बर्दियाका किसानका पिता स्वर्गिय राधाकृष्ण थारु
राजेन्द्रप्रसाद धिताल, गुलरिया (बर्दिया) । मानव अधिकार तथा सामाजिक न्यायको प्राप्तिका दृष्टिले अन्तर्राष्ट्रिय स्तरमै आजको दिनले विशेष महत्व राख्दछ । आज अर्थात १० डिसेम्बर संयुक्त राष्ट्र संघको महासभाद्वारा मानव अधिकारको विश्वव्यापी घोषणा पत्र पास गरी पारित गरिएको दिन । दुनियाँका मानव जातिका लागि यो एक महत्वपूर्ण उत्सवको दिन हो ।
संसारभरि जुनसुकै देशको जुनसुकै ठाउँमा बसोबास गर्ने जनसुकै जाति, वर्ण, लिङ्ग, भाषा, धर्म, राजनैतिक वा अन्य मत, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति वा अरु कुनै कुराको आधारमा कसैले कसैलाई भेदभाव नगरी व्यवहार गर्नुपर्ने मानव मात्रका जन्मजात अधिकारहरु छन् । त्यस्ता अधिकारहरु मानव अधिकारको विश्वव्यापी घोषणा पत्रमा सूचीकृत गरि जारी गरिएका छन् । नेपाल यो घोषणा पत्रप्रति प्रतिवद्ध पक्ष राष्ट्र हो, त्यसैले घोषणा पत्रमा उल्ल्खित अधिकारहरु नेपाली नागरिकहरुलाई प्रत्याभूत गराउनु नेपाल राष्ट्रको कर्तव्य हो भने राज्यबाट आधार भूत अधिकारको दावी गर्नु र पाउनु नेपाली नागरिकको अधिकार हो ।
अधिकार प्राप्तिको लडाइँ अविच्चिन्न जारी रहने एक निरन्तरको प्रक्रिया हो । नेपालमा लोकतन्त्र र मानव अधिकारका लागि ठूल्ठूला संघर्षहरु भएका छन् । संघर्षकै परिणामस्वरूप नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । नागरिकका अधिकारका आवाजहरु मुखर हुदै आइरहेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा धेरै महत्वपूर्ण व्यक्तिहरुको योगदान र वलिदान रहेको छ । लोकतान्त्रिक आन्दोलनमा आफूलाई सम्पूर्ण रुपमा समर्पित गर्ने योद्धाहरुमा एक अविस्मरणीय योद्धा स्वर्गीय जननेता राधाकृष्ण थारुको नाम अग्रपंक्तिमा आउछ । बर्दियामा राणा शासन विरुद्ध संघर्षको संखघोष गर्ने अग्रणी राजनैतिक तथा सामाजिक आन्दोलनका प्रणेता राधाकृष्ण थारु पश्चिम नेपालको जमिन्दारी प्रथा विरुद्ध जनताको पक्षमा अविश्रान्त लागिरहने प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो ।
२०१५ सालको आमनिर्वाचनमा बर्दियाबाट निर्वाचित जनप्रतिनिधिको हैसियतले उहाँले संसदमा किसानको पक्षमा खेल्नुभएको भूमिका इतिहासको पानामा स्वर्णाक्षरमा अङ्कित छ । मानव अधिकारका अग्रपंक्तिका रक्षक स्वर्गीय राधाकृष्ण स्मृति एवम् आफ्नो स्थापना दिवसको अवसर पारेर आजकै दिन बर्दियामा कृयाशील सामाजिक संस्था राधाकृष्ण थारु जनसेवा केन्द्रले सधै जसो विशेष कार्यक्रमको आयोजना गर्ने गरेको छ । मानव अधिकारको प्रवर्द्धन, सुशासन, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, कमैया मुक्ति आन्दोलन, कमैयाको मानवोचित जीविकोपार्जन लागायतका जीवन्त सवालहरुमा यस संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।
लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवन अर्पण गर्न तयार होनहार व्यक्तित्व दिनेश श्रेष्ठको अगुवाईमा लोकतान्त्रिक आन्दोलनमा आफूलाई निसर्त होम्न तयार विद्याप्रसाद खनाल, यज्ञराज मजगैया, युवराज श्रेष्ठ, स्वर्गिय वासुदेव चौधरी, मङ्गल चौधरी, राकेश वस्याल जस्ता युवाहरुको पहलकदमीबाट स्थापित यो संस्था आज बर्दियाका वाणी विहीनहरुको भरपर्दो साथी बनेको छ । मानव अधिकार रक्षाका लागि खवरदारी गर्ने अग्रपंक्तिको नागरिक संस्था बनेको छ । मानव अधिकारको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सक्रिय र सक्षम नागरिक संस्थाको अपरिहार्यता रहन्छ, राधाकृष्ण थारु जनसेवा केन्द्रले बर्दियाबाट त्यो भूमिका निर्वाह गरेको छ । जननेता राधाकृष्ण थारुको नाममा स्थापित यो केन्द्र लोकतान्त्रिक आन्दोलनको धरोहर बनोस् हार्दिक शुभकामना ।
(धिताल नेपाल पत्रकार महासंघ बर्दियाका निवर्तमान अध्यक्ष एवम् बबई बहुमुखी क्याम्पसका प्राध्यापक हुनुहुन्छ ।)
२० °C काठमाडौं
Facebook Comments