• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
गुलरियामा अपाङ्गता भएका बालबालिकाको घुम्ती शिविर मार्फत निःशुल्क स्वास्थ्य परीक्षण 

दलबहादुर सुनार, ८ बैशाख, बर्दिया । बर्दियाको गुलरियामा अपाङ्गता भएका बालबालिकाका लागि निःशुल्क शारीरिक अपाङ्गता परीक्षण सम्बन्धी घुम्ती शिविर सम्पन्न भएको छ । विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र, बनेपा–११ काभ्रेपलाञ्चोकको आयोजना तथा बर्दिया अपाङ्ग पुनस्र्थापना केन्द्र र आईएनएफको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।

बहुआयामिक पुनस्र्थापना सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको एकदिने शिविरबाट ३५ बालक, २३ बालिका र ६ जना पुरुष गरी कुल ६४ जना लाभान्वित भएका छन् । गुलरिया नगरपालिका–६ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा सोमबार आयोजित शिविरमा पहिचान तथा स्वास्थ्य परीक्षण गरिएका मध्ये १९ जनाको नापजाँच गरिएको, ७ जनालाई विशेष जुत्ता वितरण गरिएको, ६ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको र ४ जनालाई थप परीक्षणका लागि रिफर गरिएको लुम्बिनी प्रादेशिक पुनस्र्थापना केन्द्र, कोहलपुर बाँकेका प्रशासन तथा लेखा सहायक मिनबहादुर चन्दले  जनकारी दिनुभयो ।

शिविरमा जन्मजात वा पछि देखिएका खुट्टाका समस्या -पैताला भित्र वा बाहिर फर्किएको), खुट्टा कमजोर वा लुलो भएको, भाँचिएको, बाङ्गिएको वा हड्डी नजोडिएको, हड्डीमा संक्रमण भई लामो समयदेखि पीप आउने, जोर्नी दुख्ने, सुन्निने वा खुस्किने, ढाड कुप्रो हुने लगायतका हाडजोर्नीसम्बन्धी समस्याबाट प्रभावित बालबालिकाको परीक्षण गरिएको थियो । साथै कृत्रिम अंग तथा अर्थोपेडिक सहायक सामग्री आवश्यक पर्ने बालबालिकाको समेत पहिचान गरिएको जनाइएको छ ।

शिविरमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. पारस खकुरेल, फिजियोथेरापिस्ट दीपेश देउला र स्टाफ नर्स शशिकला महतसहितको टोलीले सेवा प्रदान गरेको थियो । टोलीले शल्यक्रिया आवश्यक पर्ने, थप उपचारका लागि सिफारिस गर्नुपर्ने बालबालिकाको पहिचान, जुत्ताको नापजाँच, परामर्श, फिजियोथेरापी तथा औषधि वितरणलगायत सेवा प्रदान गरेको अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र, कोहलपुरका प्रमुख लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

 

सम्बन्धित समाचार

Facebook Comments