खोरका बाघलाई आहारा पुर्याउनै सकस
यादव आचार्य, ५ चैत्र, गुलरिया (बर्दिया) । बर्दिया राष्ट्रिय निकुञ्जका बाघ उद्धार केन्द्रहरुमा राखिएका समस्याग्रस्त पाटे बाघहरुलाई आहारा पुर्याउनै सकस हुन थालेको छ । प्राकृतिक बासस्थानबाट मानविय हमला गरेपछि प्रविधिमार्फत समातेर खोरमा पालिएका समस्याग्रस्त बाघहरुलाई दैनिक मासुको जोहो गर्नु परेपछि बर्षेनी लाखौं रुपैया आहारामै खर्च हुने गरेको छ ।
तराईकै ठूलो बर्दिया राष्ट्रिय निकुञ्जको संरक्षण कार्यले उचाई पाएसँगै बन्यजन्तुहरुको संख्यामा बृद्धि भएको छ । विश्वबाटै लोपहुन लागेका पाटेबाघको संख्या पनि उल्लेख्य मात्रामा बृद्धि भएको छ । बर्दियाका प्राकृतिक वासस्थानमा १ सय २५ वटा पाटेबाघ छन् । बाघको संख्या बढेसँगै मानव बाघ विचको द्वन्द समेत बढेको छ । निकुञ्जले मानिसलाई आक्रमण गर्ने समस्याग्रस्त बाघहरु लठ्याएर समात्ने र निकुञ्जका खोरहरुमा राख्ने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए । पछिल्लो समय यस्ता समस्याग्रस्त बाघको संख्या बढेसँगै निकुञ्जलाई आहारा पुर्याउँनै सकस हुन थालेको छ । उनले भने भविष्यमा समस्याग्रस्त बाघहरु थप बढ्दै जाने सम्भावना धेरै छ । बर्दिया राष्ट्रिय निकुञ्जका विभिन्न उद्दार केन्द्रहरुमा उद्धार गरिएका ५ वटा समस्याग्रस्त बाघ छन् । यस्ता बाघ नेपालभरी १९ वटा छन् ।
उनले थपे चितवनमा ६, बाँकेमा १, पर्सामा ३ वटा र चिडियाखानामा ५ वटा समस्याग्रस्त बाघहरु राखिएका छन् । बर्दियाको ठाकुरद्वारामा रहेको उद्धार केन्द्रमा २ वटा बाघ र रम्भापुर क्षेत्रमा ३ वटा बाघ छन् । बर्दियामा थप दुईवटा खोर बनाउने तयारी हाम्रो छ । आगामी बर्ष ५ वटा बाघ थपिने अनुमान हाम्रो छ । समस्याग्रस्त बाघ बढेसँगै निकुञ्जलाई आहारा पुर्याउँनै सकस हुन थालेको छ । बाघलाई आहाराको लागि हप्तामा २८ देखि ३० किलोग्राम मासु आवस्यक पर्छ । खोरमा भएका सबै बाघलाई १४० किलो मासु आवस्यक पर्छ । बार्षिक २२ देखि २५ लाख रुपैया समस्याग्रस्त बाघको आहारामा लाग्नु दीगो होईन । प्रमुख रामले अगाडी भने, स्थानिय, प्रदेश र संघीय सरकारको सहयोगमा निकुञ्ज बाहेकको सामुदायिक बन क्षेत्रमा खुल्ला चिडियाखाना बनाई पर्यापर्यटनको रुपमा पर्यटक भित्र्याउन सके संरक्षणमा ठूलै फड्को मार्ने सम्भावना छ । यसले खोरमा बाघलाई खानेकुरा अभावको समस्या पनि समाधान हुने र स्थानिय रोजगारी बृद्धि भै समस्याग्रस्त बाघको समेत दीगो ब्यवस्थापन हुन्छ ।
समस्याग्रस्त बाघ बढ्ने क्रम रहेकाले त्यस्ता बाघ ब्यवस्थापन गर्न खोरहरु छैनन् । चितुवा राख्ने खोरपनि छैन । यसले संरक्षणमा चुनौती थपिदै गएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले बताए । एनटीएनसीले समस्याग्रस्त बाघ समाउन प्राविधिक सहयोगगर्दै आएको छ । बाँके बर्दिया कम्प्लेक्समा बाघ चितुवा लगायत अन्य बन्यजन्तुहरुको उद्धार गर्ने गरेका छौ । उनले भने समस्याग्रस्त बाघ भएको क्षेत्रमा क्यामेरा ट्राप गरी बाघ पहिचान गर्छौ । बुढो, घाईते एवम् शिकार गर्न नसक्ने अवस्थाका बाघहरु समस्याग्रस्त मानिन्छन् । पछिल्लो समय उद्धार गरिएका बाघहरु राख्ने ठाउँ नहुँदा समस्या बढेको छ ।
साभार : अन्नपूर्ण पोस्ट् ।
२६ °C काठमाडौं
Facebook Comments