• १० वैशाख २०८३, बिहिवार
  • २८ °C काठमाडौं
नेपालमा बाघ संरक्षणसँगै ब्यवस्थापनमा चुनौती

यादव आचार्य, ४ भदौ, बर्दिया । बाघ संरक्षणको विश्व प्रतिवद्धतामा बाजी मारेको नेपाललाई विस्तारै बाघको दीगो संरक्षणसँगै ब्यवस्थापन तर्फ चुनौती थपिन थालेको छ । बाघ पाईने देशहरुले रुसको सेन्टपिटर्सवर्गमा सन् २०१० मा भएको सम्मेलनमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरे अनुरुप नेपालले लक्ष्य त सहजै पूरा गर्यो तर दीर्घकालिन बाघ संरक्षण र ब्यवस्थापनमा भने चुनौतीका चाङ छन् ।

 बाघ स्वस्थ जंगलको सूचक मानिन्छ । बाघ पाईने जंगल जैविकविविधताले पूर्ण मानिन्छन् । नयाँ बाघहरुले आफ्ना आधार क्षेत्रहरु बढाउँदै गएकाले उनीहरुको बासस्थान ब्यवस्थापन गर्नु उत्तिकै जरुरी छ । निकुञ्जहरुमा बाघको संख्या उल्लेख्य मात्रामा बढेपछि मानव–बाघ द्वन्द चुलिएको छ । राजमार्गहरुमा सवारी र्दुघटनाका कारण बाघ मर्ने क्रम बढ्दो छ । आहाराको खोजीमा बाघहरु जंगल बाहिर निस्कदा मानविय क्षती बढेको छ । मानविय आक्रमण गर्ने समस्याग्रस्त बाघहरु ब्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर अशोककुमार रामले भने, मानविय आक्रमण गर्ने बाघ छोपेर राख्न धेरै कठिनाई छ । खुला चिडियाखाना नहुँदा त्यस्ता बाघहरुलाई प्राकृतिक रुपमा राख्न समस्या पर्छ ।

बर्दिया राष्ट्रिय निकुञ्जसँग समस्याग्रस्त ६ वटा बाघहरु राख्न सक्ने क्षमता छ । हाल निकुञ्जका खोरहरुमा ४ वटा त्यस्ता बाघ छन् । बाघले प्राकृतिक रुपमा ५० किलोग्राम मासु आहाराको रुपमा खान्छ । खोरमा भएका बाघहरुलाई ३० केजी खुवाईन्छ । ब्यवस्थापन गर्नुपर्ने बाघको आहारा र पूर्वाधारहरुको लागि प्रर्याप्त बजेट छैन । संरक्षणमा काम गर्ने संघसंस्था लगायतको सहकार्यमा जसोतसो ब्यवस्थापनको काम हुँदै आएको छ । प्रमुख रामले थपे, खोरमा राखिएका बाघहरुलाई सरसफाई, खुला ठाउँ, उपचार, अनुगमन लगायतको पाटोलाई गम्भीर रुपमा लिई काम गरेका छौं । निकुञ्जका खोरमा राखिएका ३ वटा र जंगलमा एउटा गरी गतबर्ष सम्म ४ वटा पाटेबाघ मरेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ वटा पाटेबाघ छन् । यिनको संख्या बढ्दो क्रममा छ । निकुञ्जमा यिनको आहारा प्रजाती ४० देखि ५० हजारको विचमा छ । त्यो प्रशस्त हो । त्यसलाई दीर्घकालिन रुपमा स्थायित्व दिन बासस्थान, पानीको श्रोत ब्यवस्थापनका कार्यगर्दै आईरहेका छौं । उनले भने, स्थानिय समुदायसँग सहकार्य गरी द्वन्द ब्यवस्थापन, पीडितलाई राहत वितरण लगायत सचेतनाका कामहरु सँगसँगै गरिएको छ । गतबर्ष निकुञ्ज क्षेत्रमा मानव–बाघ विच खासै द्वन्द देखिएन । १ जना बाघको आक्रमणमा घाईते हुनुहुन्छ । सन् २०२५ सम्म फेरी बाघको गणना हुने उनको भनाई छ ।

बर्दियाको मधुवन नगरपालिकामा अवस्थित भारतको कर्तनियाघाट बन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने खाता जैविकमार्ग लगायत जिल्लाका बन क्षेत्रमा बाघले धनजनको क्षतीगर्दै आएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ अधिकृत द्रोणराज शर्माले बताए । जैविकमार्ग बन्यजन्तु ओहोरदोहोर गर्ने रुपमा विकास गर्नुपर्ने थियो तर हामीले बासस्थानको रुपमा विकास गर्यौ । जुन कारणले बाघ मानवद्वन्द बढेको उनले सुनाए । गतबर्ष बन क्षेत्रमा ४ जना बाघ र १ जना चितुवाको आक्रमणमा परी मृत्यु भएको छ । जंगलप्रतिको परनिर्भरता घटाउन सके द्वन्द पनि घट्ने उनको बुझाई छ ।

हराउँदै बाघको प्रजाती 

नेपालमा सन् १९९९ मा ९८–१२३ वटा बाघ २००५/६ मा १०९–१३० पुग्यो । सन् २००८/९ मा यसको संख्या घटेर १२१ पुगेको हो । विश्व प्रतिवद्धता अनुरुप नेपालले बाघ संरक्षणमा कम्मर कसेपछि सन् २०१३/१४ मा १९८ पुगेको थियो । सन् २०१८ मा २ सय ३५ रहेको पाटेबाघ सन् २०२२ मा दोब्बर भन्दा बढी ३ सय ५५ वटा पुग्यो । पछिल्लो तथ्यांक अनुसार चितवन १२८, बर्दिया, १२५, बाँके २५, शुक्लाफाँटा ३६  र पर्सामा ४१ वटा पाटेबाघ छन् । यसको संख्या बढ्दै छ । जैविकविविधतामा पारिस्थितिक प्रणालीको सूचक मानिने बाघका प्रजातीहरु पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेका छन् । 

 वासस्थान विनास, आहाराको कमी, मानव–बाघ द्वन्द, तस्करी लगायत बढ्दो चोरी शिकारीका कारण बाघका उपप्रजातीहरु लोपहुने अवस्थामा पुगेका हुन् । विश्वमा पाईने बाघका ९ उपप्रजाती मध्ये ३ प्रजाती लोप भैसकेका छन् । पाटेबाघ नेपाल, भारत, भुटान र बंगलादेशका संरक्षित क्षेत्रहरुमा मात्र पाईन्छन् । पछिल्लो समय अर्को प्रजाती समेत प्राकृतिक वासस्थानबाट हराईसकेपछि चिडियाखानामा राखेर वैज्ञानिकहरुले प्रजनन् शुरु गरेका छन् । अन्य ५ वटा उपप्रजातीहरु विश्वबाटै लोपोन्मुख अवस्थामा रहेको अन्नपूर्ण संरक्षण क्षेत्रका आयोजना प्रमुख डाक्टर रविन कडरियाले बताए । 

सन् १९४० को दशकमा बाली, १९७० को दशकमा क्यास्पियन र १९८० को दशकमा जाभान उपप्रजातीका बाघ संसारबाटै लोप भैसकेका छन् । साउथ चाइना बाघ प्राकृतिक वासस्थानबाट लोपहुने अवस्थामा पुगेपछि चिनका चिडियाखानाहरुमा राखेर प्रजनन् कार्य शुरु गरिएको छ । यसको संख्या ६५ वटा छ । कम्वोडिया, लाओस् र भियतनामका प्राकृतिक स्थानबाट बाघ लोप भैसकेका छन् । बंगलादेशमा बाघको भारी गिरावट आएको डा. कडरियाको भनाई छ । सन् २०१० को प्रतिवद्धता पछि भारत, नेपाल, चिन, भुटान, ईण्डोनेशीया र रुसमा बाघको बृद्धिदर उच्च छ । नेपालमा बाघको संख्या ३ गुणा बढेको छ । बंगलादेश, थाईल्याण्ड, म्यानमार, र मलेसियामा बाघको संख्या घट्दो छ ।

 विसौं शताब्दीमा विश्वमा १ लाखको हाराहारीमा रहेको बाघको संख्या सन् २०१६ मा ३ हजार ८९० वटा पुग्यो । सन् २०२३ मा बृद्धिभै ५ हजार ५७४ पुगेको छ । अस्तित्वमा रहेका ६ उपप्रजातीका बाघहरु पछिल्लो तथ्यांक अनुसार नेपालमा (३५५), भुटान (१३१), म्यान्मार (२८), भियतनाम (०), मलेसिया (१५०), चीन (६०), इण्डोनेसिया (३९३), रसिया (५००), बंगलादेश (११४), भारत (३६८२), थाईल्याण्ड (१६१), लाओस (०) लगायत कम्बोडिया गरी १३ देशमा बाघ पाईन्छन् । भियतनाम र लाओसमा बाघको संख्या शून्य रहेको छ । बाघको संख्या बढेपनि मानव–बाघद्वन्द र चोरी शिकारीका कारण बाघको संरक्षण चुनौतीपूर्ण बनेको प्रमुख कडरियाले बताए । 

 

सम्बन्धित समाचार

Facebook Comments