आजदेखि बर्दियामा दादुरा–रुबेला बिरुद्धको खोप अभियान शुभारम्भ
विष्णु अधिकारी (बर्दिया), मुरली गोडिया (गुलरिया), संवाददाता (मधुवन), केशव कोईराला (राजापुर), संवाददाता (बारबर्दिया), १३ फागुन । बर्दियामा दादुरा–रुबेला विरुद्ध खोप अभियानको शुभारम्भ भएको छ । जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्ट तथा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले गुलरिया स्थित बगलामुखी माध्यमिक विद्यालयबाट खोप सामाग्री हस्तान्तरणगर्दै अभियान शुभारम्भ गर्नु भएको छ ।
अभियान अन्र्तगत जिल्लाका ८ वटै पालिकामा आईतवारदेखि दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान शुरु भएको छ । नेपाल सरकारको कार्यक्रम अनुरुप स्वास्थ्य कार्यालय बर्दियाले फागुन १८ गते सम्मका लागि खोप अभियान शुरु गरेको छ । भौगोलिक विकटताले गर्दा बाँसगढी नगरपालिका वडा नम्बर १ मा फागुन २१ गतेदेखि २३ गतेसम्म खोप अभियान संचालन भैरहेको छ । दादुरा–रुबेला रोगबाट १ जना संक्रमित व्यक्तिले १८ जना सम्मलाई संक्रमण गराउन सक्छ । रोग लागेमा ज्वरो आउने, शरिरमा राता विमिरा देखिने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने लगायत रुघाखोकिको लक्षणहरु देखिने स्वास्थ्य कार्र्यालय बर्दियाका प्रमुख गोकर्ण गिरिले बताउनु भयो । बर्दियामा ९ महिना देखि १५ बर्ष सम्मका बालबालिकाहरुलाई खोप दिदैछौं । उहाँले भन्नुभयो, यो रोग भएका बालबालिकाहरुमा पखाला लाग्ने, कानमा संक्रमण हुने, निमोनिया हुने, अन्धोपन, कम्पन आउने, मस्तिष्कमा कडा खालको संक्रमण हुने भएकाले विरामीको मृत्यु समेत हुन सक्ने खतरा हुन्छ ।
बर्दियामा ९ महिना देखि ५ बर्षसम्मका ३१ हजार ४ सय ४९ जना, ५ बर्षदेखि १५ बर्ष मुनिका ८७ हजार ७८ जनालाई खोप दिने लक्ष्य लिईएको उहाँले जानकारी दिनुभयो । अभियान संचालन अवधिभर बर्दियामा ४ सय ८४ खोप केन्द्र, ९ सय ६८ जना स्वास्थ्यकर्मी र १४ सय ५२ जना स्वयंसेवक परिचालन हुनेछन् । स्वास्थ्य कार्यालयले दादुरा–रुबेला खोपको महत्वबारे जनचेतना अभिवृद्धि गराई लक्षित उमेर समुहका सबै बालबालिकालाई खोप लिन सबैलाई आग्रह गरेको छ । बर्दिया जिल्ला समन्वय समतिका प्रमुख सूर्य बहादुर विष्टले पत्रकारहरुलाई मिडिया मार्फत ब्यापक सन्देश प्रवाह गरिदिन आग्रह गर्नु भएको छ । मिडिया मार्फत घरघरमा सचेत पार्न सफलता मिल्ने विस्वास उहाँको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले दादुरा–रुबेला खोप लक्षित बर्गका बालबालिकालाई लगाउनका लागि खोप केन्द्र सम्म ल्याउन खोपको महत्वका बारेमा व्यापक प्रचार प्रसार गरि बालबालिकालाई खोप केन्द्र सम्म ल्याउन सबैको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो ।
अभियानलाई सफल बनाउन बर्दियाका सबै समुदायहरुलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नका लागि उहाँको अनुरोध छ । अभियानसँगै बर्दियाका ८ वटै पालिकाका बालबालिकाले दादुरा–रुवेला बिरुद्ध खोप पाउने छन । बाल बालिकाहरूलाई खोप लगाएर दादुरा–रूबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी रोगहरूबाट संक्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने अभियानको लक्ष्य छ । पाँच वर्ष मुनिका बाल वालिकाहरूको नियमित खोपको अवस्था पहिचान गरी छुट तथा नियमित खोपको मात्रा लगाउन सहजीकरण गर्ने उद्धेश्य राखिएको छ । बाँसगढी नगरपालिका वडा नम्बर १ बाहेक बर्दियाका ८ ओटै पालिकामा एक साथ दादुरा रुवेला खोप अभियान संचालन गरिएको छ ।
खोपको भ्रामक सोच बिरुद्ध एकजुट हुनु पर्छ
गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले नगरपालिकाले संचालन गरेको हरेक अभियानलाइ सफल बनाउन पत्रकार लगायत स्थानियले सहयोग गर्नुपर्ने बताउनु भएको छ । सीमावर्ती लगायत नगरका ग्रामीण भेगमा दादुरा बारे चेचक हो भनी खोप नलगाउने जस्तो भ्रम भएकोले खोपका तेस्ता भ्रामक कुराका लागि सबैले नागरिकलाई सचेत पार्न सहयोग गर्नुपर्ने उहाँको भनाई छ । सबैले सहयोगगर्दै गुलरिया नगरपालिकालाइ १ नम्बरमा ल्याउनु पर्ने नगरप्रमुख यादबले आग्रह गर्नुभएको छ । दादुरा–वेला खोप अभियानमा नियमित खोप सेवा सुदृढीकरण गर्नेवारे जानकारी गराउने उदेश्यले अभिमुखिकरण गराइएको छ । गुलरिया नगरपालिका अन्तर्गत स्वास्थ शाखाको आयोजनामा भएको कार्यक्रम शाखा प्रमुख सुनिल पाण्डेले दादुरा रुबेलाको परिचय, औचित्य तथा यस्को महत्वका बारेमा जानकारी गराउनु भयो ।
खोप लगाउन छुट हुने समुदाय, वर्ग, स्थानको पहिचान गरी ती सबैलाई खोप प्रदान गर्ने, कार्यनीति अवलम्बन गर्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन, सल्लाह र सुझाव दिने, दादुरा–रुवेला खोप अभियान सफलतापूर्वक सञ्चालन गर्न गराउन स्थानीय तहको साधन स्रोत जुटाउन र परिचालन गर्नमा सरोकारवाला सवैसँग समन्वय गर्ने उद्देश्यले सन्चारकर्मी, विषयगत शाखाका प्रमुख लगायत अभिमुखिकरण गराइएको पाण्डेले बताउनु भयो । पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा बोल्दै पाण्डेले गुलरिया नगरपालिकाका १२ वटा वडामा ८५ वटा खोप केन्द्रबाट नगरपालिका भरिमा २३ हजार २ सय ३८ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको बताउनु भयो ।
यसैबिच पालिका भित्र पत्रकारसँग दादुरा रुवेला खोपको महत्ववारे जनचेतना अभिवृद्धि गर्नमा प्रचार प्रसार गर्ने, लक्षित उमेरका सबै वालवालिकाले अभियानमा खोप लिन लगाउन सहयोग गर्ने, दादुरा–रुवेला खोप अभियानवारे पत्र पत्रिका र अन्य माध्यमवाट प्रचार प्रसार गर्ने, खोप सम्बन्धी भ्रामक समाचारको खण्डन गरेर भ्रम निवारण गर्नमा सहयोग गरीदिने अपेक्षा गरिएको पाण्डेले बताउनु भयो । खोप अभियानमा सरिक हुन गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष एवम् गुलरिया नगरपालिकाका प्रवक्ता सुधांशु प्रकाश शर्माले वडाबासीमा अनुरोध गर्नु भएको छ । दादुरा–रुबेला रोगबाट १ जना संक्रमित व्यक्तिले १८ जना सम्मलाई संक्रमण गराउन सक्ने भएकाले समयमै खोप लगाई सबै अभिभावकलाई हातेमालो गर्न अनुरोध गर्नुभएको हो । गुलरिया नगरपालिका ६ नं. वडामा ९ महिना देखि ५ बर्षसम्म ३ सय ५१ जना, ५ बर्षदेखि १५ बर्ष मुनिका १३ सय जनालाई खोप दिने लक्ष्य लिईएको प्रष्ट्याउनु भयो । अभियान संचालन अवधिभर ६ नं. वडामा ६ खोप केन्द्र, ४ स्वास्थ्यकर्मी र विद्यालयबाट स्वयंसेवक परिचालन हुने जनाईएको छ ।
मधुवनमा अभिमुखिकरण
मधुवन नगरपालिकाले दादुरा रुबेला खोप अभियान सम्बन्धि नगर–स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरुका लागि एकदिने अभिमुखिकरण गरेको छ । मधुवन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका हलमा अभिमुखीकरण गरिएको हो । लक्षित उमेरका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाएर दादुरा रुबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरि ती रोगहरुबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्ने र पाँच बर्ष मुनिका बालबालिकाहरुको छुट तथा नियमित खोपको मात्रा लगाउन सहजीकरण गर्ने उदेश्यले खोप अभियान शुरू भएको छ । सन २०२६ सम्ममा दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारको प्रतिबद्धता छ । ०७९ मंसिर ०३ देखि २०८०, १५ पौषसम्म बर्दिया जिल्लामा ७२ जना संक्रमित भएका थिए ।
दादुरा महामारीमा संक्रमित ब्याक्तीहरु मध्ये ७४ प्रतिशत ९ महिनादेखी १५ बर्ष मुनिका बालबालिकाहरु रहेका छ्न । मधुवन नगरपालिका स्वास्थ्य शाखाले १३ हजार १ सय ८४ जना ९ महिनादेखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य शाखाका प्रमुख गिता घिमिरेले जानकारी दिनभयो । दादुरा रुबेला खोप अभियानमा ९ महिनादेखि ५ बर्ष मुनिका बालबालिकालाई डि.पि.टि.– हेप.वि.– हिव, पि.सी.भि. र आई.पि. भि. छुट नियमित सबै खोप लगाउने छ्न । अभिमुखिकरण गोष्ठीमा नगर स्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा मधुवन नगरपालिका नगरप्रमुख तेज बहादुर भाट, उप–प्रमुख अनिता चौधरी, मधुवन नगरपालिका वडा नं–४ का वडा अध्यक्ष बलिराम चौधरी, कार्यपालिका सदस्यहरु लगायत बुद्धिजीवीहरु उपस्थिति रहेको थियो । नगर स्तरीय खोप समन्वय समिति तथा मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले दादुरा रुबेला खोप अभियान राष्ट्रिय अभियान भएकाले मधुवनबासी, संचारकर्मी, शिक्षक बर्ग, स्वयमसेबीका, अभिभावक, राजनैतिक दलका नेतागण तथा बुद्धिजीवीलाई अभियान सफल गर्न आ–आफ्नो स्थानबाट सहयोग गर्न अपिलगर्दै कोहि बालबालिकाहरु दादुरा रुबेला खोप लाउनबाट नछुटाउन आग्रह गर्नुभयो ।
मधुवन नगरपालिका वडा नम्बर १ सुर्यपटुवा स्थित स्वास्थ्य चौकीको आयोजनामा दादुरा रुबेला सम्बन्धी एक दिवसिय अभिमुखिरण गरिएको छ । खोप अभियान अन्र्तगत वडामा जानकारी गराउन कार्यक्रम गरिएको हो । दादुरा रुबेला खोप अभियानमा मधुवन नगरपालिका वडा नं–१ सुर्यपटुवा स्वास्थ्य चौकीले १ हजार ३ सय १० जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको जनाएको छ । अभियानमा सहभागी भई सफल बनाउन सुर्यपटुवा स्वास्थ्य चौकीले सबैलाई अनुरोध गरेको छ । आफुलाई पायक पर्ने खोप केन्द्रमा खोप लगाउन सकिने स्वास्थ्य चौकीले जनाएको छ । फाल्गुन १३ गते विहान १०ः३० बजेदेखि ४ सम्म त्रिभुवन माध्यमिक विद्यालय, १४ गते सरस्वती आवासीय विद्यालय पथ्थरबोझी, १५ गते वि.पी. प्राथमिक विद्यालय कैलासी, १६ गते जनजागृती प्राथमिक विद्यालय सोमलपुर, १७ ठाकुरबाबा पब्लिक स्कुल कुसुम्मा, १८ गते छुटेका सम्पुर्ण बालबालिकाहरु शिव सदन पब्लिक स्कुल डल्लामा खोप लगाइने बताईएको छ ।
अभिमुखिकरण कार्यक्रममा मधुवन नगरपालिका वडा न ं१ का वडा अध्यक्ष मीन बहादुर थापा, वडा सदस्यहरु धनिराम थारु, रन्जु चौधरी र रामचरण चौधरी, सुर्यपटुवा स्वास्थ्य चौकीका प्रमुख पुर्ण बहादुर खत्री, स्वास्थ्यकर्मी संजिप परियार लगायत गाउँटोल बरघरहरु सहभागी थिए । वडा अध्यक्ष थापाले सम्पुर्ण वडाबासी अभिभावकहरुलाई महान दादुरा रुबेला बिरुद्धको खोप अभियान सफलताको लागि सहयोग गर्न अपिल गर्नुभएको छ ।
अभियानमा सरिक हुन राजापुर नगरप्रमुखको आग्रह
राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले दादुरा रुबेला खोप अभियानमा सक्रिय सहभागीता जनाउन सवैमा आग्रह गर्नुभएको छ । राजापुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सरोकारवालाहरु बिचको अन्र्तकृया कार्यक्रममा यस्तो बताउनु भएको हो । ९ महिनादेखी १५ बर्ष सम्मका सतप्रतिशत वालवालिकामा दादुरा रुवेलाको खोप लगाउन सरिक हुन अभिभावक, स्वास्थ्यकर्मी बरघर लगायत सवैमा प्रमुख थारुले अपिल गर्नुभयो । शाखा प्रमुख गणेश अर्यालले अभियानले सफलता पूर्वक सञ्चालन गर्न गराउन अभियानले मद्दत पुग्ने विस्वास ब्यक्त गर्नुभयो । स्थानीय तहको साधन स्रोत जुटाउन र परिचालन गर्नमा सरोकारवाला सवैसँग समन्वय गर्ने उद्देश्यले सन्चारकर्मी, विषयगत शाखाका प्रमुख लगायतलाई अभिमुखिकरण गराइएको अर्यालले बताउनु भयो । पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा बोल्दै अर्यालले राजापुर नगरपालिकाका १० वटा वडामा ४३ वटा खोप केन्द्रबाट नगरपालिका भरिमा १६ हजार बढी बालबालिकालाई खोप दिने लक्ष्य राखिएको बताउनु भयो ।
अभियान सफल पार्न बारबर्दियामा अभिमुखीकरण
दादुरा रुवेला खोप अभियान सफल बनाउनका लागि बारबर्दिया नगरपालिकाले नगरस्तरीय खोप समन्वय समिति तथा सरोकारवाला निकायहरुलाई अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी संचालन गरिएको छ । राष्ट्रिय खोप अभियानको बारेमा जानकारी तथा प्रचारप्रसारमा सहयोग पुग्ने उदेश्यले अभिमुखिकरण गरिएको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सन् २०२६ सम्ममा दादुरा र रुवेला रोग निर्वारण गर्ने लक्ष्य अनुसार अभियान संचालन गरिएको छ । अभियानका लागि बारबर्दियामा ५७ वटा खोप केन्द्रमा ४० जना स्वास्थ्यकर्मी र २ सय भन्दा बढि स्वयमसेवक परिचालन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले बारबर्दिया नगरपालिकामा दादुरा रुवेला खोप अभियान कार्यक्रमलाई सफल बनाउनका लागि नगरपालिकाका सम्पुर्ण संयन्त्र तथा सारोरकावालाहरुलाई सक्रिय तथा क्रियाशिल हुन अनुरोध गर्नु भएको छ ।
खोप अभियानको बारेमा जानकारी बस्ती बस्तीसम्म पुर्याउनु पर्ने बताउनु भएको छ । बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको गोष्ठीका अभियानको बारेमा जानकारी तथा स्वागतगर्दै स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले खोप लगाउन छुटहुन सक्ने समुदाय, वर्ग सम्म पुर्याउनका लागि कार्यनीति अविलम्बन गर्नु पर्ने बताउनु भएको छ । स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक टिकाराम वली खोप अभियानको आवश्यकता तथा औचित्य, दादुरा रुवेला खोप अभियानमा नियमित खोप सेवा सुदृढीकरण, अभियान सफलता पुर्वक संचालन गर्न गराउन स्थानीय तहको साधन स्रोत जुटाउन र परिचालन गर्नमा सरोकारवालाहरुलाई समन्वय र सहकार्य गर्ने बारेमा जानकारी गराउनु भएको छ । खोप अभियानका लागि विद्यालय, ईटाभट्टा तथा बालबालिका जम्मा हुने वा छुट हुन सक्ने स्थानमा खोप केन्द्र संचालन गर्न जानकारी गराउनु भएको छ । अभियानमा स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, स्वयमसेवक परिचालित हुने कार्यक्रम रहेको छ ।
२० °C काठमाडौं
Facebook Comments