संरक्षणमैत्री फुटबल प्रतियोगितामा सेनाको जीत
हरि गुरुङ, मधुवन (बर्दिया) । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ ठाकुरद्वारामा प्रकृति संरक्षणमा युवा सहभागिता नारासहित सोमबारदेखि शुरु भएको संरक्षण मैत्रीपुर्ण फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाली सेनाको समूह प्रथम भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको देवीदत्त गणले ठाकुरबाबा नगरपालिकासँग १/१ गोल बराबरी गरेपछि पेनाल्टी सुटआउटमा पराजीत गरेको हो ।
ठाकुरद्वारामा रहेको ब्यारेक परिसरमा आयोजना गरिएको प्रतियोगितामा ८ टिम सहभागी थिए । फाइनलमा पुगेका देवीदत्त गणका नेपाली सेना समूह र ठाकुरबाबा नगरपालिका समूह बीच ९० मिनेटको खेल्दा बराबरी गोल गरेका थिए । प्रतियोगिताको समापन कार्यक्रममा चारबाहिनी पति (जर्नेल) प्रकाश थापाले खेलमा हारजित भएपनि आगामी दिनमा अझैँ राम्रो खेल्न शुभकामना दिँदै मैत्रीपुर्ण खेलमा दुबै टिमले राम्रो प्रर्दशन गरेकोमा प्रशंसाा व्यक्त गर्नुभयो । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले युवाहरूबीच भाइचारा वृद्धिसंगै संरक्षणमा अझै बढी हातेमालो होस् भन्ने उद्देश्यले मैत्रीपुर्ण खेल आयोजना गरेकोमा निकुञ्ज सुरक्षार्थ देवीदत्त गण परिवारप्रती आभार प्रकट गर्नुभयो ।
उहाँले यस्ता खेलहरूले एक आपसमा नजिक बनाउने अवसर मिलेको बताउनुभयो । देवीदत्त गणका गणपति हिमालय थापाले मैत्रीपुर्ण फुटबल प्रतियोगिताले सम्पूर्ण नगरबासीमा घनिष्टता तथा प्रकृति संरक्षण कार्यमा युवासहित सबैको सहभागीता बृद्धि गर्ने उद्देश्यले मैत्रीपुर्ण खेल आयोजना गरिएको बताउनुभयो । फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई चारबाहिनि पति प्रकाश थापाले पुरस्कार वापत करिव ४५ किलोको खसी र द्वितीय टिमलाई नगर प्रमुख तिलकराम लम्सालले पुरस्कार बापत करिव ३५ किलोको खसी प्रदान गर्नुभयो ।
पुरस्कार वितरण कार्यक्रममा राँझा ब्यारेक चारबाहिनी पति (जर्नेल) प्रकाश थापा, ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल, देवीदत्त गणका गणपति (कर्णेल) हिमालय थापा, बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रि बिनोद दाहाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुङ्बाहाम्फे, होटल अर्गनाइजेसन हानका अध्यक्ष मोहनलाल चौधरी, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्य, स्थानीय संरक्षणकर्मी लगायत सहभागी थिए । प्रतियोगितामा एनटिएनसी, सिबिएपियु, बिएनपी, नगरपालिका, नेपाली सेना, भुपु सैनिक टिमसहित ८ टिम प्रतियोगितामा सहभागी थिए ।
२२ °C काठमाडौं
Facebook Comments