• १० वैशाख २०८३, बिहिवार
  • १९ °C काठमाडौं
न्यायका लागि सडकमा अबिरल संघर्षगर्दै द्वन्द पीडित परिवार

विष्णु अधिकारी, ११ चैत्र, बर्दिया । सशस्त्र द्वन्दमा बेपत्ता पारिएका परिवारका आँखा आजको दिनसम्म पनि ओभएका छैनन् । द्वन्दकालमा राज्यबाट होस वा बिद्रोहि पक्षबाट बर्दियामा बेपत्ता पारिएका परिवारका सदस्यहरु आफन्तको तस्वीर हातमा बोकी सरकारबाट न्यायको आशामा बसिरहेका छन् । 

गम्भिर मानव अधिकार उल्लंङ्घन सम्बन्धी सत्यको अधिकार र पिडितको सम्मानका लागि अन्तराष्ट्रिय दिवसको अवसरमा पीडित परिवारहरुले द्वन्द पिडित समिति बर्दियाको आयोजनामा सदरमुकाम गुलरियामा शान्ति ¥याली गरेका छन् । पीडित परिवारहरुले वेपत्ता परिवारका नागरिकहरुको अवस्था तत्काल सार्वजनिक गर्न स्वतन्त्र, सक्षम, शक्तिशाली वेपत्ता आयोग गठन गर्न माग गरेका छन् । पीडित परिवारको सत्य, परिपुरण र अभियोजनको ब्यवस्था सुनिश्चित गरि सामाजिक रुपान्तरण सहितको पिडित केन्द्रित संक्रमणकालीन न्याय प्रक्रिया लागु गर्न सरकार सँग माग गरेका छन् । 

राजापुर नगरपालिका वडा नम्बर ६ वेपत्ताका परिवार सुदन थारुले बावु बेपत्ता भएको २२ बर्ष वितीसक्दा पनि नर्फेको बताए । २०५९ साल कार्तिक ३ गते राती १ बजे लात्ताले ढोका हान्दै एकहुल मानिस भित्र पसि राजु भन्ने राजकुमार यहि हो भन्दै बुवालाई बाटो देखाउन कब्जामा लिएर गएको र बाटो देखाएर फर्काइदिन्छौं भनेर लगे । २ दशक वितिसक्दा पनि न बाचेको न मरेको बावुको अत्तोपत्तो छैन । आज सम्म पनि काजक्रिया गर्न नपाएकोमा गहभरि आशु झार्दै छोराले दुखेसो पोखे । बुवालाई लिएर गएपछि हाम्रो लालन पालनको लागि आमा हिरा थारुले थेरै दुःख गरी हुर्काएको स्मरण गरे । बुवाको अवस्था बारे केहि थाह हुन्छ कि भनेर सडकमा भौतारिएको बर्षौ वितिसक्यो, पिडा कस्ले बुझ्ने उनले प्रश्न गरे । 

घरको भित्तामा टाँगिएको बुवाको तस्विर हेर्दै साँझ, राति, विहान आगनमा टुप्लुक्क आइपुग्छन कि भनी मनमा झिनो आशा लिएर दैनिकि वितेको उनी बताउँछन् । बुवाको अवस्था र सत्य कुरा पत्ता लगाउन आफु शरिरमा एकमुठ्ठी सास रहे सम्म खोजीका लागि सरकार सँग लडिरहने उनको भनाई छ । गेरुवा गाउँपालिका वडा नं. ६ प्रशेनीपुरकि अस्मिता चौधरीले आफु १ बर्षको हुँदा बुवा २०५९ सालमा वेपत्ता भएकोले बुवाको अवस्था पत्ता लगाउन भौतारिरहेको चुरेकुञ्जसँग बताईन । बुवा खाना खाइरहेको समयमा राज्य पक्षबाट बुवा सहित परिवारलाई लिएर गएको र विच बाटोमा पुगेपछि परिवारलाई छाडिदिएको र बुवालाई संगै लिएर गएको आज २३ बर्ष वितिसक्दा पनि बुवा नफर्केको उनको भनाई छ । 

विपन्न परिवारको सदस्य भएको हुँदा आमाले मजदुरी गरेर लालन पालन गर्नु भएको दुःख आँखा अगाडी झल्झली सम्झाना आउँछ । गहभरि आशु र पिडाले भक्कानिदै उनले भनिन, बाबाको अवस्था मरेको भए लाश र जिउँदो भए सास सहित सरकारले फिर्ता गरिदिनु पर्यो उनले आग्रह गरिन् । सरकारले द्वन्द पीडित परिवारको घाउँमा मलहम लगाउनुको सट्टा पिडितलाई समयमा न्याय नदिएर थकाउने रणनिति लिएको आरोप उनको छ । शान्ति ¥यालीमा बर्दियाका ८ वटै पालिकाबाट द्वन्द पिडित परिवारका सदस्यहरु सहभागी थिए । बेपत्ता परिवारका आफन्तहरुले सरकारले आफूहरुलाई वेवास्था गरेकाले छिटोभन्दा छिटो सत्यतथ्य जानकारी गराईदिन आग्रह गरेका छन् । 

सम्बन्धित समाचार

Facebook Comments