• ११ वैशाख २०८३, शुक्रवार
  • १९ °C काठमाडौं
द्वन्द्व पीडितको अभिलेखसँगै आवश्यकता पहिचान गर्दै ठाकुरबाबा नगरपालिका

बर्दिया, २१ चैत । ठाकुरबाबा नगरपालिकाले द्वन्द पीडितको अभिलेखसँगै आवश्यकता पहिचान गर्ने भएको छ । ठाकुरबाबा नगरपालिकामा रहेका द्वन्द पीडितको अभिलेखकरण गरी आधिकारीक तथ्याङ्क ब्यवस्थितगर्दै उनीहरुको आवश्यकता लिपिबद्ध गरी सोही आधारमा अल्पकालिन र दीर्घकालिन कार्ययोजना बनाएर काम गर्न खोजिएको नगर प्रमुख तिलकराम लम्सालले बताउनु भयो । 

नगरपालिकाले महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न नेपाल सरकारले ल्याएको राष्ट्रिय कार्य योजना कार्यान्वयन गर्न एक वर्ष अघि नै दुई वटा समिति समेत गठन गरी काम अगाडी बढाई सकेको छ । नगर प्रमुख लम्सालको संयोजकत्वमा कार्ययोजना कार्यान्वयन स्थानीय समिति र उप प्रमुख बिना भट्राईको संयोजकत्वमा पाँच सदस्यीय पीडित प्रभावित महिला र बालीकाको समष्टिगत आवश्यकता पहिचान उप समिति गठन गरिएको हो । 

नगर उपप्रमुख भट्राईले महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न नेपाल सरकारले ल्याएको राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्तगर्दै जसका लागि समिति गठन गरी पालिका सबै जनप्रतिनिधी र सम्बन्धीत शाखा प्रमुख लगायत सबै वडा सचिबलाई अभिमुखिकरण गरिसकेको बताउनु भयो । राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न पीडितहरुसंग प्रत्यक्ष जोडिने उप समितिले अभिलेखकरण तालिम पनि लिइसकेकोले द्वन्द पीडितको अभिलेख र आवश्यकता पहिचान गर्ने अन्तिम तयारीमा रहेको उपप्रमुख भट्राईले जानकारी दिनुभयो । द्वन्द पीडितको अभिलेख र आवश्यकता पहिचान गर्ने कार्य सहज र प्रभावकारी बनाउन द्वन्द पीडित महिला सञ्जाल र द्वन्द पीडित समिति बर्दियासंग बुधवार वकालत बैठक बसेको छ । 

सो अबसरमा द्वन्द पीडितहरुले पीडितहरुको बिभिन्न सवाल सम्बोधन गर्न नगरप्रमुख लम्साल र नगर उपप्रमुख भट्राईलाई मागपत्र पनि बुझाएका छन् । पीडित तथा प्रभावित महिला र बालीकाको समष्टिगत आवश्यकता पहिचान गर्न ठाकुरबाबा नगरपालिका संगै अन्य पालिकामा पनि सञ्जालसँग समन्वय र सहकार्य गरिरहेको  द्वन्द पीडित महिला सञ्जालकी जिल्ला अध्यक्ष सरिता थापाले बताउनु भयो । नेपाल सरकारले नेपालको शान्ति प्रक्रियालाई अर्थपूर्ण रुपमा टुङ्गोमा पु¥याउन महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न दोस्रो चरणको राष्ट्रिय कार्य योजना कार्यान्वयनमा ल्याएको छ ।

सम्बन्धित समाचार

Facebook Comments