• ३ वैशाख २०८३, बिहिवार
  • २३ °C काठमाडौं
अनि हामी कसरी शहरिया हुन सक्छौ ?

मुकुन्द अर्याल, २२ माघ, बर्दिया । शहर ! घोषणा गर्दैमा बन्ने कुरा होइन हाम्रोमा अलि फरक छ । राती सुत्दा गाउँमा सुतेको मानिस बिहान उठ्दा शहरमा भइन्छ । हाम्रोमा शहर निर्णयले/कानुनले बनाउछ । तर शहर कानुनले होइन बिशेषताले बनाउनु पर्ने हो, शहरी विशेषताले । हामीकोमा त्यो छैन । हामीकोमा त शहर घोषणाले बनायो । अनि हामी सबै सोकल्ड सहरिया भयौ । 

अन्तर्राष्ट्रिय सन्दर्भमा सहर भन्नाले प्रशासनिक घोषणा वा जनसंख्याको परिमाण मात्र होइन यो त सामाजिक, आर्थिक र संस्थागत संरचनामा आएको गुणात्मक रूपान्तरण हो । सहरमा आर्थिक जीवन मुख्यतः कृषि बाहेकका उद्योग, व्यापार र सेवा क्षेत्रमा केन्द्रित हुन्छ । भौतिक पूर्वाधारहरू नागरिकको दैनिकी चल्ने भरपर्दा प्रणालीका रूपमा बिकसित हुन्छन् ।  शिक्षा, स्वास्थ्य, आवास तथा यातायातजस्ता आधारभूत सेवामा पहुँच संस्थागत रूपमा सुनिश्चित हुन्छ । सक्षम र उत्तरदायी स्थानीय सरकार, योजनाबद्ध भू–उपयोग तथा वातावरणीय सन्तुलनमा आधारित बसोबास सहरका अनिवार्य विशेषता हुन्छन । तर, हामीकोमा धेरै नगरहरुले नगर वा महानगरको कानुनी मान्यता प्राप्त गरे पनि जीवनशैली अझै कृषिमा निर्भर छ । 

शहर वैदेशिक रोजगारीमा निर्भर छ । पूर्वाधार स्थिर छैन ।  सेवा पहुँचमा  असमानता छ  र शहरी विकास अव्यवस्थितका सुचक धेरै छन । त्यसैले अन्तर्राष्ट्रिय मापदण्डका आधारमा मूल्याङ्कन गर्दा नेपालका धेरै तथाकथित सहरहरू औपचारिक रूपमा मात्र सहर बनेका छन् । आवश्यक सामाजिक, आर्थिक र संस्थागत रूपान्तरण पूरा नभई वास्तविक अर्थमा सहर हुनै सक्दैन । हामी सहरिया होइनौ । हौं भने कथित सहरिया मात्र । दुई कोठाको घर, गाउँबाट बोकेर ल्याउने चामल, तोरी किनेर आफै पेलाएको तेल, अटोरिक्साको सवारी, गाउँबाटै आएको जर्किनको दूध, गेट अगाडिको धुले बाटो, बाटै भरी प्लास्टिक, भुस्याहा कुकुरको बिगबिगी, बेवारिसे चौपाया, फोहर पानी अनि धेरै ।

यो शहरको बिशेषता होइन । अनि हामी कसरी सहरिया हुन सक्छौ ? सदरमुकाम सहर होइन । मात्र प्रशासनिक केन्द्र हो । नगरपालिका हुनु शहर हुनु होइन । आज सदरमुकाम केन्द्र भन्दा अलि टाढा गए । यद्यपि त्यो पनि नगरपालिका नै हो । तथ्यांकमा त्यो शहरी क्षेत्रै हो । शहर मै गनिने । तर शहरका विशेषता कहिँकतै लाग्दैन । अलि केन्द्रमा (सदरमुकाम नजिक) बसिनेहुँदा उनिहरु सहरिया मान्छन हामिलाई । थाहा छैन उनिहरुको परिभाषा के हो सहरप्रति । वडा पो फरक हो, ब्याख्यामा त उनिहरु पनि सहरिया नै हुन नि ! बास्तबमा उनिहरु सहि बुझ्दछन । नगरपालिका क्षेत्रमै बसेपनि उनिहरु आफुलाई सहरिया मान्दैनन । किनकी उनिहरुलाई राम्रोसँग थाह छ सहरको परिभाषा । 

उनिहरुलाई थाह छ, शहर हुन के÷के चाहिन्छ । वास्तविक ज्ञान त त्यहीँ छ । “साना कुरा सुन्दर हुन्छन“ । समय निर्बाचन को छ । केन्द्रदेखि अलि टाढा जादा जिज्ञासा बढ्ने नै भो । थोरै जिज्ञासा प्रस्तुत गरे मैले । सोधे, माहोल के छ त नि ! बास्ताबमा माहोल नै केही छैन । उनिहरुले मलाई कथित सहरिया सम्झेर नभनेको भए त थाह भएन, नत्र उनिहरुलाई चुनाब आयो र यो÷यो उम्मेदवार छ भन्ने पनि थाह छैन । अझ गाउँ छिरेको कोहि छैन रे ! फेसबुक हेर्नू हुन्न र ? भन्दा बडो अचम्मको जवाफ“ उहाँ सब नाइहुइल किल बात रहथ“ भन्ने पो जवाफ पाए त ! पक्कै हो, हल्ला र यथार्थ फरक कुरा हुन । गाउँ वास्तविक बोल्छ । झुट बोल्दैन । झुट बोल्ने त शहर हो । जबर्जस्त सहर बनाइएका ठाउँहरु, हाम्रा जस्ता सहरहरु । हाम्रा सहर नक्कली छन् । बनावटी छन । बनावटी सहरहरु बनावटी कुरा गर्छन् । अर्गानिक कुरा सहि हुन्छन ।

सम्बन्धित समाचार

Facebook Comments