजेट समयमै भुक्तानी दिन नसकेपछि निर्माणाधिन तटबन्धनका काम रोकिएका छन् । 

बर्दियाको बारबर्दिया, ठाकुरबाबा, मधुवन र गुलरिया नगरपालिकाहुँदै भारत बग्ने बबई नदी ब्यवस्थापनको कार्यले पूर्णता नपाउँदा जिल्लाकै सदरमुकाम गुलरिया नगरपालिका क्षेत्रमा बाढी, डुवान र कटानको समस्या कायमै छ । ०७४ साल असोज ९ गतेदेखि बबई भादा औरही नदी ब्यवस्थापन आयोजना मार्फत आर्थिक बर्ष ०८४÷८५ सम्म नदी नियन्त्रणको कार्य पूर्ण गर्ने लक्ष्य लिएपनि सरकार फेरबदल, बजेट अभाव लगायत राजनितिक खिचातानीका कारण नदी नियन्त्रण गर्ने कार्यले पूर्णता पाउन सकेको छैन । आयोजनालाई बजेट अभाव भएपछि ४ ओटा ठेक्का प्याकेजको काम निर्माण कम्पनीले बिचैमा छाडेको बबई  भादा औरही नदी ब्यवस्थापन आयोजना प्रमुख शिवजी साहले बताए ।

बालापुर, पशुहाट, थपुवा र सीमावर्ती गौढी क्षेत्रमा भैरहेको काम एक्कासी रोकिएको छ । ४२ करोड ४३ लाख रुपैया बबई नदी ब्यवस्थापनको दायित्व सरकारको देखिन्छ । बजेट अभावले समयमै काम नसकिने देखिन्छ । उनले भने बबई नदीको दाहिने किनारा पण्डितपुर देखि सीमावर्ती भारत सम्म २८ किलोमिटर तटबन्धन गर्ने आयोजनाको लक्ष्य छ । जस अन्र्तगत बबईको भादा नदी २२ दशमलव ३० किमि र कर्णालीको औरही नदी २६ दशमलव ९६ किमि आयोजना क्षेत्र हो । अन्तिम चरणमा काम भैरहेको छ । सरकारले नियमावली संशोधन गरेर ठेक्काको म्याद थप गर्न अनुमति त दिएको छ । तर बजेटको लागि सहजीकरण नहुँदा समयमा आयोजना सम्पन्न गर्न समस्या परेको छ ।

आयोजनाले गरेका काम सार्थक भई गुलरिया नगरक्षेत्र संरक्षित हुँदाहुँदै बजेट अभावमा टेण्डर भएका निर्माणाधिन थुप्रै कामहरु अधुरा हुनु दुःखद भएको गुलरिया नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मुमबहादुर मल्लले बताए । निर्माण कम्पनीले पैसा नपाएर काम छाडेपछि आयोजना लथालि∙ भएको छ । उनले भने सरकार र निर्माण ब्यवसायी विच आर्थिक द्वन्दात्मक अवस्था श्रृजना हुँदा जनताको काम समयमै सम्पन्न नहुने र बर्षादमा डुवानको समस्या दोहोरिने त्रास बढेको छ । आयोजना शुरु भएको यतिका बर्ष वितिसक्दा पनि योजना प्राथमिकिकरण गर्न राज्य गम्भिर नभएपछि सदरमुकाम डुब्ने चिन्ता थपिएको संघीय सांसद संजय कुमार गौतमको भनाई छ । अर्वौ रुपैयाको लगानी भएको क्षेत्रमा सरकार गम्भीर भएन । 

निर्माणाधिन योजना समयमा सम्पन्न नभए सदरमुकाम जोखिममा रहन्छ । निर्माणाधिन काम अस्तब्यस्त छन् । उनले थपे संसदमै आवाज उठाउँदा उठाउँदै समेत कुनै सुनुवाई हुदैन । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयको फागुन १० गतेको सचिव स्तरिय निर्णयले अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखासँग बबई भादा औरही नदी ब्यवस्थापन आयोजनाको लागि थप १३ करोड ६६ लाख रुपैया ब्यवस्थापनका लागि माग गरेको छ  । बर्दियाको सबैभन्दा ठूलो चुनौती बबईको बाढी नियन्त्रण नै हो । केही प्वाईन्टहरुमा तत्काल काम सम्पन्न नभए बर्षादमा ठूलै समस्या आउन सक्ने बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले बतए । काम रोकिए निर्माण सम्पन्न भएका कार्यको पनि बाढीका कारण औचित्य तहसनहस हुने अवस्था छ । उनले भने तटबन्धको समस्यालाई विपदको अत्यावस्यक समस्याका रुपमा उठाउन गर्छौ । 

सम्बन्धित समाचार

Facebook Comments