• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
भगवान शिवलाई चढाईने बेलपत्र र यसको बैज्ञानिकता

शुधांसु प्रकाश शर्मा, १८ साउन, बर्दिया । म सानो छँदा मेरो घरमा एक विशाल बेलको बोट थियो । टोल छिमेकका धेरै मानिसहरू मन्दिरमा बेलपत्र चढाउनका निम्ति, बेलपत्र टिप्न हाम्रो घरमा आउने गर्नुहुन्थ्यो । रुखको पात किन टिपेको होला भन्ने मलाई कौतुहलता लाग्थ्यो अनि म प्रश्न गर्थे । प्रायःजसो सबैले दिने उत्तर एउटै हुन्थ्यो । शिवजीलाई बेलपत्र अति नै प्रिय छ । त्यसैले बेलपत्र चढायो भने शिवजीको विशेष कृपा प्राप्त हुन्छू त्यसैले टिपेको ।

सबैले भनेको सुनेर मैले पनि धेरैपल्ट श्रद्धापूर्वक शिवालयमा बेलपत्र अर्पण गरेको छु । शिवालयमा अर्पण गर्दा बेलपत्र उल्टा अर्पण गर्नुहुन्न पाप लाग्छू भन्ने कुरा सुनेको थिए । त्यसैले कतै मैले चढाएको बेलपत्र उल्टा त परेन भन्ने विषयमा धेरै सचेतना अपनाएको अनुभव समेत मसँग छ । समयले कोल्टो फेर्दै गयो । म पनि एउटा सानो बालकबाट युवक बन्दै गएँ । किताबहरू पढ्न सिके । अनि बालक छँदा मेरो मनमा उम्रेको, शिवजीलाई बेलपत्र किन मनपर्छू ? भन्ने कौतुहल पूर्ण प्रश्नको उत्तर भेटाउनका निम्ति जिज्ञासा पूर्वक खोजी खोजी शिव शंकर का विषयमा लेखिएका लेखहरू पढ्न थाले । 

बाजपेयी भन्ने व्यापारी भारतबाट किताबहरू बेच्न आउँथे । हजुरबुवा उनीसँग किताब र पत्रिकाहरु किन्नु हुन्थ्यो । चकलेट किन्न नदिए पनि हजुर बुवाले, मलाई किताब चाहिँ जति पनि किन्न दिनुहुन्थ्यो । मेरो परिवार राजनीतिक परिवार थियो । गुलरियामा मेरो हजुर वुवालाई सबैले शर्माजी भनेर चिन्ने गर्थे । धेरै मानिसहरू हजुरबुवा, बुवालाई भेट्न आउँथे । त्यसै क्रममा दुई चार जना धार्मिक व्यक्तित्वहरूसँग पनि मलाई संगत गर्ने मौका जुर्यो । जाने बुझेका मानिसहरूले बेलपत्र सम्बन्धी मेरो जिज्ञासा र कौतुहल मेटाउनका निम्ति विभिन्न किसिमले विश्लेषण समेत गर्नुहुन्थ्यो । त्यसै क्रममा शिवालयमा बेलपत्र चढाउनुको वैज्ञानिक कारणका बारेमा बुझ्ने मौका पर्यो । पछि पनि धेरै छलफलहरू गरियो । मैले बुझेका पढेका कुराहरू कतिका यथार्थ हुन् त्यो त म भन्न सक्दिन । तर मैले बुझे अनुसार, 

बेलपत्र सम्बन्धी धार्मिक मान्यता र विज्ञान 

तीन पात भएको बेलपत्रलाई धार्मिक रूपमा ब्रह्मा, विष्णु र महेश को स्वरूप मानिन्छ भने वैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने, तीन पातहरू ले मानव शरीरमा रहेका त्रिदोष (बात, पित्त र वायु) को प्रतिनिधित्व गर्दछन् ।

यसले वायुमण्डललाई शुद्धता प्रदान गर्दछ 

बेलपत्रको पातमा एसेन्सियल नामक, प्राकृतिक तेल पाइन्छ, एसेन्सियल तेलको सुगन्धले बेलको बोट आसपासको वातावरणमा रहेका प्याथोजेनिक (आँखाले देख्न नसक्ने जीवाणु हरू) जस्तै ब्याक्टेरिया र भाईरसलाई नष्ट तथा न्यूनीकरण गर्न सक्ने क्षमता राख्दछ । सनातन धर्मका  अनुयायी हाम्रा पुर्खाहरूले शिवालयमा बेलपत्र चढाउँदा शिवालय वरिपरिको वातावरणमा बेलपत्रको प्राकृतिक सुगन्धका कारणले वातावरणीय शुद्धताको विकास हुन्छ, जसका कारणले शिवालयमा सकारात्मक ऊर्जाको सञ्चार हुन्छ भन्ने कुरा हजारौं वर्ष अगाडि नै पत्ता लगाइसकेका रहेछने । त्यसैले त विज्ञानलाई धर्मसँग जोड्दै शिवालयमा बेलपत्र चढाउने परम्पराको विकास गरेका रहेछन् ।

बेलपत्रमा ऊर्जा क्षेत्रलाई सन्तुलित बनाउन सक्ने क्षमता पाइन्छ 

शिवालयको वरिपरिको वातावरणमा बेलपत्र चढाउँदा विशेष किसिमको वायो ईनरजेटिक फिल्ड जसलाई नेपालीमा जीव ऊर्जा क्षेत्र भनिन्छ (मानव शरीरको वरिपरि तयार हुने ऊर्जा क्षेत्र) तैयार हुन्छ । त्यस  स्थानमा बस्दा वा ध्यान गर्दा मानिसलाई आत्मिक सन्तोष, मानसिक शान्ति र एक प्रकारको आध्यात्मिक ऊर्जा प्राप्त हुन्छ । जीव ऊर्जा भएको ठाउँमा बस्दा, हाम्रो दिमागले उत्पन्न गर्ने तरङ्गहरु र दिमागले प्राप्त गर्ने तरङ्गहरु विशेष गरी अल्फा वेभ सक्रिय बन्दछन्, जसको प्रभावले हामीभित्र रहेको सोच्ने क्षमतामा वृद्धि गर्दछ, स्मरणशक्ति बढाउन र विभिन्न विषयहरूमा हाम्रो ध्यान केन्द्रित गर्न सहयोग र्पुयाउँछ ।

ग्राउन्डी∙ अथवा पृथ्वीको गुरुत्वाकर्षण ऊर्जा ग्रहण गर्ने प्रकृया 

साउन सनातन धर्मका अनुसार अत्यन्तै पवित्र महिना मानिन्छ । साउन महिनाको अवधिमा श्रद्धालुहरू खाली खुट्टा शिवालयहरूमा (शिव मन्दिर) जाने, बेलपत्र अर्पण गर्ने र शिवलिंगमा जल चढाउँने परम्परा आदिकाल देखि नै रहेको पाइन्छ । हामी सबैले देखेका छौं, शिवालयहरू, श्री विष्णुका भव्य मन्दिरहरू भन्दा पृथक सधैं माटोको सतहमा वा प्राकृतिक स्थानहरूमा बनाइन्छ, जहाँ खाली खुट्टाले हिँड्दा मानिसको शरीर सिधै पृथ्वीको सतह सँग जोडिन्छ । धार्मिक प्रक्रियालाई अनुसरणगर्दै श्रद्धालु हरू, शिवलिंगमा जल अर्पण गर्छन जसका कारणले शिवालयको आँगनमा अक्सर ओसिलो वा चिसो माटो रहन्छ । जल विद्युतीय चालक (ईलेक्ट्रिकल कन्डक्टर) हो । जसले पृथ्वीको ऊर्जा शरीरमा अझ छिटो र प्रभावकारी रूपमा प्रवाह गराउँछ । 

जब श्रद्धालु शिवालयमा खाली खुट्टा जल युक्त माटोमा हिँड्छन्, त्यतिबेला ग्राउण्डी∙  (पृथ्वीको गुरुत्वाकर्षण ऊर्जा) को प्रभाव अधिक गहिरो र शुद्ध बन्न पुग्छ । शिवालय प्रायः शान्त, हरियाली युक्त, र कम प्रदूषण युक्त स्थान हरूमा स्थापित गरिएका हुन्छन् । यस्तो वातावरणमा पृथ्वीको गुरुत्वाकर्षण ऊर्जाको मानव शरीरमा पर्ने प्रभाव अझ बलियो हुन पुग्छ । यस प्रक्रियाले शरीरमा रहेका फ्रि रेडीकल्स (मानव शरीरमा बन्न सक्ने एक वा एक भन्दा बढी असन्तुलित अणुहरू), यस्ता अणुहरू मानव शरीरमा धेरै भएको अवस्थामा, बुढ्यौली छिटो हुने, शरीरका अङ्गहरूमा क्यान्सरजन्य दीर्घ रोग लाग्ने हुनसक्छ ।

साउनको शुद्धता, वर्षा ऋतुको ओसिलो वातावरण, प्राकृतिक ध्वनि (घण्टी, मन्त्र), र जलको प्रवाहले शरीरलाई ‘रिसेट’ गर्ने काम गर्छ । पृथ्वीमा खाली खुट्टा हिँड्दा पृथ्वीबाट प्राप्त हुने गुरुत्वआर्कषणीय ऊर्जाका कारणले मानव शरीरमा विकास हुने कोर्टिसोल (स्ट्रेस) हर्मोनको मात्रा समेत कम हुन पुग्दछ, फलस्वरूप निद्रामा सुधार, रक्तसञ्चारलाई सन्तुलित बनाउनुका साथै शरीरको सूजन समेत कम गर्न सहयोग र्पुयाउँदछ । सबैभन्दा मुख्य कुरा शिवालयमा जल अर्पण गर्ने प्रक्रियाले मानव मस्तिष्कमा शान्ति र एकाग्रताको विकास गर्नमा प्रमुख भूमिका निर्वाह गर्दछ ।

मानव शरीरको तन्त्रिका प्रणालीमा बेलपत्रको प्रभाव 

बेलपत्रको सुगन्धले हाम्रो शरीरका नशाहरूको प्रणालीमा सकारात्मक असर पार्दछ । यसको गन्धले सेरोटोनिन (खुसी र मानसिक सन्तुलन कायम राख्ने रसायन) र डोपामाईन (सुखको अनुभूति गराउने र ध्यान केन्द्रित गराउने रसायन) जस्ता न्यूरोट्रान्समिटर (यस्ता रसायनहरु जसले तन्त्रिकाहरु बीचमा सन्देश आदानप्रदानमा सहयोग र्पुयाउँछन्) लाई सक्रिय बनाउँछ, जसले तनाव घटाउने, मन शान्त पार्ने, र ध्यान केन्द्रित गर्न मद्दत र्पुयाउँछन् । शिवालयमा बेलपत्रको सुगन्ध रहँदा पूजाको बेलामा ध्यान लगाउन सजिलो हुन्छ ।

त्रिको संगम र वैज्ञानिकतामा आधारित बहस 

हिन्दू संस्कृति र परम्परामा बेलपत्रलाई अत्यन्त पवित्र मानिन्छ । विशेषतः भगवान शिवको आराधनामा यसको प्रयोग अनिवार्य जस्तै छ । सायद अरू कुनै पनि पातले यति धेरै धार्मिक, आध्यात्मिक र वैज्ञानिक महत्व बोकेका छैनन् जति बेलपत्रले बोकेको छ । यसको विशिष्ट रचना र एउटै डाँठमा भएका तीन पात, केवल सौन्दर्य वा वनस्पतिक विशेषता मात्र नभएर गहिरो धार्मिक प्रतीक र वैज्ञानिक उपादेयता समेटिएको अद्भुत प्राकृतिक देन हो । आजको वैज्ञानिक युग, जहाँ आज पनि हामी मानव शरीर, मानव मानसिकता र मानव शरीर माथि पर्ने वातावरणीय प्रभावहरूलाई बुझ्ने प्रयास गर्दैछौं ।

हाम्रा पुर्खाहरूले बेल जस्तो सरल, सहनशील बिरुवाको पात मार्फत हामीलाई सन्तुलित जीवन र सरल चिन्तनको बाटो देखाउने प्रयास गरेको अनुभूति हुन्छ । बेलपत्रको तीनवटा पातले हिन्दू धर्मको गहिरो त्रैगुणिक चिन्तन, देवतात्मक एकता र समयबोधको प्रतिनिधित्व गर्छ । बेलपत्र केवल एक वनस्पति होइन, यो एक जीवित दर्शन हो, जसले धर्म र विज्ञान, शरीर र आत्मा, प्रकृति र चेतना बीचको गहिरो सम्बन्ध देखाउँछ । त्यसैले जब हामी साउन महिनामा बेलपत्र शिवलिंगमा अर्पण गर्छौं, त्यो केवल परम्परा होइन, एक सम्पूर्ण जीवनको चेतनात्मक अर्पण हो ।

तीन पातहरूले क्रमशः ब्रह्मा (सृष्टिकर्ता), विष्णु (पालक), र महेश्वर (संहारक) को स्वरूपलाई जनाउँछन् । शिवलाई अर्पण गर्दा यो त्रिदेवको समर्पण स्वरूप मानिन्छ । बेलपत्रले प्रकृतिका तीन गुणहरू सत्व (शुद्धता), रज (क्रियाशीलता) र तम (अज्ञानता)  को सन्तुलन दर्शाउँछ । भगवान शिवलाई त्रिगुणातीत मानिन्छ, जसले यी सबैलाई नियन्त्रणमा राख्न सक्ने शक्ति राख्छन् । बेलपत्रका तीन पातहरू भगवान शिवका त्रिनेत्रहरु का प्रतीक हुन्, जसले भूत, भविष्य, र वर्तमान हेर्न सक्छन् । यस्तै किसिमले बेलपत्रले त्रिशूलको पनि रूप प्रस्तुत गर्छ, जसले अनर्थ, अज्ञान, र अहंकारको विनाश गर्छ ।

बेलपत्रका तीन पातहरू भूतकाल, वर्तमान, र भविष्य का संकेत हुन् । शिव ‘महाकाल’ हुन्, शिव जो ॐ बाट सुरु हुन्छन् र ॐ मै बिलिन हुन्छन्, उनको अस्तित्व समयभन्दा पर छ । बेलपत्र अर्पण गरेर हामी समयको वशमा नरहन र आत्मज्ञान प्राप्तिका निम्ति शिवसँग प्रार्थना गर्छौं । वैज्ञानिक दृष्टिले त्रिदोष सन्तुलन जसलाई मानव शरीरमा रहेको (बात, पित्त र वायु) को प्रतीक मानिन्छ । यसले शरीरमा तौल, तातोपना, र चञ्चलता सन्तुलनमा राख्न सहयोग र्पुयाउँछ । राम्ररी बुझ्ने हो भने यदि शरीरमा त्रिदोष सन्तुलनमा रहेको खण्डमा मानिसको शरीरमा रहेको रगत न्युट्रल रहन्छ । (एज भेलु नर्मल बनाउँछ र रगतमा एसिडिक पना हट्छ) यस्तो अवस्थामा रोग लाग्दैन । त्यसैले बेलपत्रको अर्पण गर्नाले केवल आध्यात्मिक शुद्धि मात्र प्राप्त हुने होइन । हाम्रो शरीर जसमा शिव वास गर्दछन, त्यस शरीरको उपचार पनि हुने गर्दछ ।

बेलपत्रका तीन पातहरू केवल धार्मिक रूपक नभई, वनस्पति विज्ञान अनुसार अत्यन्तै उपयोगी जैविक संरचना हुन् । यी पातहरू ले ऊर्जा, पाचक स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्छन् । प्राकृतिक वातावरणमा टिक्न, ऊर्जा उत्पादन गर्न र पानी जोगाउन ट्रिफोलियट पात संरचना एक प्राकृतिक बुद्धिमत्ता (वायोलोजिकल ईन्टेलिजेन्ट) हो । बेलपत्र केवल एक वनस्पति होइन, यो एक जीवित दर्शन हो, जसले धर्म र विज्ञान, शरीर र आत्मा, प्रकृति र चेतना बीचको गहिरो सम्बन्ध देखाउँछ । त्यसैले जब हामी साउन महिनामा बेलपत्र शिवलिंगमा अर्पण गर्छौं, त्यो केवल परम्परा होइन, एक सम्पूर्ण जीवनको चेतनात्मक अर्पण हो ।

बेलपत्रमा पाइने तत्वहरू जस्तै फाईटो केमिकल्स (वनस्पतिहरूमा पाइने रसायन), अल्काल्वाईड्स (दुखाई कम गर्ने र स्फूर्ति दिने), टेन्निस (जीवाणु नाश गर्ने, पाचनमा सुधार गर्ने र मुख सुकाउने) लेभोन्वाईड्स (एन्टीअक्सिडेन्ट र रोग प्रतिरोधक) ले शरीरमा एन्टी ईनफ्लेममेटरी (शरीरमा सुन्निएका अङ्गहरूलाई घटाउने), एन्टीअक्सिडेन्ट (कोशिकाहरूलाई सुरक्षा प्रदान गर्ने) र हाईपोग्लेसेमिक (रगतमा भएको चिनीको मात्रा घटाउने) किसिमको प्रभाव दिन्छन् । यसले पेटको समस्या, मधुमेह, र रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।

हामीले बेलपत्र केवल पूजामा प्रयोग हुने साधन मात्र भनेर बुझ्यौँ भने त्यो अधुरो ज्ञान हुनेछ । बेलपत्र त एक प्राकृतिक औषधि हो । बेलपत्रले हाम्रो आसपासको हावालाई शुद्धता प्रदान गर्दछ, हाम्रो आसपासको ऊर्जा क्षेत्रलाई सकारात्मकता प्रदानगर्दै, हामीलाई आध्यात्मिक यात्रामा अघि बढ्न थप सहयोग प्रदान गर्दछ । यसैले दिगम्बर महाप्रभु शिवलाई बेलपत्र चढाउनु केवल धार्मिक कर्तव्य मात्र नभएर, सनातन धर्म भित्र लुकेको वैज्ञानिकता समेत हो । हाम्रा पुर्खाहरूले यस्ता अभ्यासहरूलाई गहिरो श्रद्धा र नियमका साथ किन पालना गरेका रहेछन् भन्ने कुरा हामीहरुले त्यस दिन मात्र बुझ्न सक्छौ जब हामीले हाम्रो परम्पराहरुलाई वैज्ञानिकता सँग जोड्ने जमर्को गर्नेछौं ।

(शर्मा गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष एवम् गुलरिया नगरपालिकाका नगरप्रवक्ता हुनुहुन्छ ।)

सम्बन्धित समाचार

Facebook Comments