• ११ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
अपांगता परिचयपत्र घरमै पाउँदा परिवारै खुसी 

दलबहादुर सुनार, ११ चैत, बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा अपांगता परिचय पत्र बितरण समन्वय समितिको बैठक चलिरहेको थियो । परिचय पत्रको लागि धेरै टाढावाट अटो बुक गरेर आएका थिए भने कतिले २/३ घण्टा लगाएर साइकल यात्रा गरेर आएका थिए । पालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको अध्यक्षतामा बसेको परिचय पत्रको बैठकमा एक जना युवाले भने मेरो आमा बिगत ६÷७ महिना देखि पुर्ण अशक्त हुनुहुन्छ । आर्थिकले भ्याए सम्म उपचार गर्ने प्रयास गर्यौ तर केही शिप लागेन । अहिले विस्तारमा हुनु हुन्छ । हलचल गर्न सक्ने अवस्था पनि छैन । 

उनको कुरा सुनेर समितिका सदस्य तथा लेखा अधिकृत सुदिप सिग्देलले भन्नुभयो यस्तो अवस्थाका लाई पहिलो प्राथमिकतामा राखेर सेवा दिनुपर्छ, ढिलो नगरौ घरमा जाउँ भन्नु भयो । पालिका उपाध्यक्ष चौधरीको नेतृत्वमा, डाक्टर गंगेश्वर ठाकुर, महिला शाखा प्रमुख रमा पुन, स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद भण्डारी, बदिया अपांग पुनस्र्थापना केन्द्रका महासचिब सहितको टोली झण्डै ८/१० किलो मिटर टाढाको यात्रा गर्दै गेरुवा गाउँपालिका वडा नम्बर २ भैरमपुर निवासी ५२ वर्षकी सिलारानी थारुको घरमा पुगे ।   

उनको घरमा पुग्दा श्रीमान घरको पिंढीमा डोरी बाट्दै थिए । घरमा ढोका लागेको थियो । ढोका खोलेर उनको अवस्था हेर्दा घर भित्र एउटा खटियामा सुतिरेको अवस्थामा उहाँ भेटिइन् । भेट्दा न त बोल्न सक्ने न त हल चल नै, न त मुखमा माखा वस्दा धपाउन सक्ने नै अवस्था थियो । टोलीका सहभागि डाक्टरले उपचार गराएको रिपोर्ट हेर्नु भयो । उहाँलाई मस्तिष्क पक्षघात भएको रहेछ । सुधार हुने अवस्था देखिदैन । उनलाई (क) बर्गको रातो रंगको पुर्ण अशक्त अपांगता पत्र दिन सकिने डाक्टरको राय अनुसार क वर्गको परिचय पत्र प्रदान गरियो । पालिकाको सेवा घरमै पाउँदा उनका परिवारले खुसी ब्यक्त गरे ।  

नेपालको संबिधान २०७४ अनुसार तिन तहको सरकारको संरचना भएपछि स्थानियतहका सरकारले पनि आफ्नै कानुन, नीति तथा कार्यक्रम बनाएर अपांगता भएका ब्यक्तिहरुलाई महिला शाखावाट अपांगता परिचय पत्र वितरण, अपांगता भएका ब्यक्तिहरुको सशक्तिकरणका कार्यक्रमगर्दै आएको भएता पनि पुर्ण अशक्त र अति अशक्त अपांगता भएका ब्यक्तिहरुको लागि भने परिचय पत्रको सेवा लिन भने टाढैको कुरा भएको उनिहरु बताउछन् । राष्ट्रिय जनगणना २०७८ अनुसार गेरुवा गाउँपालिकामा १ हजार ६ सय ६ जना अर्थात ४.९ प्रतिशत अपांगता भएका ब्यक्तिहरु रहेका छन् । तर २०८० चैत्र सम्म ४ सय ४१ जना अर्थात २७.४५ प्रतिशतले मात्र अपांगता परिचय पत्र लिएको महिला शाखाले जनाएको छ । 
गेरुवा गाउँपालिकामा धेरैको संख्यामा अपांगता भएका ब्यक्तिहरु परिचय पत्र पाउनवाट वञ्चित भएको तथ्यांकले देखाउछ । महिला शाखाका अनुसार प्राय (क) र (ख) वर्गको लागि आउने र अरु वर्गको भए न लिने भएकोले पनि परिचय पत्र लिनेको सख्या कम भएको हुन सक्ने शाखाले जनाएको छ । ७ गते बुधवार बसेको समन्वय समितिको बैठकमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्दले कार्यबिधि भित्र रहेर ब्यक्तिको अवस्था हेरेर मात्र दिन समितिलाई सचेत गरे ।  बैठकले  पूर्ण अशक्त (क)  वर्गमा १ जना, अतिअशक्त (ख) वर्ग ६ जना, मध्यम (ग) बर्गको ८ जना र सामान्य (घ) बर्गको ४ गरि जम्मा १९ जनालाई परिचय पत्र दिने निर्णय गरेको छ । आवश्यक कागजात नभएका ७ जनालाई परामर्श दिएको महिला शाखाकी प्रमुख रमा पुनले जानकारी दिईन् ।  

गेरुवा गाउँपालिकामा यातायातको असुबिधा, डाक्टरको ब्यबस्थापन र बजेटका कारणले पनि अपांगता परिचय पत्र वितरण समन्वय समितिको नियमित बैठक बस्नमा समस्या भएका बताउदै अन्य वर्गको परिचय पत्र पाउनेले पनि क र ख वर्गको मात्र परिचय पत्र लिनको लागि दवाब दिनु चुनौतिको रुपमा भएको महिला शाखा प्रमुख पुनको भनाई छ । अपांगता हुन कस्लाई पो रहर हुन्छ । जन्म जात हुने अवस्था बाहेक अपांगता कँहा हुन्छ, कति वेला हुन्छ, कसरी हुन्छ र कस्लाई हुन्छ भन्ने कुरा परिस्थितिले सिर्जना गर्छ त्यो अज्ञात हुन्छ । जति जति विकास हुदै गयो त्यति त्यति नयाँ नयाँ रोगको पनि सृजना हुदै गयो । विकास हुने क्रममै मानिसमा अहिले जटिल खालका रोगको आगमन हुन थाल्यो । 

रोग र दुर्घटनाले नत गरिब भन्छ । न त धनि नै । न त बच्चा भन्छ न त बृद्ध नै ।  न त जात र धर्म नै यस्ता आपत विपद जो कसैलाई जति बेला पनि हुन सक्छ । भनिन्छ अपांगता कुनै पापको फल नभै हाम्रो जीवन शैली र लापरवाहीका कारणले अपांगता निम्त्याउने गर्छ । अपांगता आउने अवस्था तिन चरणमा हुन्छ । पहिलो अवस्था जन्म पुर्व वा भुर्ण अवस्थामा, दोश्रो जन्मने क्रममा र तेश्रो जन्म पश्चात हुने गर्छ । पछिल्लो अवस्थामा जन्म पुर्व हुने भन्दा पनि जन्म पश्चात हुने क्रम तिब्र रुपमा बृद्धि भएको विभिन्न अध्ययनले देखाएको छ । हाम्रो खानपान र जीवन शैलीको कारण धेरै मानिसहरु मधुमेह (सुगर), उच्च÷कम रक्तचाप, बाथ रोग जस्ता रोग बाट ग्रसित भएका छन् । 

ध्यान नपुर्याउदा तिनै रोगले अपांगता वरण गर्न पुगेका छन् । कतिपय बंशाणुगत रोग र दुर्घटनावाट अपांगता हुनेको संख्या दिन प्रतिदिन बृद्धि हुदै गएको अवस्था छ । यदि तिन तहका सरकारले समयमा यस्ता रोग र संभावित जोखिम न्यूनिकरणका लागि बिशेष योजनाका साथ कार्यक्रम नगर्ने हो भने राज्य लाई आर्थिक भार र परिवारमा आर्थिक, सामाजिक  तथा मानसिक समस्याले ग्रसित बनाउने अवस्थाको सिर्जना नहोला भन्न सकिन्न त्यसैले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनका लागि सरकारको ध्यान जान आवश्यक छ ।  

सम्बन्धित समाचार

Facebook Comments