• २ पुष २०८२, बुधवार
  • १६ °C काठमाडौं
लुम्बिनी प्रदेश स्तरीय मूल्याङकनमा बर्दिया अस्पताल प्रथम

केशव कोईराला, २२ कार्तिक, बर्दिया । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०८१/०८२ को प्रदेश स्तरीय मूल्याङकनमा बर्दिया अस्पतालले पहिलो स्थान हासिल गर्न सफल भएको छ । स्वास्थ्य कार्यक्रमहरूको सफल कार्यान्वयन र विभिन्न सूचकहरूको आधारमा गरिएको मूल्याङकनमा अस्पतालले उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशका १२ अस्पतालहरूलाई पछि पारेको छ । 

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु र प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठले संयुक्त रूपमा अस्पतालका प्रमुख डाक्टर सुवास पाण्डेयलाई प्रमाणपत्र प्रदान गर्नुभयो । डा. पाण्डेयले बर्दिया अस्पतालको निरन्तर उत्कृष्टताका पछाडि टिमवर्क, पारदर्शिता र सेवाप्रति प्रतिबद्धता मुख्य कारण रहेको बताउनुभयो । उहाँले अनेक समस्याका बाबजुद पनि अस्पतालले पुनः पहिलो स्थान हासिल गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीलाई धन्यवाद दिनुभयो ।

गत आर्थिक वर्ष ०८०/०८१ मा समेत बर्दिया अस्पतालले प्रदेशभरका १३ वटा जिल्ला अस्पतालहरूमध्ये पहिलो स्थान प्राप्त गरेको थियो । यस वर्ष बर्दिया अस्पतालले ७० दशमलव २४ प्रतिशत अंकका साथ पहिलो स्थान हासिल गर्दा, अर्घाखाँची अस्पतालले ६९ दशमलव ७४ प्रतिशत अंकका साथ दोस्रो र लुम्बिनी प्रादेशिक अस्पतालले ६८ दशमलव ७४ प्रतिशत अंकका साथ तेस्रो स्थान प्राप्त गरेका छन् ।

मूल्याङकनमा १२ वटा प्रमुख सूचकहरु तय गरिएको थियो । ती सूचकहरूमा अस्पताल सेवाको गुणस्तर, पारदर्शिता, वित्तीय प्रगति, प्रतिवेदन प्रणालीको कार्यक्षमता, कार्यक्रम कार्यान्वयनको प्रभावकारिता लगायतका पक्षहरू समावेश थिए । बर्दिया अस्पतालको यो निरन्तर सफलता प्रदेशस्तरमै मात्र होइन, देशभरका सार्वजनिक अस्पतालहरूका लागि पनि उदाहरणीय उपलब्धि मानिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments