• १८ वैशाख २०८३, शुक्रवार
  • २२ °C काठमाडौं
बढैयातालमा जिल्ला स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता हुँदै  

अनोज थारु, ७ चैत्र, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकामा जिल्ला स्तरीय पालिका अध्यक्ष कप फुटबल प्रतियोगिता चैत २४ गते देखि सन्चालन हुने भएको छ । युवा नै हो देशको शानः सबैले गरौँ खेलकुदमा योगदान भन्ने मुल नाराका साथ पाँचौँ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सन्चालन हुन लागेको हो । 

बढैयाताल गाँउपालिका मैनापोखर, ८ नम्बर वडा कार्यालय, बर्दिया जिल्ला फुटबल संघ र मयुर युवा क्लवको समन्वय र कालिका सामुदायिक पुस्तकालयको आयोजनामा खेल सन्चालन हुन गैरहेको मंगलबार पत्रकार सम्मेलन मार्फत कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जानकारी गराउनुभयो । प्रतियोगितामा बर्दिया जिल्लाका ८ वटै पालिकाबाट १।१ वटा आधिकारीक फुटबल टिम सहभागि हुनेछन् । टिम सहभागिताको लागि गाँउपालिका र नगरपालिकाको अधिकारीक पत्र आवश्यक रहनुका साथै खेलाडी सोही पालिकाको स्थायी बसोबास भएको हुनु पर्ने आयोजकले जनाएको छ । पुस्तकालयका अध्यक्ष श्रेष्ठले पुस्तकालय मार्फत युवाहरुसंग बिभिन्न खाले खेलकुद, नेतृत्व बिकास र जिविकोपार्जन जस्ता कार्यक्रमहरुगर्दै आएको बताउनु भयो । 

हालसम्म ७ वटा किशोरी फुटबल प्रतियोगिता, ४ वटा बर्दिया जिल्ला पालिका स्तरीय फुटबल प्रतियोगिता सम्पन्न भइसको अध्यक्षको भनाई छ । खेलकुदको माध्यमबाट यस ठाँउबाट ५ जना किशोरीहरु सेना र प्रहारीमा भर्ना भई टिममा खेलिरहेका छन् । २२ जना प्रतिभावान किशोरीहरुको फुटबल टिम तयार भएको छ । उहाँले थप्नुभयो बिद्यालय र गाँउटोलमा सयौँको संख्यामा किशोर किशोरीहरु फुटबल खेलप्रति आकर्षित भएका छन् । प्रतियोगिताले युवाहरुलाई खेल प्रति रुचि बढाउनुका साथै युवाहरुलाई नकारात्मक सोच र कुलतमा लाग्नबाट समेत रोकेको छ । 

युवा लक्षित कार्यक्रमलाई सफल पार्नको लागि पालिका, वडा कार्यालय, संघसंस्था, उद्योगी, ब्यापारी र ब्यक्तिगत सहयोग गर्न चाहाने फुटबल खेल प्रेमिहरुले मुख्य प्रायोजक, प्रायोजक, सहप्रायोजक र ब्यानर प्रायोजकको रुपमा सहयोग गर्नका लागि कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष श्रेष्ठले सबैसंग आग्राह गर्नु भएको छ । पत्रकार सम्मेलनमा बढैयाताल वडा नं २ का वडाअध्यक्ष दिला देव गिरी, जिल्ला फुटबल संघका अजितराज भण्डारी, कालिका सामुदायिक पुस्तकालयका संस्थापक सदस्य हरि बहादुर अधिकारी लगायत अन्य राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रम सञ्जय सापकोटाले संचालन गर्नु भएको थियो ।  

सम्बन्धित समाचार

Facebook Comments