• ३ वैशाख २०८३, बिहिवार
  • २५ °C काठमाडौं
बर्दियामा फागुन १३ गतेदेखि दादुरा–रुबेला विरुद्धको खोप अभियान 

विष्णु अधिकारी, ८ फागुन, बर्दिया । बर्दियामा फागुन १३ गतेदेखि दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान गरिँदै छ । नेपाल सरकारको कार्यक्रम अनुरुप स्वास्थ्य कार्यालय बर्दियाले खोप अभियान शुरु गर्न लागेको हो । 

दादुरा–रुबेला रोगबाट १ जना संक्रमित व्यक्तिले १८ जना सम्मलाई संक्रमण गराउन सक्ने भएकाले बर्दियामा खोप अभियान सुरु हुँदैछ । यो रोग लागेमा ज्वरो आउने, शरिरमा राता विमिरा देखा पर्नु, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो देखिने, रुघाखोकिको लक्षणहरु देखिने स्वास्थ्य कार्र्यालय बर्दियाका प्रमुख गोकर्ण गिरिले बताउनु भयो । बर्दियामा ९ महिना देखि १५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा–रुबेला बिरुद्धको खोप दिदैछौं । उहाँले भन्नुभयो, यो रोग भएका बालबालिकाहरुमा पखाला लाग्ने, कानमा संक्रमण हुने, निमोनिया हुने, अन्धोपन, कम्पन आउने, मस्तिष्कमा कडा खालको संक्रमण हुने भएकाले विरामीको मृत्यु समेत हुन सक्ने भएकाले आम नागरिकहरुलाई नजिकको खोपकेन्द्रमा गई आ–आफ्ना बालबालिकालाई खोप लगाउन उहाँको आग्रह छ । 

बर्दियामा ९ महिना देखि ५ बर्षसम्मका ३१ हजार ४ सय ४९ जना, ५ बर्षदेखि १५ बर्ष मुनिका ८७ हजार ७८ जनालाई खोप दिने लक्ष्य लिईएको छ । अभियान संचालन अवधिभर बर्दियामा ४ सय ८४ खोप केन्द्र, ९ सय ६८ जना स्वास्थ्यकर्मी र १४ सय ५२ जना स्वयंसेवक परिचालन हुने प्रमुख गिरीको भनाई छ । अभियान संचालन फागुन १३ गते देखि १८ गते सम्म र बाँसगढी नगरपालिका वडा नं. १ मा भौगोलिक कारणले फागुन २१ गतेदेखि २३ गते सम्म अभियान संचालन हुनेछ ।  स्वास्थ्य कार्यालयले दादुरा–रुबेला खोपको महत्वबारे जनचेतना अभिवृद्धि गराई लक्षित उमेर समुहका सबै बालबालिकालाई खोप लिन सबैलाई आग्रह गर्नका लागि विभिन्न अभियान संचालन गरिरहेको छ । 

बर्दिया जिल्ला समन्वय प्रमुख सूर्य बहादुर विष्टले पत्रकारहरुलाई मिडिया मार्फत ब्यापक सन्देश प्रवाह गरिदिन आग्रह गर्नु भएको छ । मिडिया मार्फत घरघरमा सचेत पार्न सफलता प्राप्त हुने उहाँको भनाई छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले दादुरा–रुबेला खोप लक्षित बर्गका बालबालिकालाई लगाउन खोप केन्द्र सम्म ल्याउनका लागि खोपको महत्वको बारेमा व्यापक प्रचार प्रसार गरि बालबालिकालाई खोप केन्द्र सम्म ल्याउन सबैको भुमिका महत्वपुर्ण रहने बताउनु भएको छ । अभियानलाई सफल बनाउन बर्दियाका सबै समुदायहरुलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नका लागि उहाँको अनुरोध छ ।  

सम्बन्धित समाचार

Facebook Comments