बढैयाताल अध्यक्ष कपको उद्घाटन खेलमा ठाकुरबाबाको जित
दलबहादुर सुनार, ३० चैत, बढैयाताल (बर्दिया) । बर्दियाको बढैयातालमा आयोजित अध्यक्ष कप फुटवल प्रतियोगिताको उद्धघाटन खेलमा ठाकुरबाबा नगरपालिकाले मधुवन नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफमा १–० गोलले अग्रतामा रहेको मधुवन दोश्रो हाफमा ठाकुरबाबाले लगातार २ गोलगर्दै प्रतियोगितामा बिजयी बनेको हो ।
कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बढैयाताल ८ को आयोजनामा पाँचौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभासद भुवनेश्वर चौधरीले मुख्य रेफ्री देवनारायण दाहाललाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्धघाटन गर्नु भएको हो । यूवा नै हो देशको शान : सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ मयुर यूवा क्लबको खेलमैदानमा खेल शुरु भएको छ ।
कालिका सामुदायिक पुस्ताकालय तथा श्रोतकेन्द्रका अध्यक्ष सुन्दरमान श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिताको उद्धघाटन कार्यक्रममा उपाध्यक्ष लक्ष्मी अधिकारी र शारदा क्याम्पसका अध्यक्ष प्रेमराज त्रिपाठीले शुभकामना मन्तब्य राख्नु भएको थियो । बढैयाताल गाउँपालिका र बढैयाताल गाउँपालिका ८ नम्बर वडा कार्यालयको सहकार्यमा सञ्चालन भएको पाचौ संस्करणको पालिका स्तरीय अध्यक्ष कप प्रतियोगितामा बिजेता हुनेले रु १ लाख ५ हजार ५५५ र, उप विजेता हुनेले ५५ हजार ५५५, शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र सहितको प्रमाण पत्रको ब्यबस्था रहेको आयोजक संस्थाका शैलेन्द्र मल्लले जानकारी दिनु भएको छ । बढैयाताल गाउँपालिका ८ न. वडाका अध्यक्ष तेजनाथ पौडेलले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी, वडा न. ७ का राधेश्याम थारु, बर्दिया एकेडेमीका प्रवन्ध निर्देशक बुद्ध गिरी, मुख्य प्रायोजक, सहप्रायोजक, प्रायोजक, संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, मयुर युवा क्लबका अध्यक्ष तारानाथ ज्ञवाली, खेल प्रेमी लगाएतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन हिक्मत सुनारले गर्नु भएको थियो । बर्दिया जिल्लाका २ गाउँपालिका र ६ नगरपालिकाले भाग लिने प्रतियोगिताको दोश्रो दिनको खेल चैत्र ३० गते शुक्रवार गुलरिया नगरपालिका र गेरुवा गाउँपालिका बिच दोश्रो खेल हुने आयोजकले जनाएको छ ।
२१ °C काठमाडौं
Facebook Comments