बाघको आक्रमणबाट निजगढमा एकजना घाइते
सुरुचि भण्डारी, बारा, ७ चैत । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट मंगलबार निजगढ नगरपालिका एकजना घाइते भएका छन् । बाघको आक्रमणबाट मंगलबार दिउसो निजगढ नगरपालिका- ११ रतनपुरकी ४० वर्षीया दिल कुमारी पुलामी मगर घाइते भएकी हुन् ।
निजगढ नगरपालिका- ११ स्थित तपोभूमि सामुदायिक वनमा चौपाया चराउन गएकी मगरलाई बाघले पछाडिबाट आक्रमण गरेको घाइते दिलकुमारीले बताइन् । बाघकाे आक्रमणबाट जंगलमा लडेकी उनलाई सँगै चौपाया चराउन गएका भोगबहादुर मुक्तान र अर्का साथीले बचाउन सफल भए । तर, तीनवटा बाख्रा भने बाघले मारेको छ ।
बाघको आक्रमणमा परीकी मगरको छाती र पिठ्युँमा पन्जाको दाग छ । उनको पिठ्युँमा टाका समेत लगाइएको छ भने अवस्था सामान्य रहेको निजगढ नगरपालिका- ९ स्थित निजगढ सामुदायिक अस्पतालका डाक्टर मुन्ना कुमार साहले जानकारी दिए । यसैबीच निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले घाइते दिलकुमारीको स्वास्थ्य अवस्था बुझ्न निजगढ सामुदायिक अस्पताल पुगेका थिए ।
२३ °C काठमाडौं
Facebook Comments