• २३ मंसिर २०८०, शनिवार
  • १० °C काठमाडौं
बरुण घिमिरेको मृत्यु प्रकरण : ८ जना पक्राउ, ३ फरार

मुरली गोडिया, गुलरिया (बर्दिया) । गुलरिया नगरपालिका वडा नम्बर ६ का २० वर्षिय बरुण घिमिरेको मृत्यु प्रकरणमा बर्दिया प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । कार्तिक २७ गते लक्ष्मी पुजाको राती शुलभ थापा लगायतको समुहले चक्कु सहितको हातहतियार प्रयोग गरि कुटपिटसँगै मरणासन्न हुने गरी घाइते बनाए पश्चात उपचारका लागी नेपालगंज लग्ने क्रममा घिमिरेको मृत्यु भएको थियो । 


प्रहरीले घटनाको आरोपमा गुलरिया नगरपालिका–६ का २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, वडा नम्बर ५ का १९ वर्षीय दिपेश बुढामगर, वडा नम्बर ८ का १९ वर्षीय सन्दिप थारु र दिनानाथ चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनामा सहयोगी भूमिका खेलेको आरोपमा गुलरिया नगरपालिका–६ का १८ वर्षीय रक्षक भनिने रोशन शाह, वडा नम्बर ४ का निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ विदुरपुरका २३ वर्षीय तर्क भण्डारीलाई नियन्त्रणमा लिएको हो । घटना रोक्ने क्रममा गुलरिया नगरपालिका–६ का २१ वर्षीय मोहित पुन र राजापुर नगरपालिका–६ मनाउका २० वर्षीय रञ्जन कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनु भयो । 


घटनास्थलबाट घटनामा प्रयोग गरिएको चक्कु, नोख, चिर्पट दाउरा, हेलमेट फेला परेकोले घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लक्ष्मीपूजाको राति बर्दियाको गुलरिया नगरपालिका–५ स्थित सन्तोषी–सुहेलवा सडकखण्डमा झडपका क्रममा गुलरिया नगरपालिका–६ का २० वर्षीय बरुण घिमिरेको हत्याको आरोपमा ८ जना पक्राउ परेका हुन् । घटनामा संलग्न ३ जना अझै फरार रहेका छन । फरार हुनेमा गुलरिया ६ का १९ वर्षिय सुरेश भन्ने सुयस थापा, गुनपा ५ का २० वर्षिय आलोक आश्रित र गुनपा ४ का १९ वर्षिय सुमन सुनार रहेको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार

Facebook Comments