बर्दिया राष्ट्रिय निकुञ्जमा हात्तीको आहारा बढ्यो
यादव आचार्य, ७ साउन, बर्दिया । हिउँदका बेला मध्यवर्ती क्षेत्र वरपर किसानका खेतवारीमा धान, गहुँ, मकै लगायतका खेती बालीहरु खाएर नोक्सानीगर्दै हिड्ने बर्दियाका एसियन जंगली हात्तीहरुलाई बर्षा याम शुरु भएसँगै निकुञ्ज भित्रै आहारा बढेको छ । निकुञ्जमा प्रशस्त आहारा भएपछि हात्तीहरु जंगलमै रमाउन थालेका छन् ।
हात्तीमा विद्यावारिणी गरेका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर अशोक कुमार रामले बर्षादको समयमा निकुञ्ज भित्र हात्तीलाई प्रशस्त आहारा भएकोले कुनै समस्या नरहेको बताए । हिउँदमा जस्तो आहारा समस्या यतिखेर छैन । आहारा नहुँदा सुख्खा समयमा हात्तीहरु केरा, सागुन, साल लगायतका रुखका बोक्रा समेत खान्छन् । हात्तीलाई धेरै आहारा चाहिन्छ । त्यसले पनि नपुगेपछि खेतवारीमा किसानहरुले लगाएको धान, गहुँ, लगायतका खेती, बाली खाने अनि नोक्सानी गर्ने उनीहरुको आदत हुन्छ ।
नेपालकै हात्ती विज्ञ रामका अनुसार बर्दिया निकुञ्ज क्षेत्रमा १ सय ७० वटा जंगली हात्ती छन् जसमा ५० वटा जति प्रवासी र बाँकी रैथाने छन् । यतिखेर हात्तीको झुण्ड खाता जैविकमार्ग लगायतका क्षेत्रमा देखिएको छ । बसाई सर्ने क्रममा हात्तीहरु नेपाल भारत दुवै तर्फका जंगलहरुमा विचरण गर्ने गर्छन् । उनले भने निकुञ्जको हात्तीसार स्थित प्रजनन् केन्द्रमा १३ वटा हात्ती छन् । हात्ती संरक्षणमा मुख्य चुनौती भनेको मानव–हात्ती द्वन्द नै हो । उनले भने यसबर्ष हात्तीले मानविय क्षती नगरेपनि अन्नवाली लगायत घरगोठमा क्षती पुर्याएको छ ।
खानको लागि धेरै आहारा, प्रशस्त पानी र ठूलो झुण्डमा बस्न रुचाउने भएकाले हात्ती एकै ठाउँमा नबसी जीवन यापनको लागिलामो यात्रामा निस्कन्छन् । बर्दियामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, भारतको दुधवा नेशनल पार्क तथा कर्तनियाघाट बन्यजन्तु आरक्षदेखि हात्तीहरु ओहोर दोहोर गर्ने गरेको उनी बताउँछन् । हात्तीले लामो यात्रा गर्ने भएकाले पनि भुपरिधि स्तरिय संरक्षण आवस्यक हुने उनको बुझाई छ । बर्दियामा निकुञ्जले हात्ती संरक्षणको लागि बासस्थान, पानी लगायत आहारा क्षेत्र ब्यवस्थापन र द्वन्द निरुपण गर्न सचेतनाका कार्यहरुगर्दै आएको छ । हात्ती संरक्षित बन्यजन्तुको सूचिमा पर्दछ ।
हात्तीले धनजनको क्षती गरे क्षतीपूर्ति ऐन तथा निर्देशिका मार्फत सरकारले राहत उपलब्ध गराउँदै आएको बताए । जंगली हात्तीहरुमा रोगको अध्ययन नगरिए पनि प्रजनन् केन्द्रमा रहेका घरपालुवा हात्तीहरुमा टीवी, हर्पिस, दम लगायतका रोगहरु पाईने प्रमुख संरक्षण अधिकृत रामले प्रष्ट्याए । मिचाहा प्रजातीका कारण हात्तीको आहारामा कमी आउने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित तुम्वाहाङ्फे बताउँछन् । मिचाहा प्रजाती ब्यवस्थापन गर्न निकुञ्ज र कोषले सहकार्यगर्दै आएको छ । हात्ती मानव द्वन्दका बेला चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवा, कोष एवम् निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको र्यापिड रेस्पोन्स टीम तत्काल मैदानमा पुग्ने र आक्रमणबाट जोगिने उपायका बारेमा सचेत पार्ने गरेको उनले बताए । आफू असुरक्षित भएको महशुस गरेपछि हात्तीले आक्रमण गर्ने भएकाले जंगल क्षेत्रमा नजान र सावधानी रहन अधिकृत तुम्बाहाङ्फेको सुझाव छ ।
भारतको कर्तनियाघाट वाईल्ड लाईफ सेन्चुरी र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्र्तर्राष्ट्रिय जैविकमार्ग भएर दुवै देशका हात्तीहरु ओहोरदोहोर गर्छन् । डिभिजन बन कार्यालयसँग हात्ती संरक्षणको नाममा कुनै बजेट नआउने भएपनि गैरसरकारी संस्थाको सहकार्यमा मानव–हात्ती सहअस्तित्वको लागि सचेतनात्मक ‘हात्ती मेरो साथी’ कार्यक्रम संचालन गरिएको डिभिजन बन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले बताए । उनले भने, अलग्गै हात्ती संरक्षणको नाममा हामीलाई बजेट आउँदैन । लुम्बिनी प्रदेश सरकारको सहयोगमा केही विद्युतिय तारवार गरेका छौं । आगामी बर्षदेखि हात्तीले गर्ने घरगोठ, अन्नवाली क्षतीको विमा कार्यक्रम शुरु गर्ने तयारीमा छौं ।
२८ °C काठमाडौं
Facebook Comments