बर्दियाको राजापुर र गेरुवाका विद्यालयमा तोडफोडसँगै चोरी
केशव कोईराला, २९ साउन, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ३ टेडियास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा गएराति अज्ञात समूहले तोडफोडगर्दै चोरी गरेको छ । विद्यालय प्रशासनका अनुसार अज्ञात व्यक्तिहरूले विद्यालयको अफिसको ढोका तोडेर भित्र प्रवेश गरेका थिए ।
घटनामा एक थान ल्यापटप चोरी भएको र मल्टिप्लग, सिसिटिभी क्यामेरा तथा कक्षाकोठामा जडान गरिएका टेलिभिजनहरू समेत तोडफोड गरिएको बिद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेतले जानकारी दिनुभयो । कार्यालयभित्र रहेका दराजहरू खोलेर खोजीतलासी गरिएको अवस्था भेटिएको प्रअ बस्नेतले बताउनु भयो ।
घटनापछि विद्यालय परिसरमा क्षतिको विवरण संकलन गरिएको छ । विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले यसलाई शिक्षा क्षेत्रमाथिको गम्भीर आक्रमणका रूपमा लिएका छन् । विद्यालयको भौतिक तथा प्राविधिक संरचनामा क्षति पुग्नुका साथै शैक्षिक गतिविधिमा समेत असर परेकोभन्दै चिन्ता व्यक्त गरिएको छ ।
विद्यालय प्रशासनले यस्ता अराजक गतिविधिमा संलग्न जो–कोहीलाई तत्काल पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । æविद्यालयको प्रगति र विकास नचाहने निकम्मा सोच भएका व्यक्तिहरू कानूनको कठघरामा आउनैपर्छ, विद्यालय पक्षको भनाइ छ । उता गेरुवा गाउँपालिका–३ बन्कट्टि स्थित श्री सरस्वती आधारभूत विध्यालयमा अज्ञात समूहले विद्यालयको कार्यालयमा तोडफोड गरी विभिन्न विद्युतिय तथा शैक्षिक सामग्री चोरी गरेको छ ।
विद्यालयका अनुसार कार्यालयको ढोका तथा दराजहरू तोडफोड गरी ल्यापटप, प्रोजेक्टर, सिसिटिभी क्यामरा, सेटअप बक्स लगायतका सामग्री चोरी भएका छन् । साथै विद्यालयका महत्त्वपूर्ण कागजात तथा अन्य सामग्री समेत हराएको जनाइएको छ । घटनापछि विद्यालय प्रशासनले चोरीमा संलग्न व्यक्तिको खोजी कार्यका लागि स्थानीय प्रशासन, प्रहरी तथा सर्वसाधारणसँग सहयोगको अनुरोध गरेको छ ।
२२ °C काठमाडौं
Facebook Comments