कल्पना जिज्ञासुको कथासंग्रह 'कचहरी' को परिचर्चा
बर्दिया । पछिल्लो समय साहित्य सिर्जनामा भिन्न चिन्तनको आवश्यकता रहेको बर्दियाको सदरमुकाम गुलरियामा आयोजित साहित्यिक कार्यक्रममा उपस्थित स्रष्टाहरूले औंल्याउनु भएको छ । साहित्य सिर्जना लागि नेपाली साहित्य वा यसै विषयको ज्ञान अनिवार्य नभई साधनारत जोकोहीले पनि लेख्न सक्ने कुरामा जोड दिइएको छ ।
विश्व नेपाली साहित्य महासंघ बर्दिया जिल्ला शाखाको आयोजनामा शनिबार गुलरियामा आयोजना गरिएको कार्यक्रममा साहित्यकार कल्पना पौडेल जिज्ञासुद्वारा लिखित कथा संग्रह ‘कचहरी’ को परिचर्चा तथा रचना वाचन कार्यक्रममा सहभागी साहित्यकारहरुले उपरोक्त कुरा औंल्याएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ महानन्द ढकालको प्रमुख आतिथ्यता र खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर ईन्द्र बहादुर भण्डारीको विशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रममा साहित्यकार जिज्ञासुद्वारा लिखित कथा सङग्रह ‘कचहरी’ मा विशेष गरी सामाजिक यथार्थता, विकृति, विसङ्गती, घरेलु हिंसा, वैदेशिक रोजगारी र यसबाट उत्पन्न समस्याहरू, यौन मनोविज्ञान, वर्तमान समयमा बालबालिकाहरूको अत्याधिक मोबाइल प्रयोग र यसबाट हुने नकारात्मक प्रभाव लगायतका विषयवस्तुहरुलाई अत्यन्तै आकर्षक ढङ्गबाट लेखिएको सहभागी साहित्यकारहरुले विचार राख्नुभएको छ ।
कथा सङ्ग्रहका कथाहरु विशेष गरी विद्यालयका बालबालिकाहरूले बुझ्न सक्ने सरल भाषाशैलीका कारण यसलाई पाठ्यपुस्तकमा समेत समावेश गर्न सकिने औल्याइएको थियो । कथा सङ्ग्रहका बारेमा बगलामुखी राधाकृष्ण माध्यमिक विद्यालयका शिक्षक तथा साहित्यकार वीर बहादुर थापा, शिक्षक नारायण भट्टराई, लक्ष्मी खनाल ‘अभि’ ले परिचर्चा गर्नु भयो । गुलरिया स्थित बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा भारतीय सांकृतिक सहयोग एवम् मैत्री संघ उत्तर प्रदेशका अध्यक्ष शारिक रब्बानीलाई विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा समितिको तर्फबाट गरिएको सम्मानको सम्मान–पत्र हस्तान्तरण गरिएको थियो ।
विश्व नेपाली साहित्य महासंघ बर्दियाका अध्यक्ष प्रभात सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ केन्द्रीय सचिव तथा नेपाल शाखा अध्यक्ष कथाकार कल्पना पौडेल ‘जिज्ञासु’, हाम्रो पूर्णीमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष कथाकार सुमित्रा न्यौपाने, भेरी साहित्य समाज केन्द्रीय उपाध्यक्ष चरित्रा शाह, विश्व नेपाली साहित्य महासंघका नेपाल शाखा सल्लाहकार ऋषिराम सापकोटा, बर्दिया उपाध्यक्ष डिल्लीराज अर्याल, सचिव सोमनाथ लुईंटेल, सदस्य अभिनन्दन सुवेदी, कवयत्री एवम् पञ्चाङ्ग उपाध्यक्ष चन्द्रावती अधिकारी, लक्ष्मी वश्याल, भीम बहादुर शाही, हरिप्रसाद त्रिपाठी लगायत दुई दर्जन बढी साहित्यिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण लक्ष्मी खनाल ’अभि’ ले गर्नुभएको थियो ।
Facebook Comments