बर्दियाका पुग्नैपर्ने पर्यटकिय गन्तब्य
यादव आचार्य, ५ चैत्र, बर्दिया । पर्यटकिय गन्तब्यको दृष्टिले बर्दिया पश्चिम नेपालको हव मानिन्छ । तराईकै ठूलो बर्दिया राष्ट्रिय निकुञ्जमा पाईने लोपोन्मुख पाटेबाघ, जल सम्पदा, एवम् कृषि पर्यटनले विश्वकै ध्यान खिच्न सफल भएको छ ।
बर्दियामा राष्ट्रिय निकुञ्ज, गुलरियाको प्राकृतिक बासस्थानको संरक्षण क्षेत्रमा रहेका कृष्णसार, निकुञ्ज भित्रको बबई उपत्यका लगायत कोठियाघाट स्थित कर्णाली (गेरुवा) नदीमा निर्मित नेपालकै लामो पक्की पुल र कर्णाली नदीमा एउटा पिलरमा निर्मित एसियाकै उत्कृष्ट चिसापानी पुल हेर्न लायक छन् ।
गुलरियामा अवस्थित बगलामुखी मंदिर र कोटही मन्दिर, मधुवनको कुसुम्बादेवी मन्दिर, ठाकुरद्वाराको ठाकुरबाबा मन्दिर, राजापुर गणेश मन्दिर, बारबर्दियाको सदाशिव मन्दिर, बढैयातालको शीतला माई मन्दिर र बाँसगढीको केदारेश्वर धाम धार्मिक पर्यटकिय गन्तब्य हुन् । नेपाल सरकारले बाँसगढीको केदारेश्वर धामलाई पुग्नुपर्ने १०० औं गन्तब्यमा राखेको छ । बढैयाताल, सत्खलुवा ताल, ताराताल, भगरताल, दानवा ताल ऐतिहासिक मानिन्छन् । त्यस्तै खाता जैविकमार्ग, डल्ला जैविकमार्ग होमस्टे बर्दियाका ऐतिहासिक पर्यटकिय गन्तब्य हुन् ।
बर्दिया अन्नको भण्डार मानिन्छ । यहाँको कृषि प्रणालीलाई पर्यटनसँग जोड्दै कृषि पर्यटनको अवधारणा लागु गर्न सके पर्यटनमा थप टेवा पुग्ने देखिन्छ । प्रचार प्रसार एवम् राज्यको दृष्टि नपर्दा यहाँका पर्यटकिय गन्तब्य एवम् पर्यापर्यटन ओझेलमा परेको छ । देशकै पर्यटन उद्योगको सर्किटमा सरकारले जोड्न नसक्दा काठमांडौ झरेका बिदेशी पर्यटकहरु पोखरा, चितवन भ्रमण गरी फर्किने गरेका छन् । बर्दियाको पर्यटकिय बिकासका लागि चितवन आउने पर्यटकहरुलाई बर्दिया ल्याउन राज्यले पहल गर्नुपर्ने बर्दियाका पर्यटन ब्यवसायी कृष्ण भट्टराईले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्ज
पश्चिम तराईकै आर्कषक पर्यटकिय गन्तब्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज बाँके, बर्दिया, सुर्खेत तथा कैलालीको सीमासँग जोडीएको छ । ९ सय ६८ बर्ग किलोमिटर क्षेत्रफलमा फैलियको निकुञ्जमा लोपोन्मुख जैविकविविधता अवलोकन गर्न पाईन्छ । पाटेबाघ, गैडा, एसियन हात्ती, चौका, विभिन्न पंक्षीप्रजाती, बनस्पती निकुञ्जका प्रमुख आर्कषण हुन् । बर्दिया राष्ट्रिय निकुञ्जले बिश्वकै पर्यटकिय गन्तब्य स्थान बनाउन सफल भएको छ । ठाकुरद्वारामा आउने पर्यटकहरु जंगल वाक, जीप तथा हात्ती सफारी, गोही प्रजनन् केन्द्र, हात्तीसार, बन्यजन्तुहरुसँगै थारु सँस्कृति, परिकारको स्वाद लिने गर्छन् । ठाकुरबाबा नगरपालिकामा ऐतिहासिक ठाकुरबाबा मंदिर छ ।
कृष्णसार संरक्षण क्षेत्र
बर्दियाको गुलरिया नगरपालिका खैरापुर स्थित पटाहा क्षेत्रमा नेपालकै र्दुलभ एन्टीलोप प्रजातिका बन्यजन्तु कृष्णसार पाईन्छन् । कञ्चनपुरको शुक्लाफाँटा बन्यजन्तु आरक्षमा कृष्णसार पालिएपनि बर्दिया कृष्णसारको प्राकृतिक बासस्थान हो । एउटा भालेले ५० वटा पोथी लिएर बस्ने यिनीहरुको अनौठो बानी तथा दौडने क्रममा हावामा ३÷४ पटक उफ्रिने विशेषता रहेको कृष्णसार प्रचण्ड गर्मीमा बस्न रुचाउँछन् । नेपालबाटै लोप हुन थालेपछि सरकारले बन्यजन्तु संरक्षण ऐनमा संरक्षित बन्यजन्तुको सूचिमा सुचिकृतगर्दै कृष्णसार संरक्षण क्षेत्र घोषणा गरी संरक्षण गरेको छ ।
बबई उपत्यका
बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको बबई उपत्यका यहाँको अनुपम पर्यटकिय गन्तब्य हो । सुर्खेत जिल्लाको सिमानासँग जोडीएको उपत्यकाबाट बबई नदी बगेको छ । बर्दिया निकुञ्जको घनघोर जंगल वरीपरी पहाडलाई चिरेर बगेको बबई नदी अनि एकसिंगे गैडा र पाटेबाघ यहाँको प्रमुख आर्कषण हो । बबई उपत्यका देखि परेवा ओडारसम्म र्याफ्टिंग जलयात्राले जुनसुकै पर्यटकको पनि मन लोभ्याउने गर्छ । निकुञ्ज क्षेत्र विस्तारका क्रममा बबई क्षेत्रमा रहेको सानोश्री बस्ती ब्यवस्थापन गरी त्यस क्षेत्रको संरक्षण अघि बढाईएको थियो । बबई उपत्यका आउनु पूर्व निकुञ्ज भित्र ऐतिहासिक दानवाताल रहेको छ । परापूर्व कालमा तारा खसेर ताल बनेको र दानवहरुसँग जोडिएको किंवदन्ती पाईन्छ ।
खाता जैविकमार्ग
भारतको कर्तनियाघाट बन्यजन्तु आरक्ष र नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई पुलको रुपमा जोड्ने मधुवन नगरपालिकामा अवस्थित अन्तर्राष्ट्रिय खाता जैविकमार्गमा दुवै देशका बन्यजन्तुहरु ओहोरदोहोर गर्ने प्रमुख मार्ग हो । विशेष गरी हात्ती, बाघ, गैंडा लगायतका बन्यजन्तुहरुको अधिकांस आवतजावत यहि मार्गबाट गर्दन् । जैविक मार्गमा लोपोन्मुख एवम् संरक्षित बन्यजन्तुहरु अवलोकन गर्न पाईन्छ । खाता जैविकमार्ग क्षेत्र डल्लाका स्थानियहरुले होमस्टे संचालन गरी पर्यटकहरुलाई ग्रामिण आवासिय आनन्द दिलाउने गर्छन् । केही बर्ष अघि बेलायती राजकुमार ह्यारीले पनि जैविकमार्गसँगै डल्ला होमस्टेमा थारु सस्कृति अवलोकन गरीसकेका छन् । बन्यजन्तुहरुको चहलपहल धेरै हुने भएकाले पनि यस क्षेत्रमा मानव–बन्यजन्तु बिच द्वन्द चरमोत्कर्षमा पुगेको छ ।
नेपालकै लामो पक्की पुल
बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकालाई जोड्ने गेरुवा (कर्णाली) नदीमा अवस्थित नेपालकै लामो पक्की पुल पछिल्लो समय पर्यटकको आर्कषण बनेको छ । १ हजार १५ मिटर लामो पुलले एउटा नदी र सोही नदीको भँगालो तार्न मद्दत गर्छ । पुलबाट गेरुवा नदीमा डल्फीन लगायतका जलचर अवलोकन गर्न पाईन्छ । पुल निर्माण पश्चात पुल मुनी टापुमा जंगल भएसँगै गैंडाको आवागमन समेत बढेको हुँदा पुलसँगै पर्यटकले एकसिंगे गैंडाको अवलोकन गर्ने अवसर पाउने गर्छन् । सत्तीघाट स्थित कर्णाली नदीमा गंगेटिभ डल्फीन समेत पर्यटकहरुले अवलोकन गर्ने गर्छन् ।
कर्णाली चिसापानी पुल
लुम्बिनी प्रदेशकै पश्चिम प्रवेश द्वार बर्दिया र सूदुरपश्चिम प्रदेशको प्रवेश द्वार कैलाली जिल्लालाई जोड्ने कर्णाली नदीमा निर्मित एकखम्बे कर्णाली चिसापानी पुल पर्यटकको ध्यान खिच्न सफल भएको छ । जापानको कावासाकी कम्पनीले निर्माण गरेको पुल र बर्दिया राष्ट्रिय निकुञ्जका बन्यजन्तु एकैसाथ अवलोकन गर्न पाईन्छ । हिजोआज पुलमा पर्यटकहरु खचाखच भरिने गरेका छन् । यहाँ बाह्ैमास पर्यटकहरु आउने गर्छन् ।
ओम केदारेश्वरधाम
बर्दियाको बाँसगढी नगरपालिका स्थित पूर्व पश्चिम राजमार्ग किनारमा निर्मित ओम केदारेश्वर धाम धार्मिक पर्यटकिय गन्तब्य स्थलको रुपमा परिचित छ । १ सय ८ फिट अग्लो ज्योर्तिलि∙ रहेको धामको दर्शन गर्न १ सय ८ खुट्किला सिँढी कैलास मार्ग चढेर उक्लनु पर्छ । सरकारले यस धामलाई नेपालकै सयौं गन्तब्य स्थलको रुपमा राखेको छ । केदारेश्वर धाममा १ सय ८ गोमुख धारास्नान तथा १ सय ८ तुलसी धाम पनि रहेको हुँदा नेपाल लगायत भारतबाट समेत तिर्थाटनको लागि सनातनीहरु आउने गरेको पाईन्छ ।
बगलामुखी मंदिर
बर्दियाको सदरमुकाम गुलरियामा अवस्थित बगलामुखी मंदिर धार्मिक पर्यटकिय एवम् तिर्थाटन क्षेत्रको रुपमा मानिन्छ । बगलामुखी मन्दिरमा दशै, शिवरात्री, हरितालिका तिजमा भक्तजनहरुको घुईचो लाग्ने गर्छ । प्रत्येक बिहिबार भजनकिर्तन हुन्छ । यसका साथै स्थानियहरु विवाह, ब्रतबन्ध, ग्रहशान्ति लगायतका धार्मिक कृत्यहरुका लागि बगलामुखी मंदिर प्रख्यात छ । गुलरियाकै सुहेलवामा रहेको कोटही मन्दिरमा समेत बिषेश पर्वहरुमा भक्तजनको घुईचो लाग्ने गर्छ । १९९० को दशकमा निर्माण गरिएको बगलामुखि मन्दिर २०४५ सालमा पुर्ननिर्माण गरिएको छ । नेपालमा काभ्रे र बर्दियामा मात्र बगलामुखी मंदिर रहेको जानकारहरु बताउँछन् ।
सत्खलुवा ताल
बर्दियाको बारबर्दिया नगरपालिकामा अवस्थित सत्खलुवा ताल प्राकृतिक एवम् सुन्दर ताल हो । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको ताल पर्यटनको दृष्टिले अनुपम छ । तालमा निकुञ्जबाट बन्यजन्तुहरु तालमा पानी पिउन आउने हुनाले पर्यटकहरुले सजिलै बन्यजन्तु अवलोकनको मजा लिन सक्छन् । तालको नजिकै रहेको गाउँमा होमस्टे समेत संचालनमा छ । यहाँको होमस्टेमा साँस्कृतिक विविधताको अवलोकन गर्न पाईन्छ । बारबर्दिया नगरपालिकामै ऐतिहासिक बारबर्देवा र सदाशिव मन्दिर रहेको छ ।
बढैयाताल
बढैयातालको नामबाट गाउँपालिकाको नामाकरण गरिएको छ । बढैयाताल ठूलो क्षेत्रफलमा फैलिएकाले यहाँ जलचर एवम् पंक्षी प्रजातीहरु अवलोकन गर्न सकिन्छ । बढैयातालमा हिउँदका बेला बसाई सराई गर्ने क्रममा साईवेरियन चराहरु केही दिन विसाउने गर्छन् । तालमा माछाका धेरै प्रजातीहरु पाईने भएकाले पनि यस क्षेत्रमा पंक्षीप्रजातीहरु प्रशस्त पाईन्छन् । यहाँ रातो कमलको फूल देख्न पाईन्छ । ताल क्षेत्र अवलोकनगर्दै पर्यटकहरु विभिन्न स्थानबाट बनभोज खान आउने भएकाले पिकनिक स्पोर्ट र ताल अवलोकन गर्ने मचानहरु निर्माण गरिएका छन् ।
राजापुर गणेश मन्दिर
राजापुर नगरपालिकामा अवस्थित गणेशबाबा मन्दिर जिल्लाकै प्रख्यात मन्दिर हो । यहाँ मंगल चौथी, गणेश जन्मोत्सव, माघ महिनाको मंगलबार लगायत अन्य मंगलबार पनि भक्तजनहरुको घुँईचो हुने गर्छ । विभिन्न जिल्लाहरुबाट तिर्थाटन लगायत पर्यटनको लागि सनातनीहरु आउने गर्छन् । स्थानिय तह तथा समुदायको सहयोगमा मंदिर प्रर्बद्धन एवम् संरक्षण गरिएको छ । प्रख्यात गणेश मन्दिरको प्रर्बद्धन जरुरी देखिन्छ ।
ईन्टेक
बर्दियाको गेरुवा गाउँपालिकामा अवस्थित ओखरिया ईन्टेक पर्यटकको आर्कषण बन्दै गएको छ । धेरै अघि प्राचिन कालमा गेरुवा राजापुर क्षेत्रमा सिंचाईको लागि निर्माण गरिएको ईन्टेक रंगरोगन गरी पर्यटनसँग जोडीएको हो । यहाँ आन्तरिक पर्यटकहरु आउने गर्छन् । बर्दिया लगायत छिमेकी जिल्लाहरुबाट घुम्न तथा पिकनिक खेल्नका लागि ईन्टेक क्षेत्र प्रख्यात छ । यसको प्रर्बद्धनको लागि गेरुवा गाउँपालिकाले चाँसो लिने गरेको पाईन्छ ।
ताराताल
मधुवन नगरपालिकाको साविक ताराताल गाउँ विकास समितिमा अवस्थित ताराताल ऐतिहासिक तथा प्राकृतिक तालको रुपमा मानिन्छ । परापूर्व कालमा आकासबाट तारा खसेर ताल बनेको स्थानिय किंवदन्ती छ । ताल हेर्नका लागि स्थानिय तथा आन्तरिक पर्यटकहरु आउने गर्छन् । तर तालको संरक्षण हुन नसकेको गुनासो स्थानियवासीको छ । पछिल्लो समय ताल अतिक्रमणको चपेटामा परेको छ ।
२८ °C काठमाडौं
Facebook Comments