मतदाता नामावली अद्यावधिक सम्बन्धी समन्वय बैठक
मुरली गोडिया, २४ फागुन, गुलरिया (बर्दिया) । मतदाता नामावली अद्यावधिक सम्बन्धी समन्वय बैठक बर्दियामा गरिएको छ । जिल्लामा मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्र्तगत फागुन २८ गते देखी आयोगको वेवसाइटमा मतदाता नामावली प्रकाशन गर्ने र चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन कार्यलय बर्दियाले बैठकमा जनाएको छ ।
मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम २०८० सम्बन्धि सुचनामा उल्लेखित कार्यक्रमका बारेमा जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख लाल बहादुर मल्लले प्रस्तुतिकरण गर्नु भएको थियो । वहाँले फागुन २९ गते देखी चैत्र ५ गते भित्र आयोगको वेवसाइटमा मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मतदाता नामावलीमा मृत्युभएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने समय रहेको प्रमुख मल्लले बैठकमा प्रष्ट पार्नु भयो ।
फागुन २९ गतेदिन देखी चैत्र ५ सम्म वडा कार्यालयमा दर्ता भएका निवेदन प्राप्त गर्ने, बसाइँसरी अन्यत्र गएका वा मृत्यु भएका मतदाताको विवरण स्थानीय पञ्जिकाधिकारीबाट र नागरिकता त्याग गरेका मतदाताको विवरण जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्ने र सूचना÷निवेदन प्राप्त नभएतापनि कुनै मतदाता बसाइँसरी गएको, मृत्यु भएको, नागरिकता त्याग वा रद्द भएको प्रमाणित विवरण प्राप्त गर्ने निर्वाचन कार्यालयले जनाएको छ । चैत्र ६ गते सम्म उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने चैत्र ९ गते देखी १२ गते सम्म मतदाता नामावलीबाट हटाउने सम्बन्धमा आवश्यक छानबीन गरी प्रमुख नामदर्ता अधिकारीले त्रुटि सच्याउने, नाम हटाउने लगायत कानून बमोजिम निर्णय गर्ने बताइएको छ ।
चैत्र १२ देखी १५ गते सम्म नाम हटाइएको सूचना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा प्रकाशन गर्न र फरक फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधिक भएको डाटासंगै आयोगमा पठाउने र चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने प्रमुख मल्लले जानकारी गराउनु भयो । जिल्ला प्रशासन कार्यालय बर्दिया र जिल्ला निर्वाचन कार्यालय बर्दियाको संयुक्त आयोजनामा भएको बैठकमा विभिन्न राजनैतिक दल, नागरिक समाज, पत्रकार महासंघ, जिल्ला सुरक्षा समितीका पदाधिकारी लगायतको सहभागीता रहेको थियो ।
२९ °C काठमाडौं
Facebook Comments