अपांगता पहिचान शिविरबाट ७२ बालबालिका लाभान्वित
दलबहादुर सुनार, २२ कार्तिक, बढैयाताल (बर्दिया) । बर्दियाको गुलरियामा सम्पन्न अपांगता पहिचान तथा पुनस्र्थापना घुम्ती शिविरबाट ७२ जना बालबालिका लाभान्वित भएका छन् । अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रको आयोजना र स्थानीय बर्दिया अपांग पुनस्र्थापना केन्द्रको समन्वयमा बिहीबार सम्पन्न शिविरमा बालबालिकाले स्वास्थ्य परीक्षणसहित पुनस्र्थापन सम्बन्धी विविध सेवावाट लाभान्वित भएका छन् ।
अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपा, लुम्बिनी प्रादेशिक पुनस्र्थापना केन्द्र कोहलपुर (बाँके) र गुलरिया नगरपालिकाको सहआयोजनामा गुलरिया नगरपालिका वडा नम्बर ६ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सम्पन्न भएको थियो । एक दिने शिविरमा ५४ बालक र १८ बालिका गरी कुल ७२ जना बालबालिकाले स्वास्थ्य परीक्षण गराए । पुनस्र्थापना केन्द्र कोहलपुरका अनुसार, शिविरमा ४४ बालक र १४ बालिका गरी ५८ जनाको अनुगमन (फलोअप) गरिएको थियो ।
८ बालक र ४ बालिका गरी १२ जना नयाँ अपांगता पहिचान भएका छन् । साथै, २ जना युवाको पनि स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा सहभागीमध्ये ३६ बालक र ११ बालिका गरी ४७ जनाले फिजियोथेरापी सेवा लिएका छन् । त्यस्तै, १४ बालक र ३ बालिका गरी १७ जनाको अर्थोपेडिक सहायक सामग्री नापजाँच गरिएको छ ।१ जनालाई वाकर र ३ जना बालकलाई विशेष जुत्ता प्रदान गरिएको छ ।
सिबिएम नेपालको साझेदारीमा सञ्चालित शिविरमा डाक्टर निरञ्जन थापा सहित फिजियोथेरापिष्ट, फर्मासिस्ट, कृतिम अंग तथा सहायक सामग्री प्राविधिक र परामर्शदाता टोलीले सेवा प्रदान गरेका थिए । लुम्बिनी प्रादेशिक पुनस्र्थापना केन्द्र, कोहलपुर बाँकेका प्रशासन तथा लेखा सहायक मिनबहादुर चन्दका अनुसार, शिविर एकै ठाउँबाट बहुआयामिक पुनस्र्थापना सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको हो ।
१८ °C काठमाडौं
Facebook Comments