• ११ वैशाख २०८३, शुक्रवार
  • १९ °C काठमाडौं
बारबर्दियाका विद्यालयहरु थ्री स्टारको दौडमा 

बारबर्दिया, १५ चैत । बारबर्दिया नगरपालिकाका विद्यालयहरु विद्यालय खानेपानी सरसफाई तथा स्वच्छतामा थ्री स्टार (तीन तारा) बनाउने दौडमा छन् । विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधि २०७४ को अनुसुचि १ मा रहेको १० वटा सुचकहरु पुर्ण रुपमा कार्यान्वयन गर्नसके थ्री स्टार प्राप्त विद्यालयको मान्यता पाउने भएकोले उनीहरु दौडमा लागेका हुन् ।

बारबर्दिया नगरपालिकाका १० वटा विद्यालयमा बुधबार सामाजिक विकास समितिको नेतृत्वमा नगरपालिकाका नगरप्रमुख तथा उपप्रमुख सहितको संयुक्त टोली गरेको अनुगमनमा केहि विद्यालयहरु थ्री स्टार उन्मुख रहेको पाईएको छ । उक्त कार्यविधि २०७४ (दोस्रो संशोधन २०७६ को अनुसुचि १ को सुचकको आधारमा अनुसुची २ बमोजिक स्वमुल्याँकन गर्ने ब्यबस्था रहेको छ । विद्यालयले तीन पटक सम्म गरेको स्वमुल्याँकनको नतिजा र स्थलगत रुपमा उक्त टोलीले गरेको अनुगमनको आधारमा जनता माध्यमिक विद्यालय रम्मापुरलाई दुई तारा, जनज्योती आधारभूत विद्यालय औरीलाई दुई तारा, नेपाल राष्ट्रिय प्राज्ञिक आधारभूत विद्यालय जब्दी दुई तारा प्राप्त गरेको पाईएको हो । 

यसैगरी बालविद्या आधारभूत सिम्रहवा, पाञ्चजन्य  माध्यमिक विद्यालय पदनाहा, कुसुम्बादेवि आधारभूत विद्यालय रानीपुर, शान्ति आधारभूत विद्यालय कुमरागाँउ, जनचेतना आधारभूत विद्यालय नारायणपुर, अंशुवर्मा माध्यमिक विद्यालय जयनगरलाई एक तारा र जनज्योती माध्यमिक विद्यालयलाई तारा बिहिन पाईएको सम्बन्धीत सबै विद्यालयलाई जानकारी गराउने निर्णय गरेको छ । बारबर्दिया नगरपालिकाको शिक्षा शाखा मार्फत सामाजिक विकास समिति पेश गरेको पत्रानुसार कार्यविधिको परिच्छेद ८ को ८.१ “ग” बमोजिम उक्त टोलीले गरेको संयुक्त अनुगमनबाट स्टार निधारण गरिएको हो । 

खानेपानी सरसफाई तथा स्वच्छताको स्वमूल्याँकनको सुचकमा खानेपानी, शौचालय, सफा स्वच्छ र हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता ब्यबस्थापन सुविधा, संस्थागत ब्यबस्थापन र दिगोपना, विपद् जोखिम ब्यबस्थपन र अनुगमन तथा जवाफदेहिता रहेको छ । उक्त सुचकको कार्यान्वयन भएको सुनिश्चिततालाई १ तारा, कार्यान्वयन सहित संरचना तथा स्वरुप निर्माण वा ब्यबस्था गरेकोलाई दुई तारा र दिर्घकालीन रणनीतिक योजना सहित स्थायित्व रुपमा लैंगिक समानता तथा सामाजिक समाबेशीता हुने गरि नै कार्यान्वयन गरि सबैको ब्यबहार परिर्वत भएको सुनिश्चितता भएकोलाई थ्री स्टार (तीन तारा) को मान्यता दिने ब्यबस्था रहेको छ ।

अनुगमनको क्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले बारबर्दिया नगरपालिकाका विद्यालयहरु खानेपानी सरसफाई तथा स्वच्छतामा सुधारउन्मुख भईरहेको बताउनु भएको छ । विद्यालयसंग जोडिएका शिक्षक, विद्यालय ब्यस्थापन समिति, अभिभावक शिक्षक संघ, अभिभावकको ईच्छा शक्ति भए वास गेन्समा सुधार गर्न धेरै समय नलाग्ने बताउनु भएको छ । सरसफाईमा मात्र थोरै समय दिए बिना बजेटको पनि धेरै काम गर्न सकिने बताउनु भयो । विद्यालयको खानेपानी र सरसफाईमा योजनाबद्ध तरिकाले आए दातृ निकायहरुसंग समन्वय गरेर पालिका हरेक दृष्टिकोणले सहयोग गर्न तयार रहेको बताउनु भएको छ । साथै सरसफाईमा राम्रो भएपछि शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि सहज वातारवरण हुने उहाँको भनाई छ ।  

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरउपप्रमुख रत्नकुमारी पाण्डेले खानेपानी सरसफाईलाई दिगोपना बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ । अहिले दातृ निकायको सहयोगमा निर्माण गरिएको संरचना तथा मर्मत सम्भार गरिएको योजनाहरुको संरक्षण, सहि सदुपयोग र दिगो संचालनको आवश्यकता रहेको बताउनु भयो । दिगोपनका लागि पालिकाले प्रत्येक विद्यालयका मर्मत सम्भार कोष निर्माणको तयारीमा रहेको बताउनु भएको छ । उक्त मर्मतकोष निर्माणका लागि कार्यविधिको खाका निर्माणाधिन अवस्थामा रहेको बताउँदै कार्यविधि निर्माण गरेर मर्मत सम्भार कोष स्थापना गरि कार्यान्वयनमा लैजान सकिएमा सरसफाई तथा संस्थागत ब्यबस्थापन र दिगोपन हुने बिश्वास दिलाउनु भयो । 

कार्यक्रममा सहभागी बारबर्दिया नगरपालिकाका नगरप्रमुख, नगरउपप्रमुख, सामाजिक विकास समितिका पदाधिकारीहरु, वास फोकल पर्सन, ब्याक वार्ड सोसाईटी एजुकेशन (बेस) बर्दियाका अध्यक्ष बिष्णु थारु, बेसका पदाधिकारीहरु, वाटर एड नेपालका मञ्जु भट्ट, बेसका कर्मचारीहरु सम्बन्धीत वडाका वडा अध्यक्षहरुले विद्यालय खानेपानी सरसफाई तथा स्वच्छताको अवस्थाको प्रत्यक्ष अवलोकन संगै प्रधानाध्यापक, फोकल पर्सन शिक्षक, ब्यबस्थान समिति संग छलफल गर्दै दिगोपना, ब्यबस्थापन र निरन्तताको लागि सल्लाह सुझाब दिनु भएको छ । 

वाटर एड नेपालको आर्थिक सहयोगमा एन.एफ.सि.सि. र एन.एफ.डी.एन.को प्राविधिक सहयोगमा बेस बर्दियाद्धारा संचालित (वास गेन) परियोजना अन्तरगत बारबर्दिया नगरपालिकाको १० वटा विद्यालयमा परियोजना संचालनमा रहेको छ । उक्त विद्यालयमा बारबर्दिया नगरपालिका सामाजिक बिकास समितिका संयोजक श्यामकुमारी थारुको सभाध्यक्षतामा संयुक्त अनुगमन कार्यक्रम गरिएको बेस बर्दियाका तालिम अधिकृत दुर्गा बहादुर चौधरीले जानकारी गराउनु भएको छ । परियोजना बारबर्दिया नगरपालिका, गेरुवा गाँउपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा संचालन छ । परियोजनाले बर्दिया जिल्लाको ३३ वटा विद्यालयमा कामगर्दै आएको छ ।

सम्बन्धित समाचार

Facebook Comments