• ९ वैशाख २०८३, बुधवार
  • २९ °C काठमाडौं
धानको उर्वर भूमिमा उखु खेती

यादव आचार्य, १० भदौ, बर्दिया । बर्दियाको राजापुर र गेरुवा क्षेत्र धान उत्पादनको दृष्टिले पकेट क्षेत्र मानिन्छ । देशकै अन्नको भण्डार मानिने राजापुरमा चिनी मिल स्थापना कार्यले तिव्रता लिएसँगै स्थानिय किसानको आर्कषण उखु खेतीमा बढेको छ । 

कर्णाली र गेरुवा (कर्णाली) दुई ठूला नदीको टापुमा अवस्थित भौराक्षेत्र धान उत्पादनको लागि अब्बल मानिन्छ । किसानहरुले सो क्षेत्रमा उखु खेती गर्न थालेपछि धान खेती घट्ने चिन्ता थपिएको छ । राजापुरका स्थानिय छप्पुराम थारुले भने, राजापुर क्षेत्रमा चिनी मिल संचालनको लागि अनुमती नै नदिनु पर्ने हो । खोई सरकारले कसरी अनुमति दियो । किसानहरुले उखु लगाउन शुरु गरेका छन् । बन्यजन्तु प्रभावित क्षेत्र समेत भएकाले उखु बारीमा बन्यजन्तु लुकेर मानविय आक्रमण गर्न सक्ने अर्को त्रास छ ।

थारुले थपे, राजापुर नगरपालिकाको वडा नम्वर २, ४ र ८ नम्बर वडा तथा गेरुवा गाउँपालिकाका धानखेती योग्य जमिनमा उखुखेती गरिएको छ । धानको उर्वर क्षेत्रमा उखु खेती उपयुक्त भएन । उखु लगाउने क्रम बढ्दो छ । यस बर्ष किसानहरुले विउको लागि उखु रोपेका छन् । अर्को बर्ष धेरै खेतबारीमा उखु लगाउने अनुमान गर्न सकिन्छ । धान उत्पादन हुने क्षेत्रमा यस्तो खेती गर्न अनुपयुक्त हुने उनको बुझाई छ । 

बर्दियामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत चैते धानको सुपर जोन तथा माछा र केराको जोन विस्तार गरिएको छ । जिल्लाका ८ वटै पालिकामा कृषि उत्पादनको उत्पादकत्व बृद्धिको आधार छनोटगर्दै जोन तथा सुपरजोन विस्तार गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाई बर्दियाका अनुसार राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्र तथा ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ९ र बारबर्दिया नगरपालिकाको वडा नम्बर ३ र ४ चैते धानको सुपरजोन हुन् । 

राजापुरमा बर्षे र चैते गरी बाह्ै महिना धान खेती गरिन्छ । उखु खेतीका कारण यसबर्ष राजापुरमा चैते धानको क्षेत्रफल र उत्पादन घटेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाई बर्दियाका कृषि अधिकृत ध्रुवराज जोशीले बताए । सुपरजोन तथा जोन मार्फत गत आर्थिक बर्षमा बर्दियामा ६ सय ५० हेक्टर क्षेत्रफलमा गरिएको चैते धान खेतीबाट क्रप कटिङको आधारमा ३ हजार ४ सय ६ मेट्रिक टन उत्पादन भएको छ । 

उखु खेती गरिनु पूर्व आर्थिक बर्ष ०७९÷८० मा १ हजार १५० हे क्षेत्रफलमा ६ हजार ४ सय मेट चैते धान उत्पादन भएको थियो । अधिकृत जोशीले थपे, बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २, ३, ४, ७, ८, जानकी गाउँपालिका वडा नम्बर १ देखि ४ सम्म र खजुरा गाउँपालिका वडा नम्बर २ र ४ लाई बर्षे धान जोन बनाई परियोजना एकाई बर्दिया मार्फत हेरिँदै आएको छ । बाँकेमा २ हजार १ सय १० हेक्टर क्षेत्रफलमा गरिएको बर्षे धान खेतीबाट ८ हजार ९ सय २५ मेट्रिक टन धान उत्पादन भएको छ । चैते धानका लागि प्रर्याप्त सिंचाई सुविधा नहुँदा समस्या पर्ने गरेको जोशीले बताए । सडक पूर्वाधार निर्माणले सिंचाई कुलोहरु मासिएका कारण खेत सम्म सिंचाई पुर्याउन किसानहरुले सास्ती ब्यहोर्नु परेको छ ।

धानसँगै माछा र केरा जोन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बर्दियामा धान सुपरजोन र बाँकेमा धान जोन सँगसँगै बर्दियामा केरा र माछाको जोन मार्फत उत्पादनलाई प्राथमिकता दिईएको छ । बाँसगढी नगरपालिकाको वडा नम्बर १, २ र ३ गुलरिया नगरपालिकाको १ देखि ९ नम्बर वडा र मधुवन नगरपालिकाको ५ देखि ९ सम्मको वडा केरा जोन तोकिएको परियोजनाकी नायव सुब्बा विमला भण्डारीले बताईन् ।  

परियोजना अन्र्तगत बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिकाको ४ देखि ९ नम्बर वडा, बारबर्दियाको वडा नम्बर ३, ४, ९ र १० गुलरियाको वडा नम्बर २, ४, ५ र ६, मधुवनको वडा नम्बर २, ३, ४ तथा ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, ७, ८ र ९ लाई माछा जोन निर्माण गरिएको छ । उनले भनिन्, गत बर्ष ३ सय ४५ हेक्टर क्षेत्रफलमा गरिएको केराखेतीबाट १४ हजार १ सय ५ मेट्रिक टन केरा उत्पादन भएको छ । त्यस्तै २ सय ९२ हेक्टर क्षेत्रफलमा गरिएको माछा पालनबाट २ हजार १ सय ४५ मेट्रिक टन माछा उत्पादन भएको छ । 

साभार : अन्नपूर्ण पोस्ट् ...

सम्बन्धित समाचार

Facebook Comments