मधुवनका सामुदायिक विद्यालयमा जंक फुड नियन्त्रण अभियान सुरु
हरी गुरुङ, १३ जेठ, मधुवन -बर्दिया) । बर्दियाको मधुवन नगरपालिकाका सामुदायिक विद्यालयमा जंक फुड नियन्त्रण अभियान शुरु गरिएको छ । स्वस्थकर दिवा खाजाको प्रवद्र्धनमा जोडदिँदै अभियान शुरु भएको छ ।
विद्यार्थीहरूको स्वास्थ्यमा बढ्दो जंक फुडको असर न्यूनीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा मधुवन नगरपालिकामा सामुदायिक विद्यालयमा अस्वस्थकर खाना नियमन तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरणगर्दै अभियानको जानकारी गराईएको छ ।
विद्यालयमा बिक्री तथा प्रयोग हुँदै आएका अस्वस्थकर खानाले बालबालिकाको स्वास्थ्य, अध्ययन क्षमता र दीर्घकालीन जीवनशैलीमा पार्ने नकारात्मक प्रभावबारे छलफल गरिएको थियो । सहभागीहरूले विद्यालय परिसरलाई जंक फुडमुक्त बनाउँदै स्थानीय तथा पोषणयुक्त खानालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका थिए । अस्वस्थकर खानाको विकल्पका रूपमा पोषणयुक्त दिवा खाजा, स्थानीय उत्पादन तथा स्वस्थ खानपान संस्कृतिको विकास गर्ने विषयमा विशेष जोड दिइएको छ ।
विद्यार्थीलाई सानैदेखि स्वस्थ खाने बानीको विकास गराउन विद्यालय, अभिभावक र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको वक्ताहरूले बताएका छन् । विद्यालयलाई स्वस्थ, सुरक्षित र अनुशासित शैक्षिक वातावरणतर्फ उन्मुख गराउने लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रमले बालबालिकामा स्वस्थ जीवनशैली विकास गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
स्वस्थकर दिवा खाजा मधुवन नगरपालिकाका त्रिभुवन सुर्यपटूवा, नेरा मावि धानौरा, भृकुटी मावि चित्तले, शुक्र मावि ताराताल, शिव दुर्गा मावि दुर्गापुर गरी ५ वटा माध्यमिक विद्यालयहरूमा आर्थिक वर्ष २०८२/ २०८३ मा सञ्चालन हुनेछ । कार्यक्रममा जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता थियो । सहभागीहरूले विद्यालय तहबाटै स्वास्थ्य सचेतना विस्तार गर्न कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।
२१ °C काठमाडौं
Facebook Comments