• ३ वैशाख २०८३, बिहिवार
  • १६ °C काठमाडौं
बढैयातालमा आयोजित पालिका स्तरीय अध्यक्ष कप फुटबलको उपाधी बारबर्दियाले चुम्यो

दलबहादुर सुनार, २० चैत्र, बढैयाताल -बर्दिया) । सातौँ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता ०८२ को उपाधि बारबर्दिया नगरपालिकाले जितेको छ । बढैयाताल गाउँपालिका वडा नम्बर ८, नयाँ बस्तीस्थित मयुर युवा क्लबको मैदानमा सम्पन्न फाइनल खेलमा ठाकुरबाबा नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै बारबर्दिया नगरपालिका विजेता बनेको हो ।

बारबर्दियाले पहिलो हाफमै १–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा थप तीन गोलगर्दै उसले सहज जित हासिल गरेको हो । गत संस्करणको विजेता ठाकुरबाबा नगरपालिका यस वर्ष उपविजेतामै सीमित भएको छ । सेमिफाइनलमा बलियो टोली मधुबन नगरपालिकालाई पराजित गरेको ठाकुरबाबाले फाइनलमा अपेक्षित प्रदर्शन गर्न नसकेको दर्शकहरूको भनाइ छ ।

चैत ११ गतेदेखि सुरु भएको प्रतियोगिताको सेमिफाइनलमा ठाकुरबाबाले मधुबनलाई तथा बारबर्दियाले बढैयाताललाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । मयुर युवा क्लब, बढैयाताल–८ का अध्यक्ष ईश्वरबहादुर राना मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा विजेता तथा उपविजेतालाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका सदस्य विवेश गुरुङले जानकारी दिनुभयो ।

प्रथम स्थान हासिल गर्ने बारबर्दिया नगरपालिकाले रु. १ लाख १ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता ठाकुरबाबा नगरपालिकाले रु. ६० हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद रु. १ हजार प्रदान गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पनि नगदसहित मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।

जिल्लाका आठवटा पालिकाको सहभागिता रहेको प्रतियोगितामा मुख्य रेफ्री देवनारायण दाहालले उद्घाटनदेखि समापनसम्म खेल सञ्चालन गर्नुभएको थियो । बढैयाताल गाउँपालिका तथा वडा नं. ८ कार्यालयको संरक्षकत्वमा मयुर युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेल दर्शकहरूको उल्लेखनीय उपस्थितिका कारण थप रोमाञ्चक बनेको थियो ।

प्रतियोगिताका मुख्य प्रायोजक बढैयाताल ३ सिमारा हाल वैदेशिक  रोजगारमा रहनु भएका प्रकाश कोइराला र बर्दिया एकेडेमी बढैयाताल–८  रहेका थिए । सहप्रायोजकमा मयुर युवा  क्लबका पुर्व  खेलाडी,  गोरखकाली राइस मिल ब्यानर प्रायोजक लगायत आर्थिक तथा भौतिक सहयोग स्थानीय स्तरका  विभिन्न स्थानीय संघ–संस्था, उद्योगी, व्यापारी, विद्यालय, सामुदायिक वन, पूर्व खेलाडी र खेलप्रेमीहरू देखी  जिल्ला  स्तरका सहयोगी मन भएका उद्योगि व्यावसायि हरुले सहयोग गरेको क्लबका कोषाध्यक्ष शमशेर मल्ल -शैलेन्द्र) ले जानकारी दिनुभयो ।

प्रतियोगिता सफल बनाउन सहयोग पु¥याउने विभिन्न क्षेत्रका सहयोगदाता तथा खेलप्रेमीहरूलाई प्रशंसा–पत्रद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ । दर्शकहरूलाई अन्तिमसम्म आकर्षित गर्न क्लबले साइकल चिट्टा उपहारसहित विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरेको थियो । फाइनल खेलमा बारबर्दिया नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, बढैयाताल गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, पत्रकार, सहयोगदाता तथा स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Facebook Comments