• १८ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
स्वर्गीय कृष्णप्रसाद बस्याल (राकेश) स्मृति स्कुल कप क्रिकेट प्रतियोगिता शुरु

चुरेकुञ्ज, मंसिर २१, बर्दिया । स्वर्गीय कृष्णप्रसाद बस्याल (राकेश) स्मृति स्कुल कप क्रिकेट प्रतियोगिता आईतबार देखि शुरु भएको छ । जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा गुलरिया स्थित कभर्ड हल खेल मैदानमा प्रतियोगिता शुरु भएको छ ।

बर्दिया स्कुल कप क्रिकेट २०८२ प्रतियोगिताको उद्घाटन खेलमा सनराइज बोर्डिङ स्कुल गुलरिया विजय भएको छ । जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा आइतबार भएको उद्घाटन खेलमा सनराइज स्कुल गुलरियाले जनज्योति बोर्डिङ स्कुल गुलरियालाई ४१ रनले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको सनराइज बोर्डिङ स्कुल गुलरियाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ६० रन बनाउन सफल भएको थियो । 

सनराइज बोर्डिङ स्कुलका लागि आयुष यादवले २१ बलमा २८ रन बनाएका थिए भने सम्राट बिष्टले ४२ बलमा २८ बनाएका थिए भने सक्षम बुढाथोकीले १२ बलमा १० रन बनाएका थिए । बलिङतर्फ जनज्योति बोर्डिङका हार्दिक कडेलले ४ ओभर बलिङ गरेर २३ रन दिएर दुई विकेट लिए भने प्रज्वलले चार ओभर बलिङ गरेर नौ रन दिइ दुई विकेट लिएका थिए । दोस्रो इनिङमा १ सय ६१ रनको लक्ष्य लिएर आएको जनज्योति बोर्डिङ स्कुलले निर्धारित २० ओभरमा १ सय १९ रन मात्र बनाउन सफल भयो । 

जनज्योतिको लागि ब्याटिङतर्फ सजल विकले ३४ बलमा २७ रन विवेक यादवले १५ बलमा १८ रन र आलोक यादवले १५ बलमा १७ रन बनाए । जनज्योति स्कुललाई १ सय १९ रनमा रोक्ने क्रममा सनराइज बोर्डिङ स्कुलका निश्चल चौधरीले चार ओभरमा बाइस रन दिएर २ विकेट लिएका थिए भने विपिन चौधरीले १२ रन दिएर एक विकेट लिएका थिए । साथै भूपेन्द्र थापाले दुई रन दिएर एक विकेट लिन सफल भएका थिए । सनराइजका तर्फबाट आकर्षण ४१ रन बनाएका आयुष यादव म्यान अफ दि म्याच घोषित भए । गेम चेन्ज अफ द म्याच सिमोन परियार भए । 

जिल्ला क्रिकेट संघ बर्दियाका पूर्व अध्यक्ष स्वर्गीय कृष्णप्रसाद बस्याल राकेशको स्मृतिमा स्कुल कप २०८२ क्रिकेट प्रतियोगिता आईतबार मंसिर २१ गते देखि सुरु भएको हो । जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा प्रतियोगिता मङ्सिर २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा बर्दिया जिल्ला भरिका १० वटा विद्यालयहरूले सहभागिता रहेको स्वर्गीय कृष्ण कृष्णप्रसाद बस्याल कप क्रिकेट प्रतियोगिता आयोजक समितिका संयोजक सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।

उद्घाटन खेलमा जिल्ला क्रिकेट संघका संस्थापक अध्यक्ष युवराज श्रेष्ठ, गुलरिया नगरपालिका वार्ड नम्बर ४ का वडाध्यक्ष सुरेश गौतम, गुलरिया नगरपालिका वार्ड नं ५ का वडाध्यक्ष राजेन्द्र मल्ल गुलरिया नगरपालिका वार्ड नं ११ का वडाध्यक्ष विष्णु यादव साथै स्वर्गीय राकेश बस्यालकी श्रीमती निर्मला अधिकारी बस्याल लगायत बर्दिया क्रिकेटका पूर्व खेलाडीहरूको उपस्थिति रहेको थियो । मङ्सिर २२ गतेको खेल जनता मावि बारबर्दिया र नेपाल राष्ट्रिय मावि बाँसगढी बिहान ९ बजे हुनेछ भने दोस्रो खेल शम्भुशरण मावि र महाकवि मावि बिच दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । 

सम्बन्धित समाचार

Facebook Comments