ठाकुरद्वारामा संरक्षणमैत्री फुटबल प्रतियोगिता
हरि गुरुङ, मधुवन (बर्दिया) । बर्दियाको ठाकुरद्वारामा “प्रकृति संरक्षणमा युवा सहभागिता“ भन्ने नाराका साथ मैत्रीपूर्ण फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदत्त गणको आयोजनामा ठाकुरद्वारामा रहेको ब्यारेक परिसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको हो ।
उक्त प्रतियोगितामा एनटिएनसी, सिबिएपियु, बिएनपी, भुपु सैनिक टिम लगायत ८ टिम सहभागी भएको गणपति प्रमुख सेनानी हिमालय थापाले बताउनुभयो । मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले युवाहरूबीच भाइचारा वृद्धिसंगै संरक्षणमा अझै बढी हातेमालो होस् भन्ने उद्देश्यले मैत्रीपुर्ण खेल आयोजना गरेकोमा निकुञ्ज सुरक्षार्थ देवीदत्त गण परिवारप्रती आभार प्रकट गर्नुभयो । उहाँले यस्ता खेलहरूले एक आपसमा नजिक बनाउने अवसर प्रदान गर्ने बताउँदै घर आँगनमा भित्रीएको दशैँ, तिहार र छ्ठको शुभकामनाका साथै खेलको सफलताको शुभकामनासमेत व्यक्त गर्नुभयो ।
देवीदत्त गणका गणपति हिमालय थापाले मैत्रीपुर्ण फुटबल प्रतियोगिताले सम्पूर्ण नगरबासीमा घनिष्टता तथा प्रकृति संरक्षण कार्यमा युवासहित सबैको सहभागीता होस् भन्ने उद्देश्यले मैत्रीपुर्ण खेल आयोजना गरिएको बताउनुभयो । ठाकुरबाबा नगर प्रमुख तिलकराम लम्साल, देवीदत्त गणका गणपति हिमालय थापा र होटल अर्गनाइजेसन हानका अध्यक्ष मोहनलाल चौधरीले संयुक्त रुपमा खेलमा सहभागीलाई फुटबल हस्तान्तरण गरि प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो । सोमबारदेखि सुरु भएको पहिलो खेल राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुञ्ज कर्मचारी र चोरिसिकार नियन्त्रण युवा परिचालन अभियानका युवाबीच भएको थियो भने कार्तिक १ गते बुधबार खेल समापन हुनेछ ।
मैत्रीपुर्ण फुटबल प्रतियोगितामा प्रथम हुनेलाई दशैँको अवसरमा उचित पुरस्कार प्रदान गरिने जनाइएको छ । मैत्रीपुर्ण फुटबल प्रतियोगिताको शुभारम्भ कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल, देवीदत्त गणका गणपति हिमालय थापा, प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल, बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रि बिनोद दाहाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुङ्बाहाम्फे, होटल अर्गनाइजेसन हानका अध्यक्ष मोहनलाल चौधरी, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्य, स्थानीय संरक्षणकर्मी लगायतको सहभागिता थियो ।
२२ °C काठमाडौं
Facebook Comments