संविधानले महिलालाई अधिकार दिएपनि सरकारले स्विकार्न सकेन : सांसद सोडारी
विन्दु चौधरी, १३ बैशाख, बर्दिया । लुम्बिनी प्रदेश सांसद मालती सोडारीले राज्य र संविधानले महिलालाई अधिकार दिएको भएपनि, राज्य संचालकहरूले त्यो अधिकारलाई पूर्ण रूपमा स्वीकार्न नसकेकोे बताउनुभएको छ । नेपाल पत्रकार महासंघ बर्दियाको समन्वय र शान्ति पुनस्थापना गृह शाखा कार्यालय बर्दियाको आयोजनामा गुलरियामा ’पत्रकारितामा लैंगिक संवेदनशीलता विषयक अनुशिक्षण कार्यक्रम’ मा बोल्दै सांसद सोडारीले आफैँले पहल गरेका विकास निर्माण योजनाहरूमा पनि जानकारी नदिइनेभन्दै दुःख व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रदेश कार्यालयका प्रमुखहरूले समेत महिलालाई दोस्रो दर्जामा हेर्ने प्रवृत्ति कायमै छ, जसले हाम्रो अस्तित्व स्वीकार्न अझै पनि असहज बनाएको छ । कार्यक्रममा सांसद सोडारीले महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि विशेष पहल गरिरहेकाले आगामी आर्थिक वर्षको नीति तथा बजेट निर्माणमा पत्रकारिता क्षेत्रलाई पनि समेट्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकारितामा लैंगिक संवेदनशीलताको महत्वबारे अनुशिक्षण दिनुहुँदै, पत्रकारहरूले समाचार लेखन र प्रस्तुतिमा लैंगिक दृष्टिकोणको ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । पत्रकारितामा लैंगिक समावेशीतालाई व्यवहारमा उतार्न सके मात्र समावेशी समाजको निर्माण सम्भव हुने बताउनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले पत्रकार आचारसंहिता र समाचार लेखनमा लैंगिक संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रम हाम्रो आह्वान मानव बेचविखन विरुद्धको अभियान’, महिला नेतृत्व, बाल विवाह र बेचविखन विरुद्धको सचेतना कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो । लुम्बिनी प्रदेश सरकार, शिक्षा तथा सामाजिक विकास मन्त्रालय, सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्ज बाँकेको आर्थिक सहयोगमा बर्दियाको गलरियामा कार्यक्रम सम्पन्न भएको हो ।
२० °C काठमाडौं
Facebook Comments