बढैयातालमा सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने मोनिका थापासहित उत्कृष्ट विद्यार्थी सम्मानित
दलबहादुर सुनार, ३१ वैशाख, बढैयाताल -बर्दिया) । माध्यमिक शिक्षा परीक्षा -एसईई) २०८३ मा उत्कृष्ट नतिजा हासिल गर्ने बढैयातालकी छात्रा मोनिका थापालाई विद्यालयले सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ४.०० जिपिए ल्याउन सफल थापासहित उत्तीर्ण भएका १० जना विद्यार्थीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
बढैयाताल गाउँपालिका वडा नम्बर ५ कण्ठपुरस्थित विद्या ज्योति नमुना माध्यमिक विद्यालयद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा ३ दशमलव ८२ जिपिए ल्याउने स्पन्दन रानाभाट, ३ दशमलव ४६ जिपिए ल्याउने गरिमा नेपाली, ३ दशमलव ३३ जिपिए ल्याउने अरुणा थारु, ३ दशमलव ३० जिपिए ल्याउने राधिका लगायत १० जना विद्यार्थीलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक भक्ति सागर रेग्मीले जानकारी दिनुभयो ।
बर्दिया जिल्लामा यस वर्ष सामुदायिक विद्यालयतर्फ विद्या ज्योति माध्यमिक विद्यालय -कण्ठपुर), गुराँस माध्यमिक विद्यालय -मधुवन) र भानुभक्त माध्यमिक विद्यालय -सिउनिया, बारबर्दिया) बाट एक–एक जना गरी तीन जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् भने संस्थागत विद्यालयतर्फ सात जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि तथा बढैयाताल गाउँपालिका –८ का वडाध्यक्ष तेजनाथ पौडेलले विद्यार्थीले अभिभावकको सपना साकार पार्ने जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो ।
उहाँले मेहनत र लगनशीलताबाट सबै विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गर्न सक्ने उल्लेख गर्दै आगामी एसईई परीक्षाका लागि तयारीमा जुट्न आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन सुवेदीले आगामी परीक्षाका लागि विद्यार्थीलाई प्रेरित गर्न तथा यस वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
अपेक्षाअनुसार नतिजा नआएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले कमजोरी पहिचान गरी सुधारका लागि योजना बनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो । यसैबीच, नेपाली विषयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नेपाली विषयका शिक्षक दिपेन्द्र सिंह ठकुरीले नगदसहित सम्मान गर्नु भएको छ । कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
२७ °C काठमाडौं
Facebook Comments