बदलिँदो जलवायु, बढ्दो जोखिम र मानव समाजको परीक्षा
मुकुन्द अर्याल, २२ भाद्र, बर्दिया । आज कुनै ठाउँमा असामान्य बाढी आउँछ, कतै लामो खडेरी पर्छ, कतै असाधारण गर्मी बढ्छ र कतै हिमनदी वा हिमतालसँग सम्बन्धित घटना हुन्छ । त्यसपछि एउटै शब्द सुनिन्छ, जलवायु परिवर्तन । संसारभरि यसको चर्चा यति व्यापक भएको छ कि कहिलेकाहीँ एउटा स्वाभाविक जिज्ञासा पैदा हुन्छ । के आज संसारमा देखिएका सबै प्राकृतिक विपद्को कारण जलवायु परिवर्तन नै हो ? यदि होइन भने, जलवायु परिवर्तनको वास्तविकता कहाँ छ ?
यो प्रश्नको उत्तर खोज्नुअघि एउटा आधारभूत तथ्य स्वीकार गर्नुपर्छ, पृथ्वीको जलवायु सधैँ परिवर्तनशील थियो । जलवायु परिवर्तन औद्योगिक युगपछि मात्र सुरु भएको घटना होइन । पृथ्वीको लामो इतिहासमा तापक्रम, वर्षा, हिमनदी, समुद्री सतह र नदी प्रणालीमा पटक–पटक ठूलो परिवर्तन भएका छन् । मानव सभ्यता पनि यिनै परिवर्तनशील प्राकृतिक अवस्थासँग अनुकूल हुँदै विकसित भएको हो । त्यसैले हजारौँ वर्षअघिका खडेरी, अनिकाल, नदीको मार्ग परिवर्तन वा तटीय भूभागमा आएका परिवर्तनलाई देखाएर आजको जलवायु परिवर्तनलाई अस्वीकार गर्नु वैज्ञानिक रूपमा उचित हुँदैन । त्यस्तै, ती सबै प्राचीन घटनालाई आजको मानवजन्य जलवायु परिवर्तनसँग समान ठान्नु पनि सही हुँदैन ।
वर्तमान जलवायु परिवर्तनको विशिष्टता परिवर्तन हुनुमा मात्र होइन, त्यसको गति र त्यसमा मानवीय गतिविधिको निर्णायक प्रभावमा छ । औद्योगिक क्रान्तिपछि कोइला, पेट्रोलियम र प्राकृतिक ग्यासको व्यापक प्रयोग, वन विनाश तथा अन्य मानवीय गतिविधिले वायुमण्डलमा हरितगृह ग्यासको मात्रा उल्लेखनीय रूपमा बढाएको छ । पृथ्वीको तापीय सन्तुलनमा आएको यस परिवर्तनले विश्वव्यापी तापक्रम वृद्धि गरिरहेको छ । आईपीसीसीका वैज्ञानिक मूल्याङ्कनहरूले वर्तमान विश्वव्यापी तापक्रम वृद्धिमा मानव गतिविधिको प्रमुख भूमिका रहेको स्पष्ट गरेका छन् । थप तापक्रम वृद्धिसँगै धेरै क्षेत्रमा अत्यधिक वर्षा र केही अन्य चरम मौसमी घटनाको सम्भावना तथा तीव्रता बढ्ने वैज्ञानिक आधार पनि बलियो छ ।
तर यही तथ्यलाई बुझ्दा अर्को सावधानी आवश्यक हुन्छ । जलवायु परिवर्तन वास्तविक हुनु र प्रत्येक प्राकृतिक विपद्को प्रत्यक्ष कारण जलवायु परिवर्तन हुनु एउटै कुरा होइन । कुनै खास बाढी, पहिरो वा हिमपहिरोको कारण निर्धारण गर्न स्थानीय मौसम, भूगोल, भूगर्भ, नदीको अवस्था, भू–उपयोग, पूर्वाधार र अन्य सम्भावित कारणको विश्लेषण गर्नुपर्छ। जलवायु परिवर्तनले कुनै घटनाको सम्भावना वा तीव्रता बढाउन सक्छ, तर कुनै एउटा घटना त्यसकै कारण मात्र भएको निष्कर्षमा पुग्न घटनागत वैज्ञानिक अध्ययन आवश्यक हुन्छ ।
यही भिन्नता नबुझ्दा जलवायु परिवर्तनबारे दुई प्रकारका अतिवादी धारणा जन्मिन्छन् । पहिलो, जलवायु त पहिलेदेखि नै परिवर्तन हुँदै आएको हो, त्यसैले अहिलेको जलवायु परिवर्तनमा मानिसको भूमिका छैन भन्ने धारणा । दोस्रो, …आज हुने हरेक असामान्य प्राकृतिक घटना जलवायु परिवर्तनकै परिणाम हो भन्ने धारणा। दुवै अपूर्ण छन् । वैज्ञानिक वास्तविकता यी दुई अतिबीच रहेको छ । प्रकृतिको दीर्घकालीन परिवर्तनशीलताको प्रमाण मानव इतिहास र पुराजलवायु अध्ययन दुवैमा भेटिन्छ । करिब ४,२०० वर्षअघि दक्षिण एसियासहित विभिन्न क्षेत्रमा लामो समयसम्म चलेको खडेरीको प्रमाण भेटिएको छ ।
हिमालय क्षेत्रमा गरिएको अध्ययनले त्यस अवधिमा उल्लेखनीय जलवायु तथा जलचक्र परिवर्तन भएको देखाएको छ । यही अवधिमा सिन्धु सभ्यताको भूभागमा पनि पानीको उपलब्धता घटेको र त्यसले सभ्यताको सामाजिक तथा भौगोलिक रूपान्तरणमा भूमिका खेलेको हुन सक्ने प्रमाण भेटिन्छ । पछिल्ला अध्ययनहरूले सिन्धु सभ्यताको परिवर्तनलाई अचानक भएको …पतनÚभन्दा दीर्घकालीन खडेरी, पानीको अभाव, बसाइँसराइ र सामाजिक अनुकूलनसँग जोडेर हेर्न थालेका छन् । यसले एउटा महत्वपूर्ण कुरा देखाउँछ—मानव समाजले हजारौँ वर्षदेखि जलवायुजन्य जोखिम सामना गर्दै आएको छ ।
कृषि उत्पादन वर्षामा निर्भर हुँदा लामो खडेरीले खाद्यान्न संकट निम्त्याउन सक्थ्यो। नदीको बहाव कमजोर हुँदा बस्ती र कृषि प्रणाली प्रभावित हुन्थे। वातावरणीय परिवर्तनसँगै बसाइँसराइ, व्यापारिक सम्बन्ध र राजनीतिक–सामाजिक संरचनामा समेत प्रभाव पर्न सक्थ्यो । त्यसैले अनिकाल केवल खाना नपुगेको अवस्था थिएन त्यो जलवायु, कृषि, अर्थतन्त्र, शासन र सामाजिक संरचनाबीचको जटिल सम्बन्धबाट उत्पन्न हुने संकट थियो । प्राचीन सरस्वती नदीको प्रसङ्ग पनि यही सन्दर्भमा रोचक छ । भारतीय परम्परामा अत्यन्त महत्वपूर्ण मानिएको सरस्वती नदीको वास्तविक भौगोलिक पहिचान, मार्ग र विभिन्न प्राचीन नदी प्रणालीसँगको सम्बन्धबारे वैज्ञानिक बहस अझै जारी छ ।
तर उत्तर–पश्चिम भारतीय भूभागका नदी प्रणालीको अध्ययनले हजारौँ वर्षको अवधिमा नदीको बहाव, स्वरूप र पानीको उपलब्धतामा ठूलो परिवर्तन भएको देखाउँछ । केही अध्ययनले प्राचीन घग्घर–हकरा नदी प्रणालीको परिवर्तनलाई पुराजलवायु, नदीको मार्ग परिवर्तन तथा अन्य भौगर्भिक प्रक्रियासँग जोडेर अध्ययन गरेका छन् । यसैले सरस्वती लोप हुनुको प्रश्नलाई केवल धार्मिक आख्यान वा केवल जलवायु परिवर्तनको एउटा उदाहरणमा सीमित गर्नु उचित हुँदैन । द्वारिकासम्बन्धी परम्परालाई पनि यस्तै वैज्ञानिक सावधानीका साथ हेर्नुपर्छ । समुद्रले द्वारिकालाई निलेको कथा भारतीय सांस्कृतिक स्मृतिमा गहिरो रूपमा रहेको छ । तर त्यस घटनाको वैज्ञानिक कालक्रम, वास्तविक स्थान र समुद्रमा डुब्नुको निश्चित कारणबारे वैज्ञानिक सहमति छैन ।
त्यसैले द्वारिका डुबेको कथालाई आधुनिक जलवायु परिवर्तनको प्रमाणका रूपमा प्रयोग गर्नु उचित हुँदैन । त्यस्तै, …त्यतिबेला आधुनिक जलवायु परिवर्तन थिएन, त्यसैले समुद्रमा डुब्ने घटना हुनै सक्दैन भन्नु पनि गलत हुन्छ। समुद्रको सतहमा परिवर्तन, तटीय भूगोल, भूकम्प, भूगर्भीय अवतलन, आँधी तथा अन्य प्राकृतिक प्रक्रियाले पनि हजारौँ वर्षको अवधिमा तटीय बस्तीको स्वरूप बदल्न सक्छन् । यी ऐतिहासिक उदाहरणहरूको महत्व अर्को ठाउँमा छ । तिनले हामीलाई सम्झाउँछन् कि प्राकृतिक जोखिम मानव सभ्यताभन्दा पुरानो हो । जलवायु परिवर्तनको अर्थ प्रकृतिले पहिलोपटक परिवर्तन गर्न थालेको होइन । अहिलेको समस्या भनेको प्राकृतिक परिवर्तनशीलतामाथि मानव गतिविधिले थपिरहेको असाधारण दबाब र त्यसबाट उत्पन्न हुँदै गएको नयाँ जोखिम हो ।
यहीँबाट जलवायु परिवर्तन र विपद्बीचको सम्बन्ध बुझ्न सकिन्छ । अत्यधिक वर्षा प्राकृतिक घटना हुन सक्छ । तर त्यही वर्षाले बस्ती डुबाउँदा, सडक भत्काउँदा, पुल बगाउँदा र मानिसको ज्यान लिँदा त्यो विपद् बन्छ । यसको अर्थ क्षतिको आकार वर्षाले मात्र निर्धारण गर्दैन। बस्ती कहाँ बसेको छ, नदीको प्राकृतिक बहाव क्षेत्र कति सुरक्षित छ, सडक र पुल कस्तो डिजाइनमा बनेका छन्, पहाड काट्दा पानीको निकास कसरी व्यवस्थापन गरिएको छ, पूर्वसूचना कति प्रभावकारी छ र उद्धारको क्षमता कति छ—यी सबैले प्राकृतिक घटनालाई मानवीय विपद्मा रूपान्तरण गर्ने वा त्यसको क्षति सीमित गर्ने काम गर्छन् ।
यही कारणले जलवायु परिवर्तनको असर आर्थिक रूपमा कमजोर देशहरूमा तुलनात्मक रूपमा गम्भीर हुन सक्छ । जोखिम सबै ठाउँमा समान हुँदैन, र जोखिम सामना गर्ने क्षमता पनि समान हुँदैन । आर्थिक रूपमा सम्पन्न समाजसँग सुरक्षित पूर्वाधार, आधुनिक मौसम तथा जलमापन प्रणाली, प्रभावकारी पूर्वसूचना, बीमा, आकस्मिक कोष, दक्ष जनशक्ति र पुनर्निर्माणका लागि पर्याप्त स्रोत हुन्छन् । सीमित स्रोत भएका देशमा त्यस्तो क्षमता विकास गर्न कठिन हुन्छ । परिणामतः एउटै प्राकृतिक घटनाले दुई समाजमा बिल्कुल फरक स्तरको क्षति पु¥याउन सक्छ ।
नेपालको अवस्था यही सन्दर्भमा बुझ्नुपर्छ । नेपालको हिमाली भूगोल, तीव्र भिरालोपन, कमजोर भूगर्भीय संरचना, मनसुनमा निर्भरता, हिमनदी तथा हिमताल र तीव्र गतिमा बग्ने नदी प्रणालीले देशलाई विभिन्न प्राकृतिक जोखिमका दृष्टिले संवेदनशील बनाएका छन् । तर नेपालको जोखिम केवल भूगोलले निर्धारण गर्दैन । गरिबी, कमजोर पूर्वाधार, जोखिम–संवेदनशील विकास योजनाको कमी, सीमित प्राविधिक क्षमता, कमजोर पूर्वतयारी र अनुसन्धानमा अपर्याप्त लगानीले पनि जोखिमलाई गम्भीर बनाउँछन् । नेपालले विकासका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । सडक सञ्जाल विस्तार भएको छ, जलविद्युत् र ऊर्जा पूर्वाधार विकास भइरहेको छ, शहरहरू विस्तार भएका छन् र सूचना प्रविधिको पहुँच बढेको छ ।
तर विकासको गति र जोखिम व्यवस्थापनबीचको तालमेल अझ बलियो बनाउनुपर्ने आवश्यकता छ । विशेषगरी पहाडी सडक, नदी किनारका बस्ती, शहरी विस्तार, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा भविष्यको जलवायु तथा विपद् जोखिमलाई डिजाइनकै चरणमा समावेश गर्नुपर्ने देखिन्छ । विश्व बैंकको नेपालको जलवायु तथा विकाससम्बन्धी अध्ययनले पनि सडकसहितको सुरक्षित पूर्वाधार, शहरीकरण व्यवस्थापन, प्रारम्भिक चेतावनी प्रणाली र सबै तहको शासनमा विपद् जोखिम व्यवस्थापनलाई विकासको अभिन्न हिस्सा बनाउन जोड दिएको छ ।
समस्या विकास हुनुमा होइन विकास जोखिमप्रति कति संवेदनशील छ भन्नेमा हो । पहाडमा सडक आवश्यक छ, तर सडकले पहिरोको जोखिम कति बढाउँछ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । नदी किनारमा बस्ती बस्नु आवश्यक हुन सक्छ, तर बाढीको प्राकृतिक बहाव क्षेत्र कहाँसम्म फैलिन्छ भन्ने जानकारीबिना गरिएको बस्ती विस्तार भविष्यको विपद्को आधार बन्न सक्छ । जलविद्युत् विकास आवश्यक छ, तर हिमाली क्षेत्रमा बढ्दै गएका बहुआयामिक जोखिमलाई ध्यानमा नराखी निर्माण गरिएका संरचना दीर्घकालीन रूपमा जोखिममा पर्न सक्छन् ।
यसै कारण विपद् व्यवस्थापनलाई विकासपछि आउने कामका रूपमा हेर्ने सोच परिवर्तन गर्न आवश्यक छ । विपद् आएपछि उद्धार गर्नु प्रतिकार्य हो जोखिम आउनुअघि त्यसलाई पहिचान गर्नु, सम्भावित क्षतिको अनुमान गर्नु, पूर्वसूचना दिनु, सुरक्षित स्थान तयार गर्नु र समुदायलाई अभ्यास गराउनु पूर्वतयारी हो । दीर्घकालीन रूपमा क्षति घटाउने प्रभावकारी उपाय पनि यही हो । यसमा प्रविधिको भूमिका निर्णायक बन्दै गएको छ ।
उच्च गुणस्तरको मौसम पूर्वानुमान, स्वचालित मौसम केन्द्र, नदीको वास्तविक समयको बहाव मापन, उपग्रह सूचना, भौगोलिक सूचना प्रणाली, ड्रोन, हिमनदी तथा हिमतालको निगरानी र मोबाइलमा आधारित पूर्वसूचना प्रणालीले जोखिमको पहिचान र प्रतिकार्य दुवैलाई प्रभावकारी बनाउन सक्छन्। तर प्रविधि आफैँ समाधान होइन । त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्ति, निरन्तर तथ्याङ्क, अनुसन्धान र निर्णय प्रक्रियासँग जोडिएको संस्थागत क्षमता आवश्यक हुन्छ । नेपालका लागि चुनौती यहाँ अझ ठूलो छ । हामीले प्रविधि आयात गर्न सक्छौँ, तर सबै जोखिमका लागि बाहिरबाट तयार समाधान प्राप्त हुँदैन । हिमालयको भूगोल विशिष्ट छ ।
त्यसैले स्थानीय आवश्यकता र स्थानीय भूगोलअनुकूल प्रविधि विकास तथा स्थानीयकरण गर्नुपर्ने हुन्छ । त्यसका लागि अनुसन्धान तथा विकासमा लगानी, विश्वविद्यालय र सरकारी संस्थाबीच सहकार्य, प्राविधिक जनशक्तिको विकास र निजी क्षेत्रको सहभागिता आवश्यक हुन्छ । नयाँ प्रविधि आविष्कार गर्ने क्षमता कमजोर हुनु मात्र समस्या होइन उपलब्ध प्रविधिलाई आफ्नै जोखिम र आवश्यकताअनुकूल विकास गर्न नसक्नु पनि ठूलो कमजोरी हो । हालैको रसुवा बाढी यस बहसका लागि अत्यन्त सान्दर्भिक उदाहरण बनेको छ । २६ अगस्ट २०२६ मा रसुवामा आएको आकस्मिक बाढीले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा ठूलो मात्रामा पानी, गेग्रान र ढुंगा बगाएको थियो ।
घटनापछि यसको कारणबारे विभिन्न अनुमान सार्वजनिक भए । तर आईसीआई मोडका पछिल्ला विश्लेषणअनुसार उक्त बाढी हिमताल फुटेर आएको जीएलओ नभई बरफ–चट्टानको हिमपहिरोले ल्हेन्दे नदीलाई अस्थायी रूपमा थुनेपछि आएको आकस्मिक बहावसँग सम्बन्धित थियो । उक्त विशेष घटनालाई अहिले नै विश्वव्यापी तापक्रम वृद्धिसँग प्रत्यक्ष रूपमा जोड्ने पर्याप्त आधार नभएको आईसीआई मोडले स्पष्ट गरेको छ ।
यो निष्कर्ष महत्वपूर्ण छ, किनकि यसले जलवायु परिवर्तनको बहसमा वैज्ञानिक अनुशासनको आवश्यकता देखाउँछ । रसुवाको बाढी जलवायु परिवर्तनसँग प्रत्यक्ष रूपमा प्रमाणित नभएको भन्दै जलवायु जोखिमलाई बेवास्ता गर्न मिल्दैन । हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनले हिम, हिउँ, हिमनदी र पानीको चक्रमा परिवर्तन ल्याइरहेको छ । त्यसले भविष्यमा विभिन्न जोखिमबीचको अन्तरसम्बन्धलाई अझ जटिल बनाउन सक्छ । त्यसैले जोखिमको वास्तविक कारण पत्ता लगाउने वैज्ञानिक अनुसन्धान र भविष्यको जोखिमका लागि तयारी गर्ने नीति दुवै आवश्यक छन् ।
रसुवाको घटनाले अर्को पाठ पनि दिन्छ, विपद् व्यवस्थापनमा कारण पत्ता लगाउनु जत्तिकै पूर्वतयारी महत्वपूर्ण हुन्छ । हिमपहिरो, पहिरो, अतिवृष्टि वा हिमतालसँग सम्बन्धित घटना कुन रूपमा आउँछ भन्ने कुरा सधैँ अनुमान गर्न सकिँदैन । तर जोखिम क्षेत्र पहिचान गर्न सकिन्छ, निगरानी गर्न सकिन्छ, सम्भावित बहावको मोडलिङ गर्न सकिन्छ, पूर्वसूचना प्रणाली निर्माण गर्न सकिन्छ र समुदायलाई तयारी अवस्थामा राख्न सकिन्छ।
नेपालले यस क्षेत्रमा संस्थागत आधार निर्माण गरिरहेको छ। तर कानुन, नीति र संरचना हुनु मात्र पर्याप्त हुँदैन। स्थानीय तहसम्म पुग्ने वित्तीय स्रोत, उपकरण, प्राविधिक जनशक्ति, नियमित अभ्यास र अन्तरनिकाय समन्वयले मात्र ती संरचनालाई प्रभावकारी बनाउँछ । जलवायु तथा विपद् जोखिमलाई विकासका हरेक तहमा समावेश गर्ने र प्रारम्भिक चेतावनी प्रणालीलाई अझ सुदृढ बनाउने आवश्यकता यसै कारण बढेको हो । यसरी हेर्दा जलवायु परिवर्तनलाई केवल वातावरणीय विषयका रूपमा बुझ्नु अपर्याप्त हुन्छ । यो कृषि, स्वास्थ्य, ऊर्जा, पूर्वाधार, अर्थतन्त्र, बसाइँसराइ, खाद्य सुरक्षा र राष्ट्रिय सुरक्षासम्म फैलिएको विषय हो । अझ महत्वपूर्ण कुरा, यो विकासको गुणस्तरको प्रश्न हो ।
हजारौँ वर्षअघि परेको खडेरीले सिन्धु सभ्यताको जीवनपद्धति परिवर्तन गर्न योगदान पु¥यायो । नदीको बहाव परिवर्तनले प्राचीन सभ्यताको भूगोल बदल्यो । अनिकालले समाज र राज्यलाई कमजोर बनाउन सक्थ्यो । समुद्र र भूगर्भीय प्रक्रियाले तटीय बस्तीहरूको भविष्य बदल्न सक्थे । तर ती घटनाबाट आजको संसारले एउटा महत्वपूर्ण पाठ सिक्न सक्छ—प्राकृतिक जोखिमलाई पूर्ण रूपमा रोक्न सकिँदैनÙ त्यसबाट हुने क्षति भने घटाउन सकिन्छ ।
आज हामीसँग विगतका मानिसहरूसँग नभएको एउटा ठूलो शक्ति छ, वैज्ञानिक ज्ञान । हामीसँग मौसमको पूर्वानुमान गर्ने क्षमता छ । उपग्रहबाट पृथ्वी हेर्न सक्छौँ । हिमनदीको परिवर्तन मापन गर्न सक्छौँ । नदीको बहाव निगरानी गर्न सक्छौँ । जोखिम नक्सा बनाउन सक्छौँ । डिजिटल प्रविधिबाट केही मिनेटमै हजारौँ मानिससम्म चेतावनी पु¥याउन सक्छौँ । त्यसैले आजको समयमा ठूलो क्षति हुनु केवल प्रकृतिको अपरिहार्यता भनेर पन्छिन मिल्दैन । जोखिमबारे ज्ञान हुँदाहुँदै तयारी नगर्नु पनि एक प्रकारको नीतिगत जोखिम हो ।
यसैले जलवायु परिवर्तनलाई हौवा भनेर खारेज गर्नु गलत हुन्छ । तर प्रत्येक बाढी, पहिरो वा खडेरीको दोष जलवायु परिवर्तनलाई दिएर विकास प्रणालीका कमजोरीबाट उम्कन खोज्नु पनि उत्तिकै गलत हुन्छ । वैज्ञानिक दृष्टिले वर्तमान मानवजन्य तापक्रम वृद्धि वास्तविक छ । पृथ्वीको प्राकृतिक जलवायु परिवर्तनशीलता पनि वास्तविक छ । र विपद्को क्षति मानव समाजको कमजोरी वा क्षमतासँग गहिरोसँग सम्बन्धित छ ।
यस बहसको सबैभन्दा परिपक्व निष्कर्ष सायद यही हो—जलवायु परिवर्तनले जोखिमको पृष्ठभूमि बदलिरहेको छÙ तर जोखिमलाई विपद्मा बदल्ने वा त्यसको क्षति सीमित गर्ने काम मानव समाजको निर्णय, विकास पद्धति र तयारीले गर्छ ।
नेपालका लागि यसको अर्थ अझ स्पष्ट छ । अब विकास र विपद् जोखिम न्यूनीकरणलाई छुट्टाछुट्टै विषय मान्न मिल्दैन । प्रत्येक सडकमा भविष्यको वर्षा र पहिरोको हिसाब हुनुपर्छ । प्रत्येक पुलमा सम्भावित बाढीको अनुमान हुनुपर्छ । प्रत्येक हिमाली परियोजनाले हिमनदी र हिमतालको परिवर्तनलाई ध्यानमा राख्नुपर्छ । प्रत्येक स्थानीय तहसँग कागजी योजना मात्र होइन, कार्यान्वयन गर्न सक्ने जनशक्ति, उपकरण र अभ्यास हुनुपर्छ । अनुसन्धान र प्रविधिलाई विलासिता होइन, भविष्यको सुरक्षा पूर्वाधारका रूपमा हेर्नुपर्छ । अन्ततः जलवायु परिवर्तनको प्रश्न पृथ्वी तातिरहेको छ कि छैन भन्ने प्रश्नमा मात्र सीमित छैन ।
यो प्रश्न हाम्रो सभ्यता कति दूरदर्शी छ भन्ने पनि हो । प्रकृतिले हजारौँ वर्षदेखि आफ्नो स्वरूप बदल्दै आएको छ । मानिसले त्यसका बीच सभ्यता निर्माण गरेको छ । अब चुनौती प्रकृतिलाई स्थिर बनाउनु होइन बदलिँदो प्रकृतिसँग सुरक्षित रूपमा बाँच्न सक्ने समाज निर्माण गर्नु हो । प्रकृति परिवर्तनशील थियो, छ र रहनेछ । फरक यति हो, अब त्यस परिवर्तनको अर्थ बुझ्ने जिम्मेवारी र त्यसअनुकूल आफूलाई बदल्ने क्षमता मानिससँग पहिलेभन्दा धेरै छ । प्रश्न प्रकृति बदलिन्छ कि बदलिँदैन भन्ने होइन प्रश्न बदलिँदो प्रकृतिसँगै हामी कति बुद्धिमानीपूर्वक बदलिन सक्छौँ भन्ने हो ।
२४ °C काठमाडौं
Facebook Comments