एकता दिवसलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्छ : पूर्व सिंचाईमन्त्री गौतम
गुलरिया, पुष २७ । पूर्व सिंचाई मन्त्री एवम् संघीय सांसद संजयकुमार गौतमले पृथ्वी जयन्ती तथा एकता दिवसलाई सरकारले राष्ट्रिय पर्वका रुपमा मान्यता दिनुपर्ने बताए । ३०२ औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समितिले बर्दिया गुलरियाको बाईपास रोड स्थित पृथ्वीचोकमा आयोजित समारोहलाई सम्बोधनगर्दै गौलमले एकता दिवसमा सरकारले बिदा मात्र नभई राष्ट्रिय पर्वको मनाउन संस्थागत निर्णय गर्न माग गरेका छन् ।
राज्यले सहिद दिवस लगायत राष्ट्रिय एकता दिवस मनाउन कन्जुस्याई गरी आत्मरतीमा रमाउनु गलत भएको उनको भनाई छ । पृथ्वी नारायण शाह कुनै ब्यक्ती, पार्टी, समूह, वर्ग जात विशेषको नभई सबै नेपालीको गौरव भएको बताउँदै सांसद गौतमले पृथ्वी नारायण शाहले देश एकीकरण नगरेको भए नेपाल र नेपाली नै नहुने स्मरण गराए । नेपालीहरुले पृथ्वी नारायण शाहलाई विर्सन थालेकोभन्दै दुःख ब्यक्त गरे ।
शालिक भत्काएर ठूलो कुरा गरेर ब्यवस्था र राजनितिक परिवर्तनका नाममा रोजेको बाटो गलत भएकोले सुधार्नु पर्नेमा जोडदिंदै लोकतन्त्रबादी, गणतन्त्रबादी, राजावादी विचार बोकेपनि पृथ्वी नारायण शाह राजावादीको पेवा नभएकोले गणतन्त्रबादीहरु पृथ्वी नारायण शाहको नाम लिन नडराउन अनुरोध गरे । शाहका उपदेश कालजयी रहेकाले सबैलाई पालना गर्न उनको अनुरोध छ । मूल समारोह समितिका संयोजक एवम अभियन्ता दिनेश प्रसाद श्रेष्ठले देशमा सबै शक्तिहरुको ऐक्यवद्धता आवस्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद धिताल अध्यक्ष यादव आचार्य गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । संयोजक दिनेश प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम देवकमल पौडेलले संचालन गर्नुभएको थियो ।
२० °C काठमाडौं
Facebook Comments